+
+
WC Series
काठमान्डु गोर्खाज 2025
0/0
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares
ब्लग :

डिजिटल संसारमा थप मौलाइरहेको लैङ्गिक हिंसा

डिजिटल पहुँच बढ्दै जाँदा महिला र किशोरीहरूमाथि अनलाइन दुर्व्यवहारको जोखिम तीव्र रूपमा बढिरहेको छ। नेपालमा साइबर अपराधका ७ हजारभन्दा बढी उजुरी महिलासँग सम्बन्धित छन्, जसले लैङ्गिक हिंसा अब घरेलु मात्र नभई डिजिटल स्वरूपमा समेत व्याप्त भएको देखाउँछ।

इन्द्रराज भट्टराई इन्द्रराज भट्टराई
२०८२ मंसिर २४ गते १३:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्वभर नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान 'प्रविधिको सही प्रयोग गरौँ: लैङ्गिक हिंसा अन्त्य गरौँ' नाराका साथ मनाइन्छ।
  • नेपालमा आर्थिक वर्ष ०८१/०८२ मा दर्ता भएका अपराधमध्ये २९ प्रतिशत लैङ्गिक हिंसाका मुद्दा छन्, जसमा ८१ प्रतिशत घरेलु हिंसा सम्बन्धी छन्।
  • डिजिटल हिंसाका घटनाहरूमा महिलाको उजुरी बढ्दै गएको छ, गत आर्थिक वर्षमा ७,९२१ उजुरी दर्ता भएका छन्, जसले अनलाइन दुर्व्यवहारको जोखिम देखाउँछ।

विश्वभर हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइन्छ। यसवर्षको १६ दिने अभियान ‘प्रविधिको सही प्रयोग गरौँ: लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ अगाडि बढिरहेको छ।

लैङ्गिक हिंसा भन्नाले लिङ्गका आधारमा कुनै पनि व्यक्तिविरुद्ध सामाजिक वा निजी स्थानमा गरिने शारीरिक, मानसिक, यौनिक क्षति वा दबाबका साथै उनीहरूको स्वतन्त्रतामा रोक लगाउने वा लाग्न सक्ने सम्भावना भएका कुनै पनि कार्यलाई बुझाउँछ।

आज डिसेम्बर १० अर्थात् अन्तर्राष्ट्रिय मानव अधिकार दिवसः ‘मानव अधिकार, हामी सबैको अपरिहार्य आधार’ भन्ने नाराका साथ ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस संसारभर बिभिन्न कार्यक्रम गरी मनाईंदैछ । आजको दिन लैंगिक हिंसा विरूद्धको १६ दिने अभियानको अन्तिम दिन पनि हो ।

लैङ्गिक हिंसा विश्वमै सबैभन्दा बढी हुने मानव अधिकारको हनन् मध्येको एक हो। यसको सबैभन्दा व्याप्त स्वरूप घरेलु हिंसा हो। लैङ्गिक हिंसाले असमान रूपमा महिला र बालिकाहरूलाई बढी प्रभावित गर्दछ, यद्यपि जो कोही पनि पीडित हुन सक्छन्।

लैङ्गिक हिंसाविरुद्धको अभियानको ऐतिहासिक पृष्ठभूमि

इतिहासलाई अध्ययन गर्दा, नोभेम्बर २५, १९६० का दिन डोमिनिकन गणराज्यमा तानाशाही त्रुजिलो शासनविरुद्ध नागरिक आन्दोलनका अगुवा तथा राजनीतिज्ञका श्रीमतीहरू पाट्रिया, मिनेर्भा, मारियम टेरेसा र मिराबल रेयस (तीन दिदीबहिनी) को राजद्रोहको आरोप लगाउँदै हत्या गरिएको थियो।

त्यस हत्याविरुद्ध चलेको आन्दोलनले १३० वर्षसम्म शासन गरेका त्रुजिलो शासनको पतन गराएको थियो। त्यसैको प्रेरणाबाट सन् १९८० मा ल्याटिन अमेरिकामा महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवसका रूपमा यो मनाउन थालिएको हो ।

त्यसैगरी, डिसेम्बर ६, १९८९ का दिन मोन्टोल विश्वविद्यालय क्यानडाका एक युवकले १४ जना छात्राहरूको सामूहिक हत्या गरेपछि त्यसको विरुद्ध सन् १९९१ मा ‘सेतो रिबन अभियान’ को सुरुवात गरिएको हो।

हिंसाको विरुद्धमा अङ्ग्रेजी अंग्रेजी अक्षर ‘भी’ अक्षरको उल्टो आकारको सेतो रिबन पुरुष वर्गको ‘म हिंसा गर्दिनँ, म हिंसा सहन्नँ र म हिंसाको प्रतिकार गर्छु’ भन्ने प्रतिबद्धता हो।
यससँगै संयुक्त राष्ट्रसङ्घको १७ डिसेम्बर १९९९ को महासभाले पारित गरेअनुसार नोभेम्बर २५ लाई ‘महिला विरुद्ध हुने हिंसा उन्मूलन दिवस’ का रूपमा हरेक वर्ष अन्तर्राष्ट्रिय रूपमा यो दिवस मनाइन्छ।

अभियानका महत्त्वपूर्ण दिनहरू

यो अभियानको क्रममा केही महत्त्वपूर्ण दिनहरू छन्:

  • नोभेम्बर २५: महिला विरुद्ध हुने हिंसा उन्मूलन दिवस
  • नोभेम्बर २९: अन्तर्राष्ट्रिय महिला मानव अधिकार रक्षक दिवस
  • डिसेम्बर १: विश्व एड्स दिवस
  • डिसेम्बर ३: अन्तर्राष्ट्रिय अपाङ्गता दिवस
  • डिसेम्बर ५: अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस
  • डिसेम्बर ८: अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस
  • डिसेम्बर १०: अन्तर्राष्ट्रिय मानव अधिकार दिवस

नेपालमा लैङ्गिक हिंसा र कानुनको अवस्था

नेपालको सन्दर्भमा १६ दिने अभियानको थालनी विसं २०५४ साल देखि भएको हो। नेपाल सरकारको विसं २०७५ मङ्सिर २ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार प्रत्येक वर्ष नोभेम्बर २५ मा लैङ्गिक/महिला हिंसा विरुद्धको अभियान दिवसका रूपमा मनाउने निर्णय गरिएको थियो।

यस अभियानको मुख्य उद्देश्य नेपालमा महिलामाथि हुने घरेलु हिंसा, कुटपिट, बलात्कारपछि हत्या, एसिड आक्रमण, बोक्सीको आरोपमा दुर्व्यवहार जस्ता सबै प्रकारका हिंसा अन्त्य गर्नु रहेको छ। महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धिलाई नेपालले सन् १९९१ मा अनुमोदन गरिसकेको छ।

नेपाल प्रहरीका अनुसार, आर्थिक वर्ष ०८१/०८२ मा देशभर दर्ता भएका कुल अपराधका मुद्दा मध्ये २९ प्रतिशत लैङ्