News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले राष्ट्रिय सभामा बहुमतनजिक पुग्ने प्रयास गर्दैछ र अन्य दलसँग गठबन्धन गर्ने वा एक्लै चुनाव लड्ने विषयमा छलफल भइरहेको छ।
- राष्ट्रिय सभामा १९ पद रिक्त हुन लागेका छन् र माघ ११ गते १८ पदका लागि निर्वाचन हुँदैछ भने मनोनीत सांसदको ठाउँमा सरकारले सिफारिस गर्ने व्यक्तिले जानेछन्।
- कांग्रेस र एमाले प्रदेश सरकारहरूमा गठबन्धनमा छन् तर मधेश प्रदेशमा दुईतिर भएका छन् र राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गर्ने निर्णय पछि गर्ने तयारी छ।
२६ कात्तिक, काठमाडौं। नेपाली कांग्रेसले राष्ट्रिय सभामा बहुमतनजिक पुग्ने प्रयास गर्दैछ। यसका लागि अन्य दलसँग चुनावी गठबन्धन गर्दा के हुन्छ र एक्लै चुनाव लड्दा भन्ने छलफलमा नेताहरू छन्।
‘स्थानीय तहमा हाम्रो राम्रो छ। प्रदेश सभाको स्थिति समेतको आधारमा अन्य दलसँग गठबन्धन गर्दा कति सिट जित्न सकिन्छ र एक्लै चुनाव लड्दा के हुन्छ भनेर आँकलन हुन्छ,’ एक नेताले भने। उनका अनुसार यो विषयमा पार्टीको केन्द्रीय समितिको बैठक पछाडि ठोस छलफल र निर्णय हुनेछ।
५९ सदस्यीय राष्ट्रिय सभामा हाल कांग्रेसका १६ जना सांसद छन्। उनीहरू कोही पनि आगामी फागुन २० मा बिदा हुने छैनन्।
आगामी फागुन २० मा बिदा हुने राष्ट्रिय सभा सदस्यहरूमा एमालेका ८ जना र माओवादी केन्द्रका ७ जना छन्। नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टी नेपालमा १/१ जना विदा हुँदैछन्। मनोनीत सांसद वामदेव गौतम पनि विदा हुँदैछन्।
राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ मध्ये १८ पदका लागि यही माघ ११ गते निर्वाचन हुँदैछ। मनोनीत सांसद गौतमको ठाउँमा सरकारले सिफारिस गरेका व्यक्ति जानेछन्।
बाँकी १८ पदमा हुने निर्वाचनमा अधिकतम सिट लिने गरी निर्वाचन लड्ने प्रयासमा कांग्रेस छ।
कांग्रेस नेता किरणबाबु श्रेष्ठ राष्ट्रिय सभा सदस्यको निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने निर्णय हुन बाँकी रहेको बताउँछन्।
‘हामी प्रदेश सरकारहरूमा एमालेसँग गठबन्धनमा छौं। यसकारण राष्ट्रिय सभा सदस्यको निर्वाचनमा गठबन्धन गर्दा वा नगर्दा सबैतिर एउटै निर्णय लागू हुन्छ,’ श्रेष्ठले भने।
नेता श्रेष्ठले भने जस्तै कांग्रेस र एमाले मधेश प्रदेश बाहेकको सरकारमा सँगै छन्। मधेश प्रदेश सरकारमा पनि कांग्रेस र एमाले जनमत पार्टीका नेता सतीशकुमार सिंह नेतृत्वको सरकारमा सँगै थिए। सिंह नेतृत्वको सरकार ढलेपछिको अवस्थामा भने कांग्रेस र एमाले दुईतिर भएका छन्।
बाँकी प्रदेशहरूमध्ये कोशी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा एमाले नेतृत्वको सरकार छ। त्यस्तै, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार छ।
निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सहभागी हुन आगामी मंसिर १ गतेदेखि १० गतेसम्म दल दर्ता गर्नुपर्ने हुन्छ।
नेपाली कांग्रेसको अहिले केन्द्रीय कार्यसमितिको बैठक बसिरहेको छ। बैठकमा अहिलेसम्म राष्ट्रिय सभा निर्वाचनको विषय प्रवेश गरेको छैन।
पार्टीको १५औं महाधिवेशन प्रतिनिधिसभाको मध्यावधि निर्वाचन अघि कि पछि भन्ने विषयमा केन्द्रित रहेर मुख्य छलफल भइरहेको छ। प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको मिति घोषणा भइसकेकाले निर्वाचन केन्द्रित छलफल पनि चलिरहेको छ।
यस्तोमा राष्ट्रिय सभाको आसन्न निर्वाचनका सम्बन्धमा पछि नै छलफल र आवश्यक निर्णय हुने नेताहरूले बताएका छन्।
प्रतिक्रिया 4