News Summary
Generated by OK AI. Editorially reviewed.- सबै आन्दोलनहरू स्वत:स्फूर्त हुन् त ? कि कसैले गराएका हुन् ? जिम्मेवारी कसले लिन्छ ? अध्ययनले देखाउँछ कि अक्सर व्यक्तिले आन्दोलन, तोडफोड तथा आगजनीको जिम्मा लिंदैनन् ।
- राजा महेन्द्रले चीन, भारत, बेलायत जस्ता देशलाई एकसाथ सन्तुलनमा राखेर नेपालका राजमार्गहरू बनाउन खेलेको जति कूटनीति पनि नजान्ने नेतृत्वले गर्दा जेड पुस्ताले आन्दोलन गरेको हो ?
- अहिले सीसी क्यामेराले ध्वंसकारीलाई चिनाउँछ । ती ध्वंसकर्तामा कुन पुस्ताका व्यक्ति थिए ? तिनीहरू किन त्यसरी ध्वंसात्मक कार्यमा अग्रसर भए ? जस्ता प्रश्नको उत्तर खोज्नुपर्छ ।
पुर्खाले के भत्काए ? धार्मिक पुर्खाले मूर्तमा ध्यान गर्दा अमूर्त चिने । त्यहाँ मूर्त भत्कियो । ध्वंस भयो । उनीहरू ज्ञानी भए । हिन्दूको शब्दमा अनित्य भत्कियो । नित्य जाग्रत भयो । माया भत्कियो । ब्रह्म तत्व चिनियो । ऋग्वेद तथा तान्त्रिकले मानस पूजा गरे । त्यसो गर्दा तिनले पनि मूर्त भत्काए । अमूर्त पुजे ।
नले अमूर्त भनेको प्रकाशको पुञ्ज थियो । पुर्खाको शब्दमा ब्रह्म (कस्मिक इनर्जी/मेटा इनर्जी) । परमात्मा । मूर्त भनेको पदार्थ (म्याटर) थियो । दुवैलाई जोड्ने मन (मेटाफिजिक) थियो । बुद्ध धर्मले दृश्य भत्काउन शून्यबोध गरायो । यसरी हाम्रा धार्मिक पुर्खाले भत्काउनुलाई संस्कार बनाए । संस्कृति बनाए । यस्तो भत्काइमा आवेग थिएन । नैतिकता थियो । आध्यात्मिकता थियो । त्यसबाट पवित्रता आर्जन हुन्थ्यो ।
मोहम्मद गजनी जस्ता भारतका शासकले मूर्त भत्काउने नाममा मन्दिरै भत्काए । मूर्ति भत्काए । माओले चीनमा पनि भौतिक मूर्ति नै भत्काए । बचे–खुचेका मूर्तिलाई संग्रहालयमा राखे । जैन धर्मावलम्बीले मूर्त ननाश्ने चिन्तन ल्याए । सजीव भए पनि । निर्जीव भए पनि । मन्दिर भए पनि । त्यस क्रममा उनीहरूले निष्क्रिय भत्काइ (प्यासिभ भेन्डालिजम) लाई स्थापित गरे । एकेश्वर तथा भक्तिमा विश्वास गर्ने शिखहरूले बहुदेवको चिन्तन भत्काए । पागनका बहुदेवलाई इस्लाम तथा इसाइले भत्काए जस्तो । ताओले कृत्रिमता भत्काए । कन्फ्युसियसले जापानीहरूले गराएको ध्वस्तलाई निर्माण गरे । त्यही उनको भत्काइ थियो । यसरी हेर्दा मुस्लिम तथा साम्यवादी चिन्तक एवं शासकहरूले भौतिक वस्तु नै भत्काए । धार्मिक पुर्खाले चाहिं दिमागी कुरा मात्र भत्काएका थिए ।
सैद्धान्तिक आँखामा भौतिक सम्पत्ति ध्वंस गर्नेहरू को हुन् ?
