News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल विद्युत् प्राधिकरणले भारतको खुला बजारमा बिजुली निर्यात गर्दा लागतभन्दा प्रतियुनिट १.९५ रुपैयाँ घाटा बेहोरेको छ।
- प्राधिकरणले निजी ऊर्जा उत्पादकबाट प्रतियुनिट न्यूनतम ४.८० रुपैयाँमा बिजुली किन्ने गरेको छ।
- भारतमा निर्यात गर्दा प्रतियुनिट ६.४२ रुपैयाँ लागत लाग्ने र दैनिक ५ करोड रुपैयाँ घाटा भइरहेको प्राधिकरणले जनाएको छ।
१६ कात्तिक, काठमाडौं । मुलुकका विभिन्न आयोजनाले उत्पादन गरेको बिजुली खरिद–बिक्री नै गर्न नसकेर दैनिक करिब ५ करोड रुपैयाँ नोक्सान बेहोरिरहेको नेपाल विद्युत् प्राधिकरणले भारत निर्यातबाट थप ठूलो घाटा बेहोरिरहेको तथ्या फेला परेको छ ।
विद्युत् प्राधिकरणले सबैभन्दा धेरै बिजुली भारतको खुला बजार (आईईएक्स) मा ‘डे अहेड’ व्यवस्थामा बेच्दै आएको छ । अहिले डे अहेड बजारमा बिजुली भाउ प्रतियुनिट ४८ पैसासम्म झरेको छ ।
भारतको आईईएक्स बजारमा विद्युत् माग र आपूर्तिका आधारमा भाउ तय हुन्छ । विद्युत् अभाव भएका बेला भाउ बढ्छ भने आपूर्ति धेरै भएका बेला घट्छ । यद्यपि, प्रतियुनिट १० भारुभन्दा धेरै भाउ बढाउन नपाइने नियम छ ।
इन्डियन इनर्जी एक्स्चेन्जको आइतबारको मूल्य अनुसार यो बजारमा प्रतिमेगावाट आवर २९९.७७ भारतीय रुपैयाँ (भारु) सम्म झरेको छ । यो भनेको प्रतियुनिट ३० पैसा अर्थात् नेपाली ४८ पैसा बराबर हो ।

तर, आज यो बजारको औसत दर प्रतिमेगावाट आवर २७७५.८६ भारु छ । यस अनुसार प्रतियुनिट २.७७ भारुमा त्यहाँ प्राधिकरणले विद्युत् निर्यात गरिरहेको छ । यो भनेको ४.४७ नेपाली रुपैयाँ हुन आउँछ ।
तर, प्राधिकरणले निजी ऊर्जा उत्पादकसँग किन्ने विद्युत्को न्यूनतम दर नै प्रतियुनिट ४.८० रुपैयाँ छ । त्यसमाथि वर्षैपिच्छे ३ प्रतिशतका दरले त्यो दर बढ्दै जान्छ ।
प्राधिकरणले आफ्नो प्रणालीमा जोडिएको विद्युत्मध्ये १३ प्रतिशत चुहावट (लिकेज) हुने जनाएको छ । त्यसो हुँदा नोक्सानी बापत प्राधिकरणलाई प्रतियुनिट ६२ पैसा लागत थपिन्छ । नेपाल–भारत क्रसबोर्डर प्रसारण लाइन प्रयोग गरेबापत प्रतियुनिट १ रुपैयाँ लागत पर्ने प्राधिकरण स्रोत बताउँछ ।
न्यूनतम विद्युत् खरिद लागत प्रतियुनिट ४.८० रुपैयाँ, प्राविधिक नोक्सानी बापत ०.६२ रुपैयाँ र ह्विलिङ चार्ज १ रुपैयाँ जोडेर भारतमा बेच्दा प्राधिकरणको लागत नै ६.४२ रुपैयाँ पर्न आउँछ । आइतबार निर्यात मूल्य र लागत मूल्यबीच अन्तर १.९५ रुपैयाँ पर्न आउँछ ।
३१ अक्टोबरमा भारतको आईईएक्स बजारको औसत दर प्रतिमेगावाट आवर २४३३.३२ भारु थियो । त्यस अनुसार प्राधिकरणले त्यस दिन निर्यात गरेको बिजुलीबाट औसत ३.९१ नेपाली रुपैयाँ मात्रै प्राप्त गरेको थियो । लागत मूल्य हिसाब गर्दा त्यो दिन बिजुली निर्यातबाट प्राधिकरणलाई प्रतियुनिट २.५० रुपैयाँ घाटा थियो ।
