+
+
Shares
पुस्तक समीक्षा :

प्रतिरूप : भावना र प्रतिरोधको इतिहास

उपन्यासमा महिलाले नेपाली समाजमा भोग्नुपर्ने वास्तविकताको चित्रण छ ।

डा. गणेशप्रसाद भट्टराई डा. गणेशप्रसाद भट्टराई
२०८२ कात्तिक १५ गते १३:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साङ्ग्रिला मिडिया ग्रुपले २०८१ मा खगराज बरालको ‘प्रतिरूप’ उपन्यास बजारमा ल्याएको छ, जसमा नेपाली जीवन र नारी जीवनका यथार्थ चित्रित छन्।
  • उपन्यासको मुख्य पात्र काली बस्नेतको जीवन संघर्ष र नवीनको जागिरे जीवनको कथा पोखरादेखि भैरहवा सम्म विस्तार गरिएको छ।
  • प्रतिरूपले लैङ्गिक भेदभाव, गरिबी, शिक्षा असमानता, पितृसत्तात्मक संरचना र नारी अस्मिताको यथार्थ सामाजिक प्रतिबिम्ब प्रस्तुत गरेको छ।

साङ्ग्रिला मिडिया ग्रुप प्रा. लि. ले २०८१ मा खगराज बरालको ‘प्रतिरूप’ उपन्यास बजारमा ल्याएको छ । २३८ पृष्ठ र ११ भागमा संरचित यस उपन्यासमा औसत नेपालीको जीवन भोगाइको सजीव चित्रण छ । उपन्यासमा पोखरामा अध्ययन गरी जागिरको सिलसिलामा पोखरा छोडेको नवीनको संघर्ष र कालीको जीवनगाथाको वर्णन छ । उपन्यासमा नवीनको माध्यमबाट कालीको जीवन चित्रण गरिएको छ तापनि काली उपन्यासकी मुख्य पात्र हुन् ।

उपन्यासको सुरुवात रुड्की भारतमा पढ्ने निर्मलले लेखानी उदयपुरका नवीन दाहाललाई पठाएको पत्रबाट भएको छ । निर्मलले नवीनलाई पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा डिप्लोमा पढ्दा सहयोग गरेको थियो । नवीनले चन्द्रावती प्राथमिक विद्यालय, लेखानी उदयपुरबाट प्रारम्भिक शिक्षा लिएर जनता कालिका निम्न माध्यमिक विद्यालय, छब्बिसेमा अध्ययन गरे ।

त्रिवेणी माध्यमिक विद्यालय, कटारीबाट एसएलसी उत्तीर्ण गरेपछि नवीन गाईघाटमा नागरिकता बनाई पोखराको पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा ओभरसियर अध्ययन पूरा गरे । त्यसपछि हेडसर र नरेश सरको सहयोगमा सिँचाइ विभाग पुल्चोकबाट करार नियुक्ति लिएर मर्चवार लिफ्ट इरिगेसन प्रोजेक्ट, भैरहवामा जागिरे जीवन सुरु भयो ।

त्यहाँ एक दिन घुम्ने क्रममा उनले लुम्बिनी चोकमा एउटा रिक्सा दुर्घटनामा घाइते भएकी महिलालाई साथी परमानन्दको सहयोगमा अस्पताल पुर्‍याउँछन् । होस आएपछि काली बस्नेतले नवीनलाई ‘प्रबिन’ भनेर बोलाउँछिन्, जसले कथावस्तुलाई थप रहस्यमय बनाउँछ । उनले मानवीय भावना प्रकट गर्दै एक अज्ञात महिलालाई दुर्घटनाबाट बचाउन भीम अस्पताल पुर्‍याउँछन्, जुन निःस्वार्थ सहयोगको एउटा दृष्टान्त हो । यही घटनाबाट नवीन र जयकाली भोजनालय चलाउने कालीको सम्बन्ध गाँसिन्छ ।

दुर्घटनामा परेकी कालीको जीवन कथा नवीन र पाठकका लागि अकल्पनीय हुन्छ, किनकि कालीको जीवनसाथी बन्ने प्रबिन, भित्ताकोरे र ड्राइभर र शंकरले उनको यात्रालाई आधा बाटोमै वा अधुरै छोडेका थिए । उपन्यासमा कालीलाई गहिरोसँग चिन्नु नै नवीनको जीवनको नयाँ मोड देखिएको छ । नवीन कालीका लागि मात्र होइन, पाठकहरूका लागि पनि एउटा प्रेरणादायी पात्र बनेका छन् ।