ध्वंसकर्ता दिमागी बेमार हुन् । जेम्स क्यू विल्सन तथा जर्ज एल केलिङ्गको फुटेको झ्याल (ब्रोकन विन्डो थ्यौरी) नामक सिद्धान्तले यो कुरा चिनाउँछ । यो सिद्धान्तले भन्छ– ध्वंसकर्ताहरू आपराधिक मानसिकताका हुन्छन् । यस्ता व्यक्तिहरू ध्वंसमै रमाउँछन् । भत्केकोमा । नाशिएकोमा । आगो लागेकोमा । काटिएकोमा । झगडा गरेकोमा । अर्कालाई दु:ख दिएकोमा । यस्ता प्रवृत्तिका व्यक्तिहरू सिर्फ वातावरण खोज्छन् । अमेरिकाको ट्वीन टावर भत्काउनेहरू यही कोटिका हुन् ।
रोवर्ट मेर्टाेनको ध्वंस सिद्धान्त (स्ट्रेइन थ्यौरी) अनुसार ध्वंसकर्ताहरू निराशहरूको समूह हो । आ–आफ्ना निराशा शान्त गर्र्न यो समूहले तोडफोड गर्छ । आगजनी गर्छ । सामाजिक नियमको उल्लंघन गर्छ । अल्वर्ट वाण्डुराको सामाजिक सिकाइ सिद्धान्त (सोसियल लर्निङ थ्यौरी) ले भन्छ ध्वंसकर्ताहरू अरूको देखासिकी गर्छन्् । नक्कल गर्छन् । नेपाली उखान अनुसार आगोमा घिउ थप्छन् । अल्वर्ट कोहेनको भनाइमा युवाहरू स–साना समूह बन्छन् । पङ्क समूह जस्तो । यो समूहले पहिचानका लागि ध्वंस मच्चाउँछ । तोडफोड गर्छ । उनको मिल्दो समूह सिद्धान्त (सव–कल्चरल थ्यौरी) अनुसार यस्ता युवाले चुनौती गरेको देखाउन तोडफोड गर्छन् । पहिचान देखाउन तोडफोड गर्छन् ।
कोहन तथा फेल्सनले नियमित क्रियाकलापको सिद्धान्त (रुटिन एक्टिभिटी थ्यौरी) बनाए । उनको सिद्धान्त अनुसार ध्वंसकारीले तीन कुरा खोज्छन् । पहिलो ध्वंस गर्न तम्सिएको जमात । दोस्रो, ध्वंस गर्न उपयुक्त स्थान । तेस्रो, दुर्बल संरक्षक भएको अवस्था । यस्ता अपराधीहरूले मान्छे नभएको स्थान खोज्छन् । कमजोर सुरक्षा व्यवस्था भएको स्थान खोज्छन् । अनि, तोडफोड गर्न थाल्छन् । हावार्ड बेकरको लेवलिङ्ग सिद्धान्त (लेवलिङ्ग थ्यौरी) अनुसार आफू हेपिएकोे अनुभूति बोकेकाहरूले ध्वंसको बाटो लिन्छन् । यिनीहरू अघि सर्दैनन् । तर, अरूले थालेको ध्वंसलाई सघाउन जान्छन् ।
त्रविस हिर्सचीले नियन्त्रणको सिद्धान्त बनाए । अभिभावक नभएका, परिवार तथा स्कूल कलेजले नियन्त्रण नगरेका, खेलकुद जस्ता सकारात्मक काममा नलागेका, र काम नभएर बरालिएकाहरू नै तोडफोडमा उत्रन्छन् । एडविन साउदरल्यान्डको भिन्न संगठनात्मक सिद्धान्त (डिफरेन्सियल असोसिएसन थ्यौरी) अनुसार नियम भंग गर्ने जमातको अन्तरक्रियाबाट ध्वंस गर्नेहरू प्रोत्साहित हुन्छन् । कालान्तरमा तिनै ध्वंसकर्ता बन्छन् ।
माथिका सैद्धान्तिक आधारबाट हेर्दा मनोवैज्ञानिक, सामाजिक तथा वातावरणीय कुराको संयोगले ध्वंस वा तोडफोड निम्त्याउँछ । संवेगी सोचले आगोमा घिउको काम गर्छ । युवाको जोखिम मोल्ने तागतले चरुको काम गर्छ । साथीको दबाबले थप ऊर्जा दिन्छ । निराशा र रिस फेर्ने रहरले समिधा थप्छ । बेरोजगारीले हावा फुक्छ । पहिचानको खोजीले थप उत्तेजित बनाउँछ । विद्रोही सोचले अगाडि बढाउँछ । चर्काउनेहरूको बोली तथा लेखाइले त्यस्ता ध्वंसमा मलजल गर्छ । सामाजिक असमानताले त्यही सोच भूसको आगो बन्छ । कालान्तरमा त्यही आगो दन्दनिन पुग्छ ।
आन्दोलनको जिम्मेवारी कसले लिने गर्छ ?
