+
+
Shares
टिप्पणी :

प्रचण्ड–माधव एकता : किनारामा विचार, केन्द्रमा पार्टी सत्ता 

अप्राकृतिक राजनीतिक संयोजनले क्षणिक रूपमा शक्ति बलियो देखाउन सक्छ, तर त्यो बल अस्थायी हुन्छ। जनतालाई नेताहरूको गठजोड होइन, वास्तविक परिवर्तन चाहिएको छ।

राजेश विद्रोही राजेश विद्रोही
२०८२ कात्तिक २६ गते १५:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित १० दलबीच २३ बुँदे सहमति गरी एकता प्रक्रिया निष्कर्षमा पुगेको छ।
  • प्रचण्ड र माधव नेपालबीचको एकतालाई मूलतः व्यक्तिगत राजनीतिक अस्तित्व र सत्ताको समीकरणको खेलका रूपमा विश्लेषण गरिएको छ।
  • यो एकताले माओवादी आन्दोलनको वैचारिक पहिचान संकटमा परेको र जनताले वास्तविक सामाजिक न्याय र परिणाम खोजिरहेको बताइएको छ।

हालैको जेनजी आन्दोलनपछि नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित १० राजनीतिक दल/समूह बीच २३ बुँदे सहमति सहित एकता प्रक्रिया निष्कर्षमा पुगेको छ। तथ्यहरूलाई विश्लेषण गर्दा यसलाई बृहत् कम्युनिस्ट एकताभन्दा पनि मूलतः प्रचण्ड र माधव नेपाल बीचको एकता भन्न सकिन्छ।

माओवादी शान्ति प्रक्रियामा आएदेखि नै प्रचण्डले आफ्नो नेतृत्व जोगाउन र पार्टीभित्रको अल्पमतलाई निस्तेज पार्न वामपन्थी ध्रुवीकरणको नाममा एकता गर्ने रणनीति अपनाउँदै आएका थिए। अहिले आएर उनले हजारौंको योगदान र बलिदानलाई बिर्सने गरी माओवादी ब्रान्ड वा विचारलाई नै तिलाञ्जली दिएका छन्।

यसलाई धेरैले माओवादी विचारधारा त्यागको रूपमा पनि विश्लेषण गर्न थालेका छन्। आम विश्लेषण के छ भने जेनजी आन्दोलनको दबाबलाई विषयान्तर गर्दै पार्टी सत्तामा आफ्नो निरन्तरताका लागि प्रचण्डले साना दलहरूसँग एकता गरेका हुन्।

सँगै थोरै मात्र विकल्प बाँकी रहेका माधव नेपालले राजनीतिक सुरक्षाको लागि नयाँ दललाई आफ्नो ओत बनाउने निर्णयमा पुगेका हुन्। यसलाई प्रचण्ड–माधवको एकता भन्नु अतिशयोक्ति नहोला, जसलाई केही साना दल र समूहहरूले साथ दिएका छन्।

 इतिहासको पुनरावृत्ति र पहिचानको संकट

प्रचण्ड र माधव बीचको यो एकताले नेपाली राजनीति र माओवादी आन्दोलनमा उठेका प्रश्नहरूलाई अझ तीव्र बनाएको छ। नेपालको राजनीतिक इतिहास हेर्दा ‘एकता’ शब्द प्रायः वैचारिक मिलनभन्दा सत्ता–शक्ति पुनर्संयोजन र अवसरवादी गठजोड बन्ने गरेको छ। यो मिलनले पनि त्यही परम्परालाई दोहोर्‍याउने संकेत गरेको आशंका बलियो बनाएको छ।

समाज परिवर्तन गर्ने ठूलो अपेक्षा बोकेको माओवादी आन्दोलन आज आफ्नै पहिचान परिवर्तन गरी आत्मसमर्पण र विसर्जनको मोडमा आएको छ। माओवादी शब्द केवल एउटा संगठनको नाम मात्र होइन- यो हजारौं शहीदको बलिदान, गाउँका किसानको संघर्ष, उत्पीडित वर्गको आवाज र दशकौंको भोगाइको सार हो।

शहीदहरूको बलिदान र पीडा केवल राजनीतिक शोभायात्राको हिस्सा हुन सक्दैन। उनीहरूको सपना वास्तविक सामाजिक न्याय र समतामूलक संरचना थियो।

