२४ कात्तिक, काठमाडौं । नेकपा एमालेमा समाहित भएकी नेतृ रामकुमारी झांक्रीले पार्टी नखोल्ने जेनजीहरूलाई एमालेमा आउन अपिल गरेकी छिन् ।
सोमबार राष्ट्रिय सभा गृहमा आयोजित घर फर्क अभियानमार्फत पार्टी प्रवेश गरेकी उनले जेनजीहरूका लागि नेकपा एमालेको चारवटै ढोका खुला भएको बताए ।
‘तपाईंहरूको विद्रोह, आक्रोशप्रति राज्यका अंगप्रति जायज प्रश्न हुन् । तर तपाईंहरूको जायज प्रश्नमाथि जसले जे गरिरहेको छ । अब जेनजी पुस्ताका नवयुवा साथीहरूले सोच्ने बेला आएको छ,’ उनले भनिन्, ‘तपाईंहरू आफ्नै पार्टी बनाउनुहुन्छ ? बनाउनुस् । हाम्रो शुभकामना छ । तर तपाईं पार्टी बनाउँदै हुनुहुन्न भने हामीजस्तै एमालेमा आउनुस् । हर जेनजीहरूका लागि नेकपा एमालेले चारवटै ढोका खुला गरेको छ ।’
साथै, उनले जेनजी आन्दोलनपछि नेकपा एमाले भर्सेस जेनजी देखिएको बताइन् ।
‘आज म भन्न सक्छु कि जेनजी आन्दोलन एउटा पुस्ताको आक्रोश थियो । त्यो सामान्य कुरा थियो । त्यसमा रोटी सेक्नका लागि सरकारका विरुद्ध जुन जुन तत्व सामेल भए,’ झांक्रीले भनिन्, ‘आज फर्केर हेर्दा जेनजी आन्दोलन भर्सेस नेकपा एमाले र त्यसको नेतृत्व उभिएको छ । समाजमा । जेनजी आन्दोलनको स्टेक होल्डरहरू नजानिदो ढंगले आफूलाई दाबी गरिरहेका छन् ।’
उनले आफ्ना विगतका कमजोरी स्वीकार गरेको बताएकी छिन् ।
‘ आज म यहाँ उभिँदै गर्दा तपाईं सबै मान्छेलाई थुप्रै जिज्ञासा छ । यो मिश्रित प्रकारको छ । आजको भर्चुअल प्लाटफर्मममा रहेका मेरा विगतका कमजोरीलाई कसरी स्वीकार गर्छु,’ झांक्रीले भनिन् ।
प्रतिक्रिया 4