लिखित दस्तावेजले जयतु संस्कृतम्लाई पहिलो आन्दोलन मानेका छन् । तर, ध्वंसात्मक आन्दोलन २००७ सालको क्रान्तिले शुरु गरेको देखिन्छ । पञ्चायतकालमा पनि आन्दोलनहरू भए । झापा आन्दोलन ध्वंसात्मक रह्यो । माओवादीको सशस्त्र आन्दोलन ध्वंसको अर्काे कडी हो । मधेश आन्दोलन पनि ध्वंसात्मक हो । टीकापुर घटना त्यही कडीको शृंखला हो । राजावादीकोे आन्दोलन पनि सोही अभ्यासको निरन्तरता हो । अहिलेको जेड पुस्ताको आन्दोलन पनि तोडफोड, आगजनी र मानव हत्याकै रूपमा देखिन पुग्यो ।
यी सबै आन्दोलनहरू स्वत:स्फूर्त हुन त ? कि कसैले गराएका हुन् ? जिम्मेवारी कसले लिन्छ ? अध्ययनले देखाउँछ कि अक्सर व्यक्तिले आन्दोलन, तोडफोड तथा आगजनीको जिम्मा लिंदैनन् । भीडमा कसले के गरेको छ भनी नजानिने हुनाले यो अवस्था आएको हो । आयोजकले आन्दोलन, तोडफोड तथा आगजनीको जिम्मा लिने चलन त छ तर; नैतिक जिम्मेवारी मात्र स्वीकार्छन् । सजाय नलाग्ने रूपमा ।
त्यसैले सरकारले नै आन्दोलन, तोडफोड तथा आगजनीपछि जिम्मा लिएर ध्वंसको मर्मत गरेका थुप्रै घटना छन् । स्वदेशमा । विदेशमा । यसबाट थाहा हुन्छ कि व्यक्तिगत सम्पत्ति नाश्नेले पनि ध्वंसको जिम्मा लिएको देखिंदैन । कि त व्यक्ति वा संस्था स्वयंले जिम्मा लिन्छ । कि त बीमा कम्पनीले जिम्मा लिन्छ । यो शाश्वत नियम चाहिं हैन । सन्दर्भ के छ त्यसमा भर पर्छ । फ्रान्स, भारत तथा दक्षिण अफ्रिका यसका उदाहरण हुन् । यसको अर्थ हो ध्वंस गर्नेहरूलाई सजायको भागी बनाउने चलन देखिंदैन । शायद ध्वंसकर्ता को हो भनी थाहा नलागेकोले त्यो सोच बनेको हुनसक्छ ।
कस्ता आन्दोलनकारीको के चिन्तन हुन्छ ?
