+
+
Shares

कालोपट्टी बाँधेर मिरज समूह प्रदर्शनमा

सिंहदरबार प्रवेश गर्न खोज्दा मिरज समूह र प्रहरीबीच केहीबेर धकेलाधकेल भयो । सिंहदरबार गेट पुगेर गिरफ्तारी दिने योजनामा रहेको यो समूहलाई प्रहरीले रोकेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ९ गते १३:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री सुशीला कार्कीले ज्ञापन पत्र बुझ्ने समय नदिएको भन्दै मिरज ढुंगाना समूहले सिंहदरबार गेटअगाडि प्रदर्शन गरेको छ।
  • मिरज समूहले मंगलबार टाउकोमा कालोपट्टी बाँधेर प्रदर्शन गर्दै गिरफ्तारी दिने योजना बनाएको थियो।
  • समूहले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित भदौ २३–२४ को घटनामा संलग्न सबैलाई पक्राउ गर्न माग गरेको छ।

९ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ज्ञापन पत्र बुझ्ने समय नदिएको भन्दै मंगलबार पनि सिंहदरबार गेटअगाडि मिरज ढुंगाना समूहले प्रदर्शन गरे ।

आइतबार बैठक बसेर सोमबारबाट निरन्तर आन्दोलनमा जाने बताएको यो समूहले मंगलबार टाउकोमा कालोपट्टी  बाँधेर प्रदर्शन गरेका हुन् ।

सिंहदरबार प्रवेश गर्न खोज्दा मिरज समूह र प्रहरीबीच केहीबेर धकेलाधकेल भयो । सिंहदरबार गेट पुगेर गिरफ्तारी दिने योजनामा रहेको यो समूहलाई प्रहरीले रोकेको छ ।

सोमबार पनि सिंहदरबार गेटअगाडि पुगेर प्रधानमन्त्री भेट्न नपाएपछि यो समूहले असन्तुष्टि जनाएको थियो । प्रधानमन्त्रीलाई बुझाउने भनिएको मागपत्र गेटमै टाँसेर हिँडेको थियो ।

मिरज नेतृत्वको गरिखान देउ अभियानका अगुवा हरिष भट्टकाअनुसार मंगलबार भने प्रधानमन्त्रीलाई भेट्ने भन्दा पनि गेटअगाडि गएर प्रदर्शन गर्ने योजना थियो ।

‘आज हामी सिंहदरबार पुगेर गिरफ्तारी नै दिने पूर्वयोजना थियो । सोहीअनुसार प्रदर्शनको लागि गएका हौँ । अब यो आन्दोलन हाम्रो माग पूरा नभएसम्म निरन्तर जारी रहन्छ,’ उनले भने ।

सोमबार यो समूहसहित अन्य जेनजी अगुवाले विभिन्न विषय समेट्दै ८ बुँदे संयुक्त मागपत्र सिंहदरबाको गेटमा टाँसेको थियो

मागपत्रमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहित भदौ २३–२४ को घटनामा संलग्न सबैलाई पक्राउ गर्न, वर्तमान संविधान संशोधनको लागि सर्वपक्षीय सरकार बनाउने र घोषित निर्वाचन रोक्न माग गरिएको छ ।

मागपत्रमा सबै राजनीतिक दलका नेता तथा पूर्वसांसद–मन्त्रीहरूको चलअचल सम्पत्ति रोक्का गर्न, शक्तिशाली भ्रष्टाचार निर्मुल आयोग गठन गर्न, सरकारी सेवामा दलीय कर्मचारी संगठन सदाका लागि प्रतिबन्ध गर्न, जेनजी निगरानी आयोग बनाउन र शहीद–घाइते परिवारलाई तत्काल रोजगारी दिने माग पनि समेटिएको छ ।

यसरी आफ्ना माग पूरा नभएसम्म नछोड्ने बताएको यो समूह अहिले सिंहदरबार आसपासमा प्रहरीसँग धकेलाधकेल गरिरहेको छ ।

‘हामीलाई अनामनगरको बार्दलीसम्म प्रहरीले पन्छाएको छ । तर, हाम्रा साथीहरू फेरी सिंहदरबारतिरै जान खोज्दै हुनुहुन्छ । आज जसरी पनि त्यहाँ प्रदर्शन गरिन्छ,’ भट्टले भने ।

प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले परिवारका सदस्य र नातेदारहरूलाई सचिवालयमा नियुक्ति दिलाएको खुलेपछि मिरजसहितका जेनजी समूह आक्रोशित बनेका छन् ।

तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?