नाम परिवर्तनले इतिहास मेटिंदैन, बरु आत्मसम्मान र पहिचानमा चोट पुर्‍याउँछ। दलित समुदायका सदस्यहरूले आफ्नो थर परिवर्तन गरेर कोठा खोज्ने बाध्यताको पीडा जत्तिकै संवेदनशीलता माओवादी पहिचान त्यागसँग पनि जोडिएको छ। जनताको मनमा बसेको विरासतको भावनालाई नाम वा हुलिया परिवर्तन गरेर मात्र नेताहरूले विषयान्तर गर्न सक्दैनन्।

 नेतृत्वको महत्त्वाकांक्षा र वैचारिक विचलन

नेतृत्वको असन्तुलन र महत्त्वाकांक्षाले पार्टीलाई विचारभन्दा बढी व्यक्तिगत स्वार्थतर्फ संवेदनशील बनाएको छ। प्रचण्डको नेतृत्वपछि माओवादी आन्दोलन वैचारिक रूपमा कसरी दायाँ-बायाँ भयो भन्ने विश्लेषण गर्नु आवश्यक हुन्छ। आन्दोलनले परिवर्तनका लागि उठाएको आवाज नै अहिले नेतृत्वको स्वार्थ र सत्ताको लोभमा छोपिंदै गएको छ।

रामबहादुर थापा ‘बादल’, डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द ‘विप्लव’, टोपबहादुर रायमाझी, मोहन वैद्य ‘किरण’ लगायतका नेताहरूको राजनीतिक बाटो फरक भए पनि जनताका मनमा उनीहरू माओवादी आन्दोलनकै ‘सन्तान’ का रूपमा रहन्छन्। त्यसैले, प्रचण्डले जे गरे पनि जनताले उनको नाम माओवादीसँग जोडेर नै हेर्छन्, तर त्यो नजर अहिले सकारात्मक सन्देशभन्दा पनि तालमेलको द्विविधामा देखाउँछ। आत्मिक समर्थन समय र कर्मले स्थापित गर्ने कुरा हो, न कि नाम परिवर्तनले।

 अस्तित्व बचाउने अस्त्र

यो एकताको सन्दर्भमा प्रचण्ड र माधव दुवैको निजी आवश्यकता र राजनीतिक अस्तित्वको चिन्ताले ठूलो भूमिका खेलेको छ। प्रचण्डको ठूलो बन्ने चाहना, राजनीतिक पहिचान कायम राख्नुपर्ने दबाब र सत्ता नजिक रहन चाहने आकांक्षाले गर्दा माओवादी आन्दोलनले वैचारिक रूपान्तरणको सट्टा सत्ताको समीकरणको खेलमा आफूलाई बेचेको आरोप उठाउन सजिलो भएको छ।

कुनै प्रविधि कम्पनीले आफ्नो उत्पादन बन्द गर्दैन, बरू सुधारेर नयाँ संस्करण ल्याउँछ। त्यसैगरी, एक राजनीतिक आन्दोलनलाई पनि समयअनुसार वैचारिक स्वरूप र रणनीति अद्यावधिक गर्नुपर्ने थियो। तर, नेतृत्वले नयाँ भर्सन ल्याउने साहस र जनहितलाई केन्द्रमा राख्ने इमानदारी देखाएन। फलस्वरूप, माओवादी पार्टी ‘पुरानो एप’ जस्तो भयो— प्रयोगकर्ताको उत्साह घट्यो।

प्रचण्ड-माधवको एकताले राजनीतिक दलहरू वैचारिक रूपान्तरणको सट्टा सत्ता समीकरणमा केन्द्रित हुने पुरानो अभ्यासकै निरन्तरता देखाउँछ। जबकि जेनजी आन्दोलनले विचार, नेतृत्व र संगठनकै रूपान्तरण माग गरेको थियो।

माधव नेपालको यो राजनीतिक कदमलाई पनि औचित्यपूर्ण ठम्याउन मुस्किल छ। उनले आफ्नो व्यक्तिगत संकट समाधान गर्न ठूलै सम्झौता गरेका छन्। उनी सधैं सत्ताको गणितमा आफ्नो ठाउँ खोज्ने शैलीमा छन्। एमाले छाड्दा नयाँ बाटोको आशा गरिए पनि त्यो अन्ततः पुरानै शक्ति समीकरणभित्र विलीन भयो।

