
२३ असोज, काठमाडौं । जिल्ला प्रहरी परिसर हुँदै न्यायिक जाँचबुझ आयोगमा पुगेको निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी पुन: परिसरमै फर्किएको छ ।
आयोगले आफ्नो कार्यक्षेत्रमा नपरेको भन्दै उक्त जाहेरी परिसरमै फिर्ता पठाइदिएको हो ।
यसअघि परिसरले भने जेनजी आन्दोलनका सम्पूर्ण अनुसन्धान आयोगकै रहेको भन्दै जोहरी पठाइदिएको थियो । जेनजी मृतकका परिवारसहितका युवाहरूले लगेको उक्त जाहेरी अब के हुन्छ ? भन्ने चासो सुरु भएको छ ।
सामाजिक सञ्जालमा अभियाननै चलाएर ओली र लेखकलाई पक्राउ गर्नुपर्ने माग अझै बढिरहेको बेलामा जोहरी नै दर्ता भएको छैन ।
परिसरले उक्त जाहेरी दर्ता नगरी आयोगमा पठाएको थियो ।
आयोगबाट फिर्ता भएपछि अब जिल्ला सरकारी वकिलको कार्यालयसँग समन्वय गरेर जाहेरीबारे थप निर्णय लिने प्रहरीले तयारी अघि बढाएको छ ।
‘जाहेरी फिर्ता भएको छ । अब हामी जिल्ला सरकारी वकिलको कार्यालयसँग समन्वय गर्छौं,’ परिसर स्रोतले भन्यो, ‘अनि त्यसपछि मात्रै दर्ता गर्ने वा के गर्ने भन्ने विषयको निर्क्योल हुन्छ ।’
बिहीबार आयोगले यसबारे एक विज्ञप्ती समेत जारी गरेको छ ।
‘फौजदारी वारदातमा विस्तृत अनुसन्धान तहकिकात गरी कसुरदार देखिने अवस्थामा अभियोजन समेत लगाउने कार्य यस आयोगको कार्यक्षेत्रभित्र परेको छैन’, विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘फौजदारी कसुरमा जो कोहीलाई नेपाल सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न गराउन नेपालको कानूनले अख्तियारी प्रदान गरेको विदितै छ । यस्तो कारबाहीका लागि आयोगको प्रतिवेदन कुर्न नपर्ने भएकाले प्राप्त जाहेरी निवेदन र कागजात जिल्ला प्रहरी परिसर काठमाडौंमा फिर्ता पठाइदिने ।’
जेनजी आन्दोलनको क्रममा सुरक्षाकर्मीको गोली लागेर २१ जनाको मृत्यु भएको थियो भने जम्मा ७६ जनाले ज्यान गुमाएका थिए ।
प्रतिक्रिया 4