
८ असोज, काठमाडौं । गत २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा देशभरका पार्टी कार्यालय र नेता कार्यकर्ताका घरमा भएका आगजनी र तोडफोडका घटनाबारे नेकपा एमालेले प्रारम्भिक विवरण संकलन गरेको छ ।
उक्त विवरणबारे एमालेले बुधबार केन्द्रीय कार्यालय बैठक बसेर समीक्षा गरेको छ । एमाले महासचिव शंकर पोखरेलका अनुसार, केन्द्रीय कार्यालयसहित ६४ वटा पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको पाइएको छ ।
त्यस्तै, पार्टीका नेता र कार्यकर्ताका १५८ भन्दा बढी घर तथा व्यवसायमा क्षति पुगेको रिपोर्ट प्राप्त भएको उनले जानकारी गराएका छन् ।
‘अधिकांश कार्यालयको सरसफाइ र मर्मत–सम्भारको काम सुरु भइसकेको छ,’ पोखरेलले भनेका छन्, ‘आन्दोलनका नाममा भएको रहस्यमय आगजनी र तोडफोडबाट भएको क्षतिको सरसफाई र मर्मतको काममा पार्टी कार्यकर्ताहरू स्वयंसेवी भावनाका साथ परिचालित भइरहेका छन् ।’
यी सबै विषयमा समीक्षा भएको बताउँदै महासचिव पोखरेलले पार्टी तथा आन्दोलनको रक्षा गर्न सम्पूर्ण पार्टी पंक्ति पुन: जुर्मुराएर उठ्ने बताएका छन् ।
‘राष्ट्र, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, पार्टी तथा आन्दोलनको रक्षा गर्न सम्पूर्ण पार्टी पंक्ति पुन: जुर्मुराएर उठ्दैछ,’ पोखरेलले भनेका छन् ।
प्रतिक्रिया 4