अध्ययनले देखाउँछ कि राजनीतिक आन्दोलनकर्ताले नीति, नियम तथा कानून बदल्न आन्दोलन गर्छन् । आफ्ना दर्शन तथा सिद्धान्त लागू गर्नका लागि आन्दोलन गर्छन् । सुधारवादी आन्दोलनकारीले भए/गरेका काममा फेरबदल गर्न आन्दोलन गर्छन् । क्रान्तिकारी आन्दोलनकारीले रूपान्तरणका लागि आन्दोलन गर्छन् । सशस्त्र संघर्ष पनि गर्छन् । राष्ट्रवादी आन्दोलनकारीले निश्चित जातजातिको स्वायत्तताको लागि आन्दोलन गर्छन् । पपुलिष्ट आन्दोलनकारीले आ–आफ्ना एजेन्डाको जानकारी दिन आन्दोलन गर्छन् ।
सामाजिक आन्दोलनकारीले सांस्कृतिक, सामाजिक तथा आर्थिक क्षेत्रमा परिवर्तन गर्नका लागि आन्दोलन गर्छन् । प्रचलित मूल्य–मान्यतामा फेरबदल गर्ने उद्देश्य राख्छन् । नागरिक आन्दोलनकारीले सीमान्त समूहको समान अधिकारका लागि वकालत गर्छन् । वातावरणीय आन्दोलनकारीले भूसंरक्षण, जलवायु परिवर्तन जस्ता विषय उठाउँछन् । महिलावादी आन्दोलनकारीले लैंगिक समताका लागि पैरवी गर्छन् । महिला हिंसा विरुद्धको कुरा उठाउँछन् । पितृसत्तात्मकताको विरोधमा कार्यहरू गर्छन् । श्रमिक आन्दोलनकारीले समान ज्याला, राम्रो काम गर्ने अवसरका कुरा उठाउँछन् । संगठित हुने अधिकार खोज्छन् । धार्मिक आन्दोलनकारीहरू नैतिक तथा आध्यात्मिक सोच विकास गर्न क्रियाशील हुन्छन् । तेस्रो लिंगीको आन्दोलनकारीहरू पहिचान तथा अधिकारको लागि आन्दोलन गर्छन् । शान्ति आन्दोलनकारीहरूले सिपाहीकरण, मानवअधिकार जस्ता कुरामा ध्यान केन्द्रीकृत गर्छन् ।
यसरी हेर्दा नेपालका आन्दोलनहरू रणनैतिक हुन् त ? महात्मा गान्धीको नमक छोडो आन्दोलन जस्ता ? कृष्णप्रसाद भट्टराईको भद्र अवज्ञा आन्दोलन जस्ता ? के नेतृत्वका विस्तारका लागि गरिएको आन्दोलन हुन् त ? के सैद्धान्तिक आन्दोलन हुन् त ? सिद्धान्तकै आन्दोलन हुन् त ? नेपालका आन्दोलनहरूले यसरी किटेरै उत्तर दिएको देखिंंदैन ।
नेपाली जेड पुस्ताको आन्दोलनको असर र प्रश्न
नेपाली जेड पुस्ता (अमेरिकी शब्दावलीमा जेन–जी) ले भ्रष्टाचारका अन्त्यलाई पहिलो मुद्दा बनायो । नातावादको अन्त्य दोस्रो मुद्दा थियो । विस्तारित मुद्दामा बेरोजगारीको अन्त्य थियो । २०७२ को संविधानमा उल्लिखित भएको प्रदेश राख्ने प्रावधानको खारेजी थियो । प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन थियो । आन्दोलन शान्तिपूर्ण स्वरूपको हुन्छ भनेको थियो । सतही कारण चाहिं सामाजिक सञ्जाल बन्द भएकोले गरिएको विरोध हो भन्ने जनबुझाइ थियो । परिणामत: बहुमतको निर्वाचित सरकार ढल्यो । शीर्षस्थ नेताहरूलाई सैनिकले बचायो । छाती तथा टाउकोमा मात्र गोली हान्न अभ्यस्त गराइएका स्पाइकर तथा कमाण्डोको गोलीले ३३ जना होनाहार युवाहरू मारिए । यो दु:खद् घटनाबाट कति परिवारको सहारा गयो । काख गयो । त्यसको आक्रोश भोलिपल्ट देखियो । सरकारका तीनै अंगका भवन नासिए । कागजात बले । निजी भवन जलाइए । उद्यमी तथा व्यापारीका संरचनाहरू ध्वस्त गरिए । राजनीतिक दलका शीर्षस्थ नेता कुटिए । लखेटिए । तिनका कार्यालयहरू ध्वस्त भए । प्रहरी मारिए । हालसम्म ७४ जना मारिएको तथ्यांक छ । यस मानेमा देशले अकल्पनीय विध्वंस भोग्यो ।
भदौ २३ गतेको जेड पुस्ताको आन्दोलन शान्तिपूर्ण थियो । त्यो दिन सरकार ढलेन । २४ गतेको आन्दोलन हिंस्रक भयो । जेड पुस्ताले भन्यो आन्दोलनको अपहरण भयो । घुसपैठ भयो । अपराधीकरण भयो । यसको अर्थ हो– आगो लगाउनेहरू जेड पुस्ताका होइनन् । एक्स र वाई पुस्ताका हुन् । अब प्रश्न आउँछ– सरकार ढाल्ने काम कसले गरेको हो ? नेता कुट्ने काम कसले गरेको हो ? आगो लगाउने काम कसले गरेकोे हो ? शान्तिपूर्ण आन्दोलन गर्ने जेड पुस्ताले ? अघिल्लो दिनको युवा मारिएको आक्रोश बोकेको जेड पुस्ता, तिनका अभिभावक तथा तिनका शुभेच्छुकले ? जेड पुस्ता तथा राजनीतिक नेताका शब्दमा घुसपैठ गर्नेहरूले ? धमिलो पानीमा माछा मार्नेले ? त्यसो भए सरकार ढालेको जेड पुस्ताले कि जेड पुस्ताको अपहरण गर्नेले ? घुसपैठवालाले कि ? धमिलो पानीमा माछा मार्नेले ?