विचारमा स्थायित्व र जनजीवनमा प्रभावकारी कार्यक्रमको अभाव हुँदा उनको राजनीतिले पनि जनसमर्थन गुमाउन थाल्यो। यस्तो परिस्थितिमा प्रचण्ड जस्ता स्थापित व्यक्तिसँग एकता गरेर माधव पनि आफ्नो अस्तित्व कायम राख्न सक्ने आशा देखाउन चाहन्छन्- तर के यो आशाले जनताको विश्वास फिर्ता ल्याउन सक्छ ? प्रश्न अझै अनुत्तरित छ। 

जनता खोजिरहेछन् परिणाम

इतिहासले सिकाएको छ कि एकताको नाममा हुने मिलन प्रायः अवसरवादी सावित भएको छ। दुवै पक्षले आफ्नो कमजोरी र घट्दो जनसमर्थन बुझेर मिलन खोजिरहेका छन्— तर त्यो मिलन विचारभन्दा आफ्नो राजनीतिक अस्तित्व बचाउने उपाय जस्तो देखिन्छ। नेताहरूले निर्णय गर्दा सिद्धान्त र जनहितलाई पछाडि राखेर व्यक्तिगत शक्ति सुरक्षा अगाडि ल्याउँछन् भने त्यस्ता एकताले दीर्घकालीन स्थायित्व वा जनहितप्रति साँचो योगदान दिन सक्दैनन्।

विजातीय र अप्राकृतिक राजनीतिक संयोजनले क्षणिक रूपमा शक्ति बलियो देखाउन सक्छ, तर त्यो बल अस्थायी हुन्छ। जनतालाई नेताहरूको गठजोड होइन, वास्तविक परिवर्तन चाहिएको छ।

शहीदहरूको बलिदान र पीडा केवल राजनीतिक शोभायात्राको हिस्सा हुन सक्दैन। उनीहरूको सपना वास्तविक सामाजिक न्याय र समतामूलक संरचना थियो। नेतृत्वले ती आवाजलाई बेवास्ता गर्‍यो र उनीहरूको आह्वानलाई राजनीतिक उपकरण मात्र बनायो भने आन्दोलन आफैं खतरामा पर्छ।

जनतालाई अब नाराभन्दा परिणाम चाहिएको छ। नयाँ पुस्ताको उदय र वैचारिक पुनरुद्धार विना कुनै पनि पुरानो नेतृत्वले आन्दोलन पुनर्जीवित गर्न सक्ने सम्भावना न्यून छ। यदि प्रचण्ड–माधव जस्ता नेतृत्वहरूले यो एकताबाट परिणाम प्रमाणित गर्न सकेनन् भने इतिहासमा फुटनोट बन्ने खतरा उनीहरूलाई छ।

तसर्थ, रूपान्तरणलाई पछ्याउन नसके प्रचण्ड र माधव लगायतका दलहरूको एकता अवसरवादको प्रतीक हुनसक्छ। विचार र सिद्धान्तको पुनर्स्थापनाको विकल्पमा सत्ता र अस्तित्व संरक्षणको राजनीति अल्पकालीन र प्रतिक्रियात्मक हुन्छ। यदि यी नेताहरूले साँच्चिकै माओवादी आन्दोलन र जनतालाई केन्द्रमा राखी नयाँ विचार र ठोस कार्यनीति लिएर आउन सक्छन् भने मात्र यसलाई सकारात्मक रूपमा व्याख्या गरिनेछ। अन्यथा, यो एकता केवल नेताहरूको राजनीतिक अस्थायी शरणस्थल मात्रै बन्नेछ। यसले आन्दोलनलाई मूल लक्ष्यबाट विचलित पार्नेछ न कि समाजले खोजे जस्तो परिणाम।

नेपाली राजनीतिले खोजेको साँचो नेतृत्वले विचारलाई जीवन्त राख्दै जनताको वास्तविक समस्या समाधान गर्नुपर्दछ, न कि इतिहासको कुरा गरेर सत्ताको स्वाद खोज्ने र जीवनभरि आफ्नै नेतृत्वको निरन्तरताको लागि जस्तोसुकै गर्ने नेतृत्व।

लेखक पूर्वलडाकु हुन्।

लेखक
राजेश विद्रोही

राजेश विद्रोही लेखक तथा अभियन्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?