News Summary
Generated by OK AI. Editorially reviewed.- सिंगापुर एयरलाइन्सले काठमाडौं–सिंगापुर रुटमा बोइङ ७३७–८ म्याक्स जहाजबाट स्थायी सेवा सुरु गरेको छ।
- नयाँ जहाजमा पूर्णरूपमा सुत्न मिल्ने बिजनेस क्लास सिट र उडानभरि निःशुल्क वाइफाई सुविधा उपलब्ध छ।
- सिंगापुर एयरलाइन्सले नेपालमा ३ कार्गो र १० ट्राभल कम्पनीलाई व्यापारमा योगदानका लागि सम्मान गरेको छ।
२४ कात्तिक, काठमाडौं । सिंगापुर एयरलाइन्सले काठमाडौं-सिंगापुर रुटमा ‘बोइङ ७३७-८ म्याक्स’ जहाजबाट स्थायी सेवा सुरु गरेको छ ।
यो नयाँ जहाज सञ्चालनले यस रुटमा यात्रा गर्ने यात्रुका लागि अभूतपूर्व आराम र सुविधा प्रदान गर्ने सिंगापुर एयरलाइन्सले जनाएको छ ।
यसअघि सिंगापुर एयरलाइन्सले यो रुटमा ‘बोइङ ७३७-८०० एनजी’ जहाज सञ्चालन गर्दै आएको थियो । अहिले गरिएको जहाज स्तरोन्नतिले समग्र उडान अनुभवलाई धेरै गुणा माथि पुर्याएको छ ।
कम्पनीका अनुसार नयाँ बोइङ ७३७-८ म्याक्स जहाजमा पूर्णरूपमा सुताउन मिल्ने बिजनेस क्लास सिट छन् । बिजनेस क्लासका यात्रुले अब पूर्णरूपमा समतल हुने सिटमा आरामदायी यात्रा गर्न सक्नेछन्, जसले गर्दा लामो यात्रापछि पनि स्फूर्त महसुस हुनेछ ।
सबै क्लासका यात्रुका लागि उडानभरि निःशुल्क वाइफाई उपलब्ध गराइएको छ । यसले यात्रुलाई काम गर्न, परिवार र साथीहरूसँग सम्पर्कमा रहन वा मनोरञ्जनका लागि इन्टरनेट प्रयोग गर्न सहज बनाएको सिंगापुर एयरलाइन्सको नेपालस्थित जनरल सेल्स एजेन्ट (जीएसए) एभरेस्ट एक्सप्रेस इन्टरनेसनलले जनाएको छ ।
नयाँ पुस्ताको यो जहाजले आधुनिक क्याबिन डिजाइन, उन्नत इन्फ्लाइट मनोरञ्जन प्रणाली र उत्कृष्ट इन्धन दक्षताका साथ वातावरणमैत्री उडान अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार बोइङ ७३७-८ म्याक्स जहाजको सेवा काठमाडौं–सिंगापुर र सिंगापुर हुँदै अन्य गन्तव्यसम्मको यात्राका लागि स्थायी रूपमा उपलब्ध हुने छ। यो परिवर्तनले नेपालबाट विश्वभरि यात्रा गर्ने यात्रुका लागि सिंगापुर एयरलाइन्सको विश्वस्तरीय सेवामा निरन्तरता र गुणस्तरको सुनिश्चितता गरेको छ ।
३ कार्गो र १० ट्राभल कम्पनीलाई सिंगापुर एयरलाइन्सको सम्मान
यसैबीच सिंगापुर एयरलाइन्सले नेपालमा आफ्नो व्यापार बढाउन यो वर्ष उल्लेख्य योगदान गरेका ३ कार्गो कम्पनी र १० ट्राभल कम्पनीलाई सम्मान गरेको छ ।

सिंगापुरको जीएसए एभरेस्ट एक्सप्रेस इन्टरनेसनलका अनुसार ‘आउटस्ट्यान्डिङ कार्गो एजेन्ट अवार्ड’ बाट पायोनियर कार्गो, राइजिङ स्टार कार्गो र लिजेन्ड कार्गोलाई सम्मान गरिएको हो ।
त्यस्तै ‘इन्टरप्राइजिङ एजेन्ट अवार्ड’ बाट रुपाकोट इन्टरनेसनल ट्राभल्स, रुप्से होलिडेज, ऐश्वर्य ट्राभल्स, रोमिङ नेपाल र सुमेघ टुर्स एन्ड ट्राभल्स सम्मानित भएका छन् ।
यसैगरी ‘आउटस्ट्यान्डिङ ट्राभल एजेन्ट अवार्ड’ बाट प्रवास ट्राभल एन्ड टुर्स, बोन ट्राभल एन्ड टुर्स, सि लिंक्स ट्राभल्स एन्ड टुर्स, डा भिन्ची ट्राभल्स एन्ड टुर्स र ओशो वर्ल्ड ट्राभल नेपाल सम्मानित भएका छन् ।
प्रतिक्रिया 4