२२ कात्तिक, काठमाडौं । नेपाल स्काउट शुद्धीकरण अभियान समितिले नेपाल स्काउटको निर्देशक नियुक्ति प्रक्रिया रोक्न माग गर्दै कार्यालय परिसरमा धर्ना दिएको छ ।
स्काउटको निर्देशक नियुक्तिका लागि शनिबार सर्टलिस्टमा परेकाहरूलाई अन्तर्वार्ताका लागि बोलाइको समय पारेर समितिले कार्यालय परिसरमा धर्ना दिएको हो ।
धर्नाको क्रममा प्रहरीसँग धकला-धकेलसमेत भएको थियो । स्काउट शुद्धीकरण समितको संयोजक देवदूत् अधिकारीले निर्देशक पदका लागि गरिएको दरखास्त आह्वान नै गलत भएको बताए ।
बहालवाल निर्देशक हुँदाहुँदै नयाँ निर्देशकका लागि दरखास्त आह्वान गरिएको उनको भनाइ छ । प्रमुख आयुक्तको विषयमा समेत अदालतमा मुद्दा विचराधीन रहेको अवस्थामा निर्देशक नियुक्त गर्न नमिल्ने अधिकारीले बताए ।
निर्वाचित भएको प्रमुख आयुक्तलाई निवर्तमान युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले निलम्बन गरेर आफ्नो विद्यालय (नाईटेङ्गल स्कुल) मा स्काउट पढाउने शिक्षक देवराज घिमिरेलाई टीका लगाएर आयुक्त बनाएको उनको आरोप छ ।
संयोजक अधिकारीले स्काउटभित्र भएका विकृति, विसंगति र भ्रष्टाचारलाई अन्त्यका लागि छानबिन समितिले बनाएको प्रतिवेदन सार्वजानिक गर्नुपर्ने र प्रतिवेदनको आधारमा दोषीमाथि कारबाही हुनुपर्ने पनि बताए ।
स्काउटका निवर्तमान प्रमुख आयुक्त महेन्द्रराज रञ्जितले नेपाल स्काउटको सर्वोच्च निकाय राष्ट्रिय परिषद्को बैठकले आफूलाई प्रमुख आयुक्त पदमा निर्वाचन गरे पनि तत्कालीनमन्त्री चौधरीले एक वर्ष नपुग्दै हटाएको बताए ।
कानुनी प्रक्रिया नपुर्याई आफूलाई हटाएर देवराज घिमिरेलाई प्रमुख आयुक्त बनाएपछि सर्वोच्च अदालतमा मुद्दा हालेको उनले जानकारी दिए । अदालतमा मुद्दा चलिरहेको अवस्थामा निर्देशक नियुक्त गर्न नमिल्ने उनको जिकिर छ ।
प्रतिक्रिया 4