२० कात्तिक, काठमाडौं । आफ्नो पालिकालाई युनेस्कोले संगीतको सिर्जनात्मक शहर घोषणा गरेको भन्दै संगीतलाई रोजगारीको माध्यम बनाउने ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बताएका छन् ।
महानगरले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
मेयर महर्जनले युनेस्कोबाट महानगरपालिकालाई संगीतको शहर घोषणा गरेपश्चात परम्परागत, समकालीन तथा आधुनिक संगीतको जगेर्ना गर्दै यस क्षेत्रमा युवालाई प्राथमिकताका साथ सहभागी गराउने बताए ।
संगीतलाई रोजगारी सिर्जनाको माध्यम बनाउन महानगरपालिकालाई महत्त्वपूर्ण जिम्मेवारी र अवसर प्राप्त भएको उनको भनाइ छ ।
संगीतको माध्यमबाट महानगरको छवि र परिचयलाई अन्तर्राष्ट्रियस्तरमा थप उँचो बनाउन सबैको साथ सहयोग हुने उनले विश्वास व्यक्त गरे ।
महानगरले संगीतको माध्यमबाट नगरवासीलाई रोजगारीको नयाँ अवसर सिर्जना गर्नसक्ने महसुस गरी संगीतको विधामा परम्परागत संगीतको संरक्षण गर्दै समकालीन संगीतलाई युनेस्को सिर्जनात्मक शहरहरूको सञ्जालको सदस्यका लागि पहल गरेको थियो ।
गत अक्टोबर ३१ मा विश्व शहर दिवसको अवसर पारेर ललितपुर महानगरलाई युनेस्कोले संगीतको सिर्जनात्मक शहर घोषणा गरेको महानगरले जनाएको छ ।
युनेस्कोबाट संगीत विधामा सदस्यता प्राप्त गरेसँगै महानगरले चार वर्षका लागि संगीत क्षेत्रमा काम गर्ने योजना समेत तयार पारेको छ ।
महानगरले यस क्षेत्रमा अनुसन्धान तथा शैक्षिक कार्यक्रम गर्ने, आवश्यक नीति निर्माणमा पहलकदमी गर्ने तथा स्रोतसाधनको विकास गर्नका लागि ललितपुर सिर्जनात्मक कला केन्द्रको स्थापना गर्ने लगायतका योजना तयार पारेको छ ।
संस्कृति तथा सिर्जनशीलतालाई दिगो विकासको बाहकको रूपमा अंगिकार गरेका शहरलाई एकै थलोमा ल्याई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लक्ष्य प्राप्तीमा सहयोग गर्ने उद्देश्यले युनेस्कोले २००४ देखि युनेस्को सिर्जनात्मक शहरहरुको सञ्जालको सुरुवात गरेको हो ।
हस्तकला तथा लोक कला, डिजाइन, फिल्म, खानपान, साहित्य, मिडिया कला, संगीत र वास्तुकला विधामा सञ्जालको सदस्यता लिन सकिन्छ ।
प्रतिक्रिया 4