
२४ भदौ, काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट भागेक एक कैदीले ठमेलमा एक युवकको हत्या गरेको खुलेको छ ।
फरार कैदी आकाश मगरले ठमेलमा सुरज तामाङलाई हत्या गरेको खुलेको हो । घटना १३ असोजको हो । मकवानपुर घर भएका तामाङ मनमैजु बस्दै आएका थिए । २५ वर्षीय उनै तामाङलाई फरार कैदी मगरले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ ।
खुकुरी प्रहारबाट घाइते भएका उनलाई उपचारका लागि वीर अस्पताल पठाइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । पूरानो रिसईबीका कारण हत्या भएको हुनसक्ने प्रहरीले बताएको छ ।
लुटपाट तथा डकैतीको कसुरमा कारागार चलान भएका उनी २४ भदौमा जेन–जीको आन्दोलनका क्रममा कारागार तोडफोड गर्दै भागेका थिए । हत्यापछि उनी अझै फरार रहेका छन् । घटनास्थल वरपरेको सीसीटीभी फुटेज र लगायत प्राविधिक, म्यानुअल अनुसन्धानबाट हत्यामा फरार कैदी मगरको संलग्नता देखिएको एक प्रहरी अधिकृतले बताए ।
तर, उनी अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । यसअघि नख्खु कारागारबाटै भागेका काभ्रेका सन्तबहादुर तामाङले आफ्नै श्रीमती मनिषा तामाङको हत्या गरेका थिए ।
कैदीहरू ठूलो संख्यामा फरार रहेकाले अहिले पनि सुरक्षा चुनौती उच्च छ । विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले कारागार व्यवस्थापन विभागलाई पत्राचार गर्दै फरार कैदीहरूको विवरण माग गरेको छ ।
आयोगका प्रवक्ता विज्ञानराज शर्माले फरार कैदीबन्दीहरू र क्षति भएका कारागारहरूको विवरण माग गरिएको बताए ।
२४ भदौको आन्दोलनको क्रममा नख्खु कारागारबाट पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सुरुमा निस्केका थिए । त्यसपछि देशभरका अन्य कारागारहरूबाट पनि धमाधम कैदीबन्दीहरू फरार भएका थिए ।
कारागारमै आगजनी र तोडफोड गर्दै देशभरिबाट १५ हजारको हाराहारीमा कैदीबन्दी फरार भएका विभागको तथ्यांक छ । अहिले पनि करिब साढे पाँच हजार कैदीबन्दीहरू फरार नै रहेका छन् ।
प्रतिक्रिया 4