+
+
Shares

भारतले बाँधको ढोका नखोल्दा रौतहट डुबानमा

बाग्मती, लाल बकैया र झाँझ नदीमा पानीको बहाव उच्च भएपछि रौतहटका आधा दर्जनभन्दा बढी पालिकाका बस्तीहरू प्रभावित भएका छन् ।

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०८२ असोज २० गते १५:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रौतहटमा लाल बकैया, बाग्मती, झाँझ र चादी नदीको बाढीले आधा दर्जनभन्दा बढी पालिकाका बस्तीहरू डुबानमा परेको छ।
  • बाढीले गौर-कलैया सडकखण्ड अवरुद्ध हुँदा गौरसँगको सम्पर्क टुटेको छ र मुख्य सडकहरूमा तीन फिटसम्म पानी जमेको छ।
  • रौतहटमा बाढीले दुई जनाको ज्यान गएको र ५०० भन्दा बढी परिवार विस्थापित भएका छन् भने भारतीय पक्षले बाँधको ढोका नखोलेको छ।

२० असोज, रौतहट। लाल बकैया र बाग्मती नदीको बाढी पसेर रौतहट डुबानमा परेको छ । डुबानका कारण जनजीवन कष्टकर बनेको छ ।

बाग्मती, लाल बकैया र झाँझ नदीमा पानीको बहाव उच्च भएपछि रौतहटका आधा दर्जनभन्दा बढी पालिकाका बस्तीहरू प्रभावित भएका छन् ।

झाँझ, बागमती, लाल बकैया र चादी नदीमा पानीको बहाव अत्यधिक भएर बाढी आउदा रौतहटको गौर, बन्जरहा, गंगा पिप्रा, मत्सरी, परोहा, गुजरा, गढीमाई, बेलबिछवा, पिप्रा रजबाडा, बडहरवा, बन्जरहा, इनर्वा, लक्ष्मिनिया, मर्यादपुर, बसन्तपट्टी र तेजापाकडका बस्तीहरू डुबानमा परेका छन्।

बाढीका कारण गौरबाट बाहिरिने सडकहरू अवरुद्ध भएपछि राजमार्गसँगको सम्पर्क टुटेको छ । बाढीले गौर-कलैया सडकखण्ड पनि अवरुद्ध बनाएको छ ।

सडक सञ्जालमा असर परेपछि गौर भित्रिने वा गौरबाट बाहिर निस्कने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएपी राजु कार्कीले बताए। सदरमुकाम गौरका मुख्य सडकहरूमा ३ फिटसम्म पानी जमेको छ ।

जिल्ला प्रशासन कार्यालय, पूर्वाधार विकास कार्यालय, जिल्ला समन्वय समिति, कृषि विकास बैंक, गौर नगरपालिका लगायतका कार्यालय परिसरमा बाढीको पानी पसेको छ भने सशस्त्र प्रहरीको गौर भन्सारमा रहेको बीओपी, नेपाल प्रहरीको भन्सार सुरक्षा चौकी, सशस्त्र प्रहरीको बेलबिछवामा रहेको बीओपी, नेपाल प्रहरीको चौकी, सशस्त्र प्रहरीको नम्बर ११ गण समेत डुबानमा परेका छन् ।

नेपाल-भारत सीमामा रहेको बाँधको ढोका खोल्न नेपाली पक्षले अनुरोध गरे पनि भारतीय पक्षले ढोका खोलेको छैन ।

बाढीको पानीलाई सहज निकास दिन बाँधको ढोकाहरू खुला गरी दिनका लागि रौतहटका प्रमुख जिल्ला अधिकारी विनोद खडकाले भारतीय समकक्षीलाई अनुरोध गरे पनि भारतीय डीएमले बेवास्ता गरेका छन् ।

नेपाली सुरक्षा प्रमुखहरूले भारतीय पक्षसँग हिजोदेखि नै बाँधको ढोका खोल्न अनुरोध गरेका थिए । तर नेपाली पक्षको अनुरोध बेवास्ता गरेको भारतीय सुरक्षा निकायले बाँधमा सुरक्षा गस्ती बढाएर नेपाल तिरको पानीलाई सुलिस गेटमार्फत सहज निकास दिन तयार छैनन् ।

भारतीय पक्षले बाँधको ढोका थुनेर नेपाली मार्न लागेको भन्दै रौतहटका स्थानीयहरूले सामाजिक सञ्जालमा भारतीय पक्षको चर्को आलोचना गरेका छन् ।

बाढीका कारण रौतहटमा अहिलेसम्म २ जनाको ज्यान भएको छ भने ५०० भन्दा बढी परिवार विस्थापित भएका छन् ।

बाढीको समय भारततर्फबाट नेपालको गौर नाकामा आएर अलपत्र परेका यात्रुहरूलाई गौर नगरपालिकाको ट्याक्टरले उद्धार गरेर सुरक्षित गन्तव्यतर्फ पठाएको गौर नगरपालिकाका मेयर शम्भु साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?