जेहोस्, दुईतिहाइको सरकार ढल्यो । सरकार ढल्नासाथ राष्ट्रपतिले संसद्लाई किन नयाँ प्रधानमन्त्रीका लागि आह्वान गरेनन् ? किन जेड पुस्ताकै सांसदलाई प्रधानमन्त्रीको रूपमा नाम सिफारिस गर भनेनन् ? सुविधा लिने कुरामा सधैं एकमत हुने सांसदहरूले किन एकमुखले एउटा प्रधानमन्त्रीको नाम सिफारिस गरेनन् ? किन आठ दलका नेताले सही गरेर हामी सुशीला कार्कीको नेतृत्वको सरकार मान्दैनौं भन्ने कुरा सार्वजनिक गरे ? किन संसद् ब्युँताउन सर्वाेच्च अदालतमा मुद्दा समेत हाले ?
समस्यामा विदेशी हात देख्नेहरू पनि थुप्रै भेटिए । उनीहरूका प्रश्न रहे– किन भारतका प्रधानमन्त्री मोदीले सुशीला कार्कीलाई तुरुन्तै बधाई दिए ? प्रशंसा गरे ? फोनवार्ता गरे ? किन भारतमा निर्वासित जीवन बिताइरहेका दलाइ लामाले बधाई दिए ? किन अमेरिकाले तुरुन्तै फागुन २१ मा हुने भनिएको निर्वाचनमा सघाउँछु भन्यो ? किन चीन सतर्क भयो ? के हामीले एमसीसी र बीआरआईको सम्झौतालाई एकमुखले बोल्न नसकेर हो ? राजा महेन्द्रले चीन, भारत, बेलायत जस्ता देशलाई एकसाथ सन्तुलनमा राखेर नेपालका राजमार्गहरू बनाउन खेलेको जति कूटनीति पनि नजान्ने नेतृत्वले गर्दा जेड पुस्ताले आन्दोलन गरेको हो ?
कन्स्पिरेसी सिद्धान्त अनुसार कालापानी, लिपुलेक तथा लिम्पियाधुराको चुच्चे नक्शाले भारत रिसायो । त्यसैले जेड पुस्ताको आन्दोलनमा भारतले सघायो । फेसबुक, ट्वीटर आदिमा अमेरिकी व्यक्ति तथा कम्पनीको लगानी थियो । ती डिजिटल प्लेटफर्महरू बन्द गरिएकोले अमेरिकाले सघायो । बीआरआई स्वीकारेकोले अमेरिका रिसायो । यस मामिलामा भारत तथा अमेरिका एउटै कित्तामा उभिएर जेड पुस्तालाई सघाए । यो तर्क मान्ने हो भने हामीले बुझ्नुपर्छ कि कालापानी, लिपुलेक तथा लिम्पियाधुरा क्षेत्रमा भारतले मोहियानी हक खोजेको हो । उसलाई थाहा छ जग्गा नेपालीको हो ।
सन् १९५२ को २७ फेबु्रअरीमा नेपालकै अनुरोधमा १८ वटा चेकपोष्टमा भारतीय सिपाही क्याम्प राखिएको हो । तात्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टको पहल तथा राष्ट्राध्यक्ष श्री ५ महेन्द्र वीरविक्रम शाहदेवको निर्देशनमा भएको नेपालकै अनुरोधले सन् १९६९ अप्रिल २० मा १७ वटा भारतीय चेकपोष्टका सिपाही क्याम्प हटाइएका हुन् । त्यतिबेला भारत–चीन सीमा युद्ध लडिरहेका थिए । भारत हारको स्थितिमा थियो । त्यसैले नेपालले मानवीयताको कारणले कालापानी, लिपुलेक तथा लिम्पियाधुरामा भारतीय चेकपोष्ट नहटाएको हो । पछि नेपालले सो जमीन खोजेन । भारतले चाहिं मोहियानी हक जमायो । अहिले उसले खोजेको मोहियानी हक मात्रै हो । त्यसैले उसँग कागजपत्र छैन । अनि त देखाउँदैन । नेपालले कागज देखाउँछ । भारत अर्कै कुरा भन्छ । यसो हुनाको कारण हो– कालापानी, लिपुलेक तथा लिम्पियाधुरा चीन र भारतको व्यापारिक नाका हो ।