कालीको मानसिकता एक विधवा महिलाले समाजमा टिक्नका लागि भोग्ने मानसिक तनावको प्रतिबिम्ब हो । उनका निर्णय, संघर्ष र अपेक्षाले समाजमा महिलाहरूको मानसिक अवस्थालाई उजागर गर्छ । नवीनको मानसिकताले परम्परागत मूल्यहरूसँग जुँध्दै परिवर्तन खोज्ने शिक्षित युवा पुस्ताको प्रतिनिधित्व गर्छ ।

नवीन परमानन्दसँग फिल्ड जाँदा गैरकट्टी निमाविका विद्यार्थी मैदान गर्न विद्यालयबाहिर गएको प्रसङ्गले विद्यालयको भौतिक अवस्था र शिक्षाको सामाजिक प्रभाव दयनीय देखाएको छ । मैदानस्थानीय तथा प्रतीकात्मक शब्द मात्र नभई यसले त्यहाँको स्वास्थ्य, पूर्वाधार, शिक्षा तथा सरसफाइको अवस्थालाई राम्ररी चित्रण गरेको छ ।

अर्कोतर्फ बिरालाले बाटो काट्दा हुने अपसकुन्, मोटरसाइकलले हानेर गाई भुइँमा पछारिँदा परमाननन्दले गाईवालालाई गरेको गाली, नौला मानिसले विद्यालयतिर हेर्दा जिशिकाबाटै मानिस आएका हुन् कि भन्ने हेडसरलाई हुने डर पनि यसले चित्रण गरेको छ । गाउँमा सामाजिक कार्य हुँदा विद्यालय बन्द हुने अवस्था, पानीसँगै सक्खर वा चिनी पनि दिने चलन, ताडी खाने चलन, बास बस्ने ठाउँ जमिन्दार वा हेडसरकहाँ बस्नुपर्ने अवस्था, फिल्ड भ्रमण र डेराबाट साइकल चोरिएको वर्णनले उपन्यासको कथालाई वास्तविक, स्थानिक र आञ्चलिक बनाएको छ ।

यस्तै ताडी लागेकै अवस्थामा परमानन्दले गैरकट्टीकी मिस वा कालीकी छोरी अस्मितासँग बिहे गर्नु भनेको र नवीनले खाना खान थालेपछि कालीको अनुहारमा खुसी देखिएको प्रसङ्ग वर्णनले कथावस्तुलाई रोचक बनाइदिएको छ । उपन्यासमा महिलाको प्रेमलाई पुरुषले धोकाका रूपमा हेरेको देखाइएको भए पनि उपन्यासकारले परमानन्द पात्रमार्फत साँचो प्रेम भनेको त अनुभूति हो, अझ भन्नुपर्दा त्याग पनि हो भन्ने देखाएका छन् ।

उपन्यासकारले परमानन्दको नेतृत्वमा पहिलोपटक रेल चढेर काली, अस्मिता र आफू गोरखपुर गएको, विदेशमा चनाखो हुनुपर्ने तथा कुराकानीका क्रममा आफूलाई अस्मिताले नवीन दाइ भनेर सम्बोधन गर्दा आत्मीयता प्रकट भएको कुरालाई पाँचौँ परिच्छेदमा वर्णन गरेका छन् । यहाँसम्ममा सानातिना धेरै कथावस्तुको वर्णन गरिएको भए पनि मूल विषयवस्तु नवीनको जागिरे जीवन, जागिरसम्बद्ध काम र घुमघाममा केन्द्रित छ ।

यसपछि नवीनको बी.ई. मा नाम निस्केको, काठमाडौँबाट भैरहवा आउँदा यात्रामा विविधि दुःख पाएको, जागिरबाट राजीनामा दिएको, बिदाइ भएर हिँड्ने बेलामा काली र अस्मितालाई उपहार दिएको प्रसङ्गसँगै कालीको बिहेलाई पूर्वदीप्ति गरिएको छ ।

कालीको बिहे मेघालयमा काम गर्ने प्रबिनसँग भएको थियो । बिहेपछि नै उसले नयाँ दुलही लिएर दराकबाट पोखराको यात्रा सुरु गर्‍यो । बाटामा काली माया प्रेमका कुरा गर्न खोज्थी, प्रबिन टार्न खोज्थ्यो । मेघालयमा कोइला खानीमा काम गर्ने प्रबिनले बाटामा मेघालय कसरी पुगेको, कसरी पुगिन्छ र के-के काम हुन्छ भन्ने बारेमा बतायो ।