अक्टोबर महिनाभरिको औसत मूल्य भने प्रतिमेगावाट आवर २८ सय ५९ भारु थियो । त्यस अनुसार प्राधिकरणले प्रतियुनिट ४.५७ रुपैयाँ बिक्री मूल्य पाएको थियो ।
नेपालले भारतमा निर्यात अनुमति पाएको १ हजार १ सय २५ मेगावाटमध्ये करिब ६ सय २ सय मेगावाट दुई पक्षीय सम्झौता अनुसार हरियाणा र बिहारमा निर्यात गर्ने गरेको छ । त्यसबाहेक ५ सय २३ मेगावाट विद्युत् आईईएक्सको खुला बजारमा निर्यात हुन्छ ।
त्यसरी ५२३ मेगावाट विद्युत दैनिक लागत मूल्यभन्दा २ रुपैयाँ सस्तोमा भारतमा बेच्नुपर्दा प्राधिकरणलाई दैनिक २ करोड ५१ लाख रुपैयाँ नोक्सान भइरहेको देखिन्छ ।
देशका ठूला उद्योगबाट प्राधिकरणको बिजुलीमा प्रतियुनिट औसत ९.५० रुपैयाँ तिरिरहेकोमा उनीहरूको बिजुली काटेर प्राधिकरणले साढे ४ रुपैयाँमा बेचिरहेको देखिएको छ ।
देशका ठूला २५ उद्योगको बिजुली काट्दा करिब ३ सय मेगावाट खपत रोकिन पुगेको छ । ती उद्योगमा जोडिएको त्यो विद्युत् चौबिसै घण्टा प्रयोग भएको मान्ने हो हो भने दैनिक ७२ लाख युनिट हुन आउँछ । त्यसबापत प्राधिकरणले करिब दैनिक ६ करोड ८४ लाख आम्दानी गर्ने थियो ।
तर, त्यही विद्युत् भारत निर्यात गरेको मान्ने हो पनि त्यहाँबाट उसले ३ करोड २२ लाख मात्रै आम्दानी गरिरहेको छ । ३ सय मेगावाट विद्युत् उद्योगीलाई नदिएर निर्यात गर्दा मात्रै प्राधिकरणलाई दैनिक करिब साढे ३ करोड रुपैयाँ नोक्सान भइरहेको हो ।
‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवादमा उद्योगको लाइन काट्दा प्राधिकरणले बिजुली उपयोग गर्न नसकी साढे ४ सय मेगावाट खेर गएको छ । त्यसबाट प्राधिकरणलाई दैनिक ५ करोड र निजी ऊर्जा उद्योगीलाई करिब ६ करोड घाटा भइरहेको छ ।
भारतको आईईएक्समा कुन महिना कति रह्यो बिजुलीको औसत बिक्री दर ?
| इन्डियन इनर्जी एक्स्चेञ्जमा कुन महिना कति रह्यो प्रतियुनिट विद्युतको औसत दर | |||
| सन् २०२५ | विद्युत विक्रीदर (प्रतिमेगावाट आवर भारुमा) | प्रतियुनिट (भारु) | प्रतियुनिट (नेरु) |
| जनवरी | 4438.92 | 4.43892 | 7.102272 |
| फेब्रुअरी | 4381.3 | 4.3813 | 7.01008 |
| मार्च | 4466.82 | 4.46682 | 7.146912 |
| अप्रिल | 5203.06 | 5.20306 | 8.324896 |
| मे | 4129.75 | 4.12975 | 6.6076 |
| जुन | 3904.19 | 3.90419 | 6.246704 |
| जुलाई | 4189.14 | 4.18914 | 6.702624 |
| अगस्त | 4001.16 | 4.00116 | 6.401856 |
| सेप्टेम्बर | 3579.59 | 3.57959 | 5.727344 |
| अक्टोबर | 2669.01 | 2.66901 | 4.270416 |
प्रतिक्रिया 4