चीनका राष्ट्रपति सी जिनपिङले पूर्वप्रधानमन्त्री केपी ओलीलाई दिएको जवाफ त्यसको प्रमाण हो । उनले भने जमिन कसको हो– नेपाल र भारत मिलेर सुल्झाऊ । सन् १९५४ देखि नै कालापानी, लिपुलेक तथा लिम्पियाधुरा भएर चीनले भारतसँग व्यापार चाहिं गरिरहेको छ ।
यस बाहेक सामरिक रूपमा कालापानी, लिपुलेक तथा लिम्पियाधुरा चीन र भारतको चिकन नेक हो । यो स्थितिमा भारत तथा बंगलादेश बीचको सीमालाई स्थायी बनाउन उनीहरूले गरेको जमीनको लेनदेन विधिबारे हामी नेपालीले कुरा गर्न मिल्दैन र ? श्री ३ जंगबहादुर राणाले नयाँ मुलुक भनिने बाँके, बर्दिया, कैलाली र कञ्चनपुर महाकाली पारिका जमिन दिएरै लिएका हुन् भन्ने कुरा सम्झन मिल्दैन र ? सोही कुरा चीनको हकमा पनि लागू गर्न मिल्दैन र ? त्यो इतिहासबारे हामी किन मौन छौं ? हामीले ग्रेटर नेपालको कुरा गर्दा भारत किन रिसाउँदैन ? किनकि उसलाई थाहा छ यो सुगौली सन्धि अघिको कुरा हो । सुगौली सन्धि करकापमा गराइएको सन्धि हो भन्ने सोचमा आधारित कुरा हो । भारत त सुगौली सन्धिमा टेकेर बसेको छ । मोहन मैनालीको मुकाम रणमैदान भन्ने किताबले यस्ता तथ्य उजागर गर्र्दैन र ?
जेड पुस्ताका आन्दोलनकारीहरू पनि कोही राजाका पक्षधर छन् । कोही विपक्षमा छन् । भर्खरै भंग भएको संसद्मा पनि त्यही अवस्था छ । सडकमा पनि यही स्थिति छ । राजनीतिक दलमा पनि राजा पक्षधर तथा विपक्षका मानिसहरू छन् । यस्तो बेलामा २०६२/६३ मा तात्कालीन राजा श्री ५ ज्ञानेन्द्र र राजनीतिक दलबीच पाँचबुँदे सम्झौता भएको थियो भन्ने भाष्य जीवित छ । पूर्वमन्त्री दीपक ज्ञवाली तथा स्वागत नेपालहरूले त्यो कुरा भनिरहनुभएको छ । यो बेलामा देशमा २०४७ सालको संविधान थियो । त्यसमा संवैधानिक राजाको प्रावधान पनि छ । त्यसैमा टेकेर राजा ज्ञानेन्द्रले ५ बुँदे सम्झौता गरेका हुन् भने किन उहाँ बोल्नुहुन्न ? किन सही गर्ने शीर्षस्थ नेता बोल्नुहुन्न ? मौखिक सहमति गरेको भए पनि । लिखित सम्झौता गरेको भए पनि । सहमति मात्र भए पनि । यसबारेमा हामी नेपालीले सोच्नुपर्ने हैन र ? यदि सम्झौता गरिएको भए राजा ज्ञानेन्द्रलाई स्थान दिनुपर्ने हैन र ? संवैधानिक राजाका रूपमा । सांस्कृतिक राजाको रूपमा ।
ध्वंसात्मक सोचको व्यवस्थापन