माइती आएर पनि काली र प्रबिनले कोइला खानीको काम, कमाइ, दुःख, खसिया केटी र खसिया जातिको संस्कार, खसिया केटीले नेपाली केटा मन पराउने आदि कुरा भए । ऊ पनि एक खसिया केटीको प्रेममा परेको कुरा चाहिँ उसले कालीसँग बताएन । केही दिन ससुराली बसी प्रबिन कालीलाई माइतीमै छाडेर मेघालयतिर लाग्यो । तीजको दिन रामघाट पोखरामा बसिरहेको बेला दराकका केही मानिस आए, केही कुरा गरे र कालीका ससुरा खसेकाले घर जानुपर्ने बताए । काली घर गइन् तर मेघालयमा प्रबिनको निधन भएर उतै अन्त्येष्टि गरी यहाँ काजकिरिया गरिएको रहेछ । कालीलाई ठूलो चोट पर्‍यो । काम सकेर उनी माइतै फर्किन् ।

केही समयपछि मलेरियाको खोप लाउन आउने भित्ताकोरेले फकाएर कालीलाई पेट बोकाएर भाग्यो । पेटको बच्चा फाल्न अनेक प्रयत्न गरिए तर डाक्टरले फाल्न नमिल्ने भनेपछि एक ड्राइभरसँग टीका लाएर पठाइयो । ड्राइभर बच्चा स्वीकारेर कालीलाई पत्नी मान्न तयार भयो तर पछि ऊ पनि जेल परेपछि कालीलाई सन्तान हुर्काउने चिन्ता र पेट पाल्ने समस्या आइलाग्यो ।

उनले माइतीमा बाससम्म पाइन् । छोरी अस्मिताको जन्तदर्ता, नागरिकता केही भएन । माइतीमा पनि त्यति राम्रो भएन । कालीले सरिता दिदीको सल्लाहमा शंकरसँग बिहे गरिन् । शंकर पनि घरमा राम्रो नभएर क्याम्पमा बसेर काम गर्थे । विहेपछि दुवै क्याम्प छाडेर भैरहवातिर लागे । शंकर भैरहवाको हिमाल राइस मिलमा काम गर्न थाले ।

शंकरसँगका तीनचार गर्भ खेर गए, कालीले शंकरलाई सन्तान दिन सकिनन् । बाबु र दाजुका डरले शंकरले पनि विवाह दर्ता र छोरीको जन्म दर्ता गर्न मानेनन् ।

महिलाको जीवनमा कुनै पुरुषको निर्भरता रहने कुरालाई जीवनको यथार्थ भोगाइका रूपमा प्रस्तुत गर्न उपन्यासकाले महिलाकै माध्यमबाट कस्तो रहेछ छोरीको जुनी, अरूको छोरा आफ्नो हुनी भन्न लगाएका छन् ।

अस्मिताले स्कुलमा खुब हेपाइ सहनु पर्‍यो । अन्त्यमा कक्षा ९ मा एसएलसी फाराम भर्दा बाबुको नामका ठाउँमा रामबहादुर बस्नेत लेखेर भरी जुन उसकै आमाले कक्षा ५ मा भर्ना गरिदिँदा लेखिदिएको काल्पनिक नाम थियो । यसै दिनदेखि अस्मिताले बिहे नगरी आमासँगै बस्ने निर्णय गरी । आमाको अवस्था बोध भएपछि अस्मिताले पनि भो, मलाई केही चाहिँदैन । कुनै आशा पनि छैन जीवनमा, आशा पूरा भएन भने निराश होइन्छ भनेबाट युवतीमा समेत निराशा आएको देखाइएको छ । यस खण्डमा एक महिला समाजको अगाडि कसरी विवश हुन्छिन् र समाजले के-के दोष लगाउँछ भन्ने देखाउन खोजिएको छ ।

नवीन घर फर्केर आमालाई कालीको कथा सुनाउँछन् । कालीको कथा सुनेपछि आमाले प्रबिनको कथा सुनाउँछिन् । आमाको पेटमा प्रबिनको गर्भ रहँदा प्रबिन कोइलाखानीमा दुर्घटनामा परी मरेको र शम्भुले पेटको बच्चा स्वीकारेर आफ्नी आमासँग बिहे गरेको थाहा पाएपछि कालीले रिक्सा दुर्घटनामा प्रबिनको नाम लिएको वास्तविकता खुल्छ । यो सबै सुनेपछि प्रबिन, काली, अस्मिता, बाबु, आफूलाई सम्झेर नवीन असमन्जसमा पर्छ ।

