
News Summary
Generated by OK AI. Editorially reviewed.- बाढीपहिरोले अवरुद्ध बीपी राजमार्ग शुक्रबारदेखि पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
- काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि नेपालथोकसम्म डाइभर्सन निर्माण कार्य सम्पन्न भइसकेको छ।
- सडक विभागका अनुसार, हालैको बाढीले राजमार्गका १६ स्थानका झन्डै ३.५ किलोमिटर डाइभर्सन बगाएको थियो।
२४ असोज, काठमाडौं । बाढीपहिरोका कारण अवरुद्ध बीपी राजमार्ग आज शुक्रबारदेखि पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने छोटो र महत्वपूर्ण मार्गका रूपमा रहेको बीपी राजमार्ग असोज १७ र १८ गते आएको अविरल वर्षासँगैको बाढीपहिरोले क्षतिग्रस्त बनेको छ ।
विभिन्न स्थानमा डाइभर्सन बनाएर सडक सञ्चालनको तयारी गरिएको हो । अहिले डाइभर्सन बनाउने र सडक मर्मत गर्ने काम अन्तिम चरणमा पुगेको सडक डिभिजन भक्तपुरका प्रमुख इञ्जिनियर सुमन योगेशले जानकारी दिए ।
उनका अनुसार डाइभर्सन निर्माणको काम अन्तिम चरणमा पुगेकाले आज साँझसम्म यातायातका साधन सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
भौतिक पूर्वाधार, शहरी विकास र ऊर्जा मन्त्री कुलमान घिसिङले विहीबार सडक डाइभर्सन निर्माण कार्यको अवलोकन गर्दै शुक्रबार साँझसम्ममा यातायात सञ्चालनको वातावरण बनाउन निर्देशन दिएका थिए । उनको निर्देशनपछि गएराति अबेरसम्म निर्माण व्यवसायीहरुले काम गरिरहेका थिए ।
सडक विभागका अनुसार, हालैको बाढीले राजमार्गका १६ स्थानका झन्डै ३.५ किलोमिटर डाइभर्सन बगाएको थियो । यस्तै, गत वर्षको बाढीमा क्षतिग्रस्त भएपछि निर्माण गरिएको ५.३ किलोमिटर डाइभर्सन पनि पूर्ण रूपमा नष्ट भएको थियो ।
बीपी राजमार्ग विसं २०७२ मा जापान सरकारको २६ अर्ब जापानी येन र नेपाल सरकारको १.१ अर्ब लागतमा निर्माण गरिएको हो । निर्माण कार्य आर्थिक वर्ष २०५३÷५४ मा सुरु भई २०७२ असार १८ गते सम्पन्न भएको थियो ।
प्रतिक्रिया 4