
२३ असोज, पोखरा । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते डोजरमा चढेर जिल्ला प्रहरी कार्यालय कास्की पुग्दा गोली लागेर घाइते भएका लक्ष्मण नेपालीलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
२४ गते साँझ डोजरमा चढेर अरू मानिसहरूलाई पनि बोलाउँदै जिल्ला प्रहरी कार्यालय छिर्न खोज्दा लक्ष्मण नेपाली प्रहरीको गोली लागेर ढलेका थिए ।
गोली लागेर उपचार थालिएको महिनादिनसम्म पनि सुधार नभएपछि बिहीबार काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
गोली लागेर ढलेपछि उनलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्री अस्पताल पुर्याइएको थियो । त्यसको एक महिनापछि पनि उनको स्वास्थ्य अवस्था सुधार नभएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको हो ।
नेपालीको घाँटीभन्दा मुनि गोली लागेको थियो । उनको हात, खुट्टा चल्ने अवस्था थिएन भने उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशन प्राडा प्रेमराज पंगेनीले जानकारी दिए ।
मादी गाउँपालिका घर भइ पोखरा–१३ ठेगाना बताउने नेपाली डोजरमा चढेर कार्यालय प्रवेश गर्न खोजेपछि प्रहरीले गोली चलाएको थियो ।
२४ गते जेनजी आन्दोलनकारीले हेभी इक्युपमेन्ट कार्यालय पोखराबाट डोजर, रोलर र ट्रिपरहरू निकालेर सडकमा चलाउँदै हिँडेका थिए । सोही क्रममा पृथ्वीचोक हुँदै साँझ जिल्ला प्रहरी कार्यालयमा डोजरसहित पुगेका थिए ।
प्रहरी स्रोतका अनुसार कार्यालय छिर्न लागेपछि गोली चलाएर रोक्ने प्रयास गरिएको थियो । सोही क्रममा नेपाली गोली लागेर घाइते भएपछि उग्र भएको भिडले प्रहरीलाई विस्थापित गर्दै कार्यालय आगजनी गरेको थियो ।
‘गोली लागेको हुनाले हातखुट्टा नचल्ने, स्वासप्रस्वासमा समेत समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो,’ अस्पतालका निर्देशन पंगेनीले भने, ‘उनलाई भेन्टिलेटरसहित नै सेनाको हेलिकप्टरमा काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।’
प्रतिक्रिया 4