उपन्यासमा महिलाले नेपाली समाजमा भोग्नुपर्ने वास्तविकताको चित्रण छ । एकल महिला र कसैको प्रलोभनमा परी गर्भवती बनेर बच्चा जन्माएका र बच्चाको बाबु पहिचान नभएका आमा र बच्चा दुवैको समाजमा कुन स्थान हुन्छ भनी देखाइएको छ । प्रतिरुपमा महिलाले पुरुषमा आश्रित भएर बाँच्नुपर्ने आफ्नो स्वाभिमान बचाएर बाँच्न निकै ठूलो संघर्ष गर्नुपर्ने कुराको मिहीन विश्लेषण छ ।

कालीका मुखबाट मेरो जीवनमा धेरै लोग्नेमान्छे आए, तर कुनै पनि लोग्ने भएनन् भन्ने निस्कनु, समाजको नजरबाट बच्न लोग्ने नहुँदा पनि सिन्दूर, चुरा, पोते लगाएर हिँड्नु जस्ता बाध्यात्मक यथार्थलाई प्रस्तुत गरिएको छ ।

बाबु नभएकै कारण अस्मिताले नागरिकता नपाउनु, पढाइ रोकिनु र जागिर खान नसक्नु, छोरीको भविष्यका लागि धेरै प्रयत्न गर्दा पनि स्थायी समाधान ननिस्कनु, तीन पटक बिहे गर्दा पनि नागरिकता, विवाह दर्ता र छोरीको जन्मदर्ता समेत गराउन नसक्नु कालीमाथि समाजले गरेका अत्याचार हुन् ।

उपन्यासकारले यसलाई सहज र मर्मस्पर्शी तरिकाले विश्लेषण गरेका छन् । उपन्यासकारले यसमा गौना परम्परा, विधवा विवाह, सौतेनी व्यवहार र अन्धविश्वास जस्ता विविध पक्षको चर्चा गरे पनि त्यसमा महिलाले न्याय पाएको देखिँदैन ।

उपन्यासले नेपाली समाजका लैङ्गिक भेदभाव, गरिबी, परदेशी जीवन, पुनर्विवाह, जातीय विविधता, क्षेत्रीय विभेद, आर्थिक असमानता, शिक्षा र अवसरहरूमा असमान पहुँच जस्ता पक्षलाई समाजका प्रतिरूपका दृष्टिले हेरेका छन् ।

उपन्यासमा नवीनले जन्म दिने बाबु प्रबिनको मृत्यु हुँदा पनि कर्म दिने बाबु शम्भुबाट शिक्षादीक्षा पाएको देखाइको छ । आमाले समेत तिम्रा बाबा त शम्भु नै हुन् तर बाचाहिँ प्रबिन भनी बाबुको कर्तव्य र भूमिका बोध गराएकी छन् । तर अस्मिताको जन्मदिने बाबु चित्ताकोरेले कालीलाई छोडेर डाइभर, शंकर कसैबाट पनि छोरीको नाम नपाएको वर्णन गरेर उपन्यासकारले पुरुषसत्ता समाजमा हाबी रहेको देखाएका छन् ।

उपन्यासमा हेडसर र नरेशसरलाई शिक्षाप्रेमी र सहयोगी पात्रका रूपमा देखाइएको छ भने नवीनको सहकर्मी परमानन्दको माध्यमबाट तराईको भौगोलिक, सामाजिक, सांस्कृतिक र मानवीय र बौद्धिक धरातलको समीक्षा गरिएको छ । नवीनको जीवनमा हेड सर र नरेश सरको मार्गदर्शन महत्तवपूर्ण छ । यसबाट युवा अवस्थामा व्यक्तिमा आउने परिवर्तनलाई दिशानिर्देश गराउन बा, आमा, दाजु, दिदी, शिक्षक वा जो सुकै भए पनि असल बाटामा हिड्न सिकाउने गुरुको आवश्यकता हुन्छ भन्ने देखाइएको छ ।

प्रतिरूप ग्रामीण जनजीवनका सङ्घर्ष, नारी जीवनका यथार्थ, आर्थिक विषमता, शिक्षाको पहुँच, विधवा जीवनका चुनौती, सन्तानका लागि आमाले गर्ने त्याग,समाजका परम्परागत मान्यता र चुनौतीको आख्यान हो।

प्रतिरूप उपन्यासको कथा प्रमुख पात्र नवीन र काली वरिपरि केन्द्रित छ । पोखरामा अध्ययन गरी जागिरका क्रममा भैरहवासम्म पुगेको नवीनको जीवनयात्रा र उसले भेटेकी काली बस्नेतको विषमता उपन्यासको मेरुदण्ड हो । यसमा नेपाली युवाको सामाजिक गतिशीलताको प्रतिनिधि छ । नवीनको करार सेवाबाट भैरहवा पुगेपछि रिक्सा दुर्घटनामा परेकी कालीलाई सहयोग गर्दै सुरु भएको सम्बन्ध कालीको जीवनयात्रा बुझ्न माध्यम बन्छ । यहाँ ‘नायक पात्रमार्फत केन्द्रीय पात्र (काली) को कथानायकत्व उजागर गर्ने आधुनिक कथन प्रविधि प्रयोग देखिन्छ ।

