+
+
Shares

ट्रंकलाइन विवादबारे मुख्यमन्त्रीहरूले उठाए कुरा, प्रधानमन्त्रीले भनिन्- उद्योगीसँग कुरा गर्छु

मुख्यमन्त्रीहरूले ट्रंकलाइन विवादपछि उद्योगहरूको लाइन काटिँदा हजारौं युवाहरू बेरोजगार हुने अवस्था आएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १६ गते २०:५३

१६ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरिन्। २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको तयारी र समन्वयका विषयमा छलफलकेन्द्रित भए पनि मुख्यमन्त्रीहरूले ट्रंकलाइन विवादबारे समेत प्रधानमन्त्री कार्की समक्ष कुरा उठाए।

मुख्यमन्त्रीहरूले ट्रंकलाइन विवादपछि उद्योगहरूको लाइन काटिँदा हजारौं युवाहरू बेरोजगार हुने अवस्था आएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले जानकारी दिए।

मुख्यमन्त्रीहरूले उद्योगको लाइन अविलम्ब जोड्न पनि प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण गराएका थिए।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मधेशका मुख्यमन्त्री साेनलले भने, ‘उद्योहरूको विद्युत् लाइन काटिँदा हजारौं युवाहरू बेरोजगार हुने स्थिति भएको छ। तत्काल समस्या समाधान गर्न प्रधानमन्त्रीसँग हामीले आग्रह गरेका छौं।’

उनले अगाडि भने, ‘यो डेडिकेटेड लाइनको नाममा विभिन्न उद्योगहरूको लाइन काटेर जुन बन्द गरिएको छ। त्यस विषयमा पनि हाम्रो गहिरो चासो रह्यो। उद्योगको विद्युत् लाइन काटिँदा हजारौं युवाहरू बेरोजगार हुने स्थिति छ। त्यसैले अविलम्ब त्यो समस्या समाधान गरियोस् भन्ने हामीले कुरा राख्यौं।’

बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले पनि ट्रंकलाइन विवादको विषय उठाएका थिए । उनले पनि यो विषय तत्काल समाधान गर्न प्रधानमन्त्रीसँग आग्रह गरे।

बैठकमा ‘डेडिकेटेड ट्रंक लाइन’ विवादका कारण बन्द भएका उद्योगहरूको समस्या तत्काल समाधान गर्न पनि मुख्यमन्त्री बानियाँले आग्रह गरेका थिए। उद्योग बन्द हुँदा मजदुर, राज्य र व्यवसायी सबैलाई घाटा भएको भन्दै उनले समस्या समाधानको पहल गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।

जवाफमा प्रधानमन्त्री कार्कीले उद्योगी–व्यवसायीहरूसँग छलफल गरेर समाधान निकाल्ने आश्वासन दिएको बानियाँले जानकारी दिए।

‘सबै मुख्यमन्त्रीज्यूहरूले यो विषय उठाउनुभयो। तत्काल समाधान गर्न पनि आग्रह गरियो। त्यसपछि प्रधानमन्त्रीले  उद्योगी–व्यवसायीहरूसँग छलफल गरेर समाधान निकाल्ने बताउनुभयो,’ बागमतीका मुख्यमन्त्री बानियाँले भने।

बैठकमा बागमतीका मुख्यमन्त्रीहरूले प्रदेश सभाबाट पारित गरिसकेको बजेटमा केन्द्रबाट दिइने समपूरक, सशर्त र विशेष अनुदानमा कुनै कटौती हुन नहुने माग पनि राखेका थिए। जवाफमा अर्थमन्त्रीले बजेट कटौती नहुने विश्वास दिलाएको मुख्यमन्त्री बानियाँले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?