मान्छेसँग दुईथरी ऊर्जा हुन्छ । सकारात्मक । नकारात्मक । पहिलो ऊर्जा बोके उपयोगी सर्जक हुन्छ । दोस्रो ऊर्जा बोके ध्वंसकारी हुन्छ । सनातनी पुर्खाका शब्दमा तिनले के चाहिं ध्वंस गर्ने भन्ने कुरै चिनेनन् । काम, क्रोध, लोभ, मोहकै जालमा बसे । ध्वंसकर्ताका लागि आत्मचिन्तन गर्ने विधि सिकाउनुपर्छ । ध्यान । योग । ऐतिहासिक सन्दर्भमा सोचे साम्यवादी तथा मुस्लिम सरकारका दीक्षामा फेरबदल गर्नुपर्छ । अरू दल वा शासकले गरे–गराएका ध्वंसबारे पुनर्विचार गर्नुपर्छ । आफ्ना दलका कार्यकर्तालाई दिने गरेको दीक्षा बदल्नुपर्छ ।
पश्चिमी चिन्तनको आधारमा हेर्दा अर्का कुरा देखिन्छ । जस्तो जर्जले भने झैं ध्वंसकारीहरू फुटेका झ्याल हुन् भने उनीहरूलाई व्यक्तिगत तथा सामूहिक परामर्श दिनुपर्छ । रोवर्टले भने झैं निराशहरूको समूह हो भने डिस्कर्ड जस्ता डिजिटल प्लेटफर्म प्रयोग गरेर नेपालमै गरिखाने सम्भावना छ भन्ने कुरा देखाउनुपर्छ । तिमीले चाहेका भौतिक सुविधा दिन्छौं किस्ताबन्दीमा मोर्टगेज तिर्न तयार बन भन्ने कार्यक्रम लागू गर्नुपर्छ ।
बाण्डूराले भने झैं ती देखासिकी गर्ने समूह हुन् भने नेताहरूले हामीले ध्वंस गर्न सिकाएको कुरा गलत थियो भनी सार्वजनिक अभिव्यक्ति दिनुपर्छ । अब आइन्दा यस्ता ध्वंसात्मक कुकर्म गर्दैनौं भन्नुपर्छ । कोहन तथा फल्सनले भने झैं जनमत जुटाउने डिजिटल एवं ननडिजिटल सञ्जाल भेट्टाएर, स्थान भेट्टाएर तथा दुर्बल संरक्षक भेट्टाएर ध्वंस गर्ने समूह हुन् भने तिनको सञ्जालको निगरानी गर्नुपर्छ । स्थानहरू बलिया बनाउनुपर्छ । संरक्षकहरू सबल बनाउनुपर्छ । हावार्डले भने झैं हेपिएकाहरूको समूह हो भने तिनलाई समावेश गर्ने काम थाल्नुपर्छ । त्रविसले भने झैं सर्वदा नियन्त्रित भएका समूहले बाहिरिन खोजेको हो भने तिनलाई सन्तुलित हुने अभ्यास गराउनुपर्छ । साउदरल्यान्डले भने झैं भत्काउने वा खोटो नियतका व्यक्ति वा समूह हुन् भने तिनलाई निगरानी गर्नुपर्छ ।
हालको परिवेश भने भिन्न छ । अहिले सीसी क्यामेराले ध्वंसकारीलाई चिनाउँछ । ती ध्वंसकर्तामा कुन पुस्ताका व्यक्ति थिए ? तिनीहरू किन त्यसरी ध्वंसात्मक कार्यमा अग्रसर भए ? जस्ता प्रश्नको उत्तर खोज्नुपर्छ । अनि स्वीकार्नुपर्छ कि अनुसन्धाताले तिनको सोच कसरी बनेछ भन्ने कुरा जान्दछ । मनोविद्ले तिनको उपचार जान्दछ । सुरक्षा संयन्त्रले निगरानी गर्ने तरिका जान्दछ । सरकारले यी सबै खालेलाई जुटाउन सक्छ । नभए जुटाउन जान्नु पनि पर्छ । यति काम गर्ने–गराउने हो भने भोलिका दिनमा सार्वजनिक तथा व्यक्तिगत सम्पत्ति ध्वस्त गर्नेहरू नैं सिला खोज्नुपर्ने हुन्छ । आगे निर्णायकहरूकै मर्जी ।
प्रतिक्रिया 4