यसमा नारी जीवन र लैङ्गिक असमानताको विमर्श छ । काली उपन्यासकी वास्तविक केन्द्रीय पात्र हुन् । उनको जीवन विघ्न र समाजले थोपेको पीडा दुवैको प्रतिनिधि हो । प्रबिन, भित्ताकोरे, ड्राइभर र शंकर गरी चार पुरुषको आगमन र बिदाइ उनीभित्रको संघर्षको प्रतिरूप हो ।

नारीवादी अध्ययनअनुसार यसमा पितृसत्ताको नियन्त्रण, स्त्री शरीरमाथिको प्रभुत्व र निर्णय अधिकारको अभाव, समाजद्वारा वैधता र पहिचान नदिँदा उत्पन्न मनोसामाजिक द्वन्द्वको प्रस्तुति स्पष्ट देखिन्छ । कालीका मुखबाट निस्केको धेरै लोग्ने आए तर कुनै पनि लोग्ने भएनन् भन्ने वाक्य नारीको परिचय, पहिचान र अस्तित्व सङ्घर्षको गहिरो मनोवैज्ञानिक अभिव्यक्ति हो ।

उपन्यासमा संरचनात्मक कार्यवादको पनि प्रभाव देखिन्छ । यसमा समाजको संरचना, परिवार, विवाह, जन्मदर्ता, शैक्षिक संस्थासुदृढ नभए व्यक्तिको विकास अवरुद्ध हुने देखाइएको छ । काली र अस्मिताको अवस्था सामाजिक बहिष्करण सिद्धान्तमा आधारित छ । बाबुको पहिचान नभएकाले नागरिकता नपाउने, शैक्षिक र रोजगारी अवसर गुमाउने, विधवा वा एकल महिलाप्रति सामाजिक पूर्वाग्रह, अन्धविश्वास, रुढिवाद र जातीय असमानता बोज्र्यूँको सामाजिक पुँजी सिद्धान्तसँग पनि मेल खान्छ ।

नवीनको फिल्ड भिजिटका प्रसङ्ग, विद्यालयको अभावग्रस्त अवस्था, शिक्षकको सामाजिक दबाब, बिरालाले बाटो काट्दा हुने अपशकुन जस्ता अन्धविश्वासले ग्रामीण सामाजिक संरचना, सांस्कृतिक मार्गदर्शिता र विकासमा असमानताको चित्रणले ग्रामीण जीवनको मान्यतागत संसार, संसाधनअभाव र सामाजिकसांस्कृतिक चुनौती प्रस्तुत गरेको छ । यो ह्याभरमसको जीवनविश्व सिद्धान्त सापेक्ष देखिन्छ ।

यसमा पितृप्रधानता र मातृत्वको शक्ति वर्णन छ । उपन्यासमा बाबुको पहिचानभन्दा आमाको अस्तित्व र त्याग महत्त्वपूर्ण देखिन्छ । नवीनले जन्मदिने होइन, कर्म दिने बाबुबाट सिकेको शिक्षाले मातृत्व र पालनपोषण शक्तिको सामाजिक नैतिक मूल्य पुष्टि गर्छ । यता अस्मिताको ‘बाबुको नाम आफ्नै आमाले राखिदिएको, राजनीतिक नागरिक असमानता र लैङ्गिक नागरिकता समस्याको यथार्थ हो ।

समग्रमा प्रतिरूप लैङ्गिक अन्याय र नारी अस्मिता, पितृसत्तात्मक संरचना, मातृत्व र जिम्मेवारी, शैक्षिक र आर्थिक असमानता, ग्रामीण समाजको विकास चुनौती, प्रेम, त्याग र मानवीयताको गहिरो मनोसामाजिक प्रतिबिम्ब हो । यो नेपाली समाजको यथार्थवादी दर्पण हो । कालीको जीवन कथामार्फत नारी अस्तित्व, पहिचान, अधिकार, सामाजिक न्याय, संरचनात्मक असमानता र आधुनिक चेतनाको उदय प्रस्तुत गरिएको यो उपन्यास नारीको जीवन केवल भावनाको इतिहास होइन, प्रतिरोधको इतिहास पनि हो भन्ने भनाइको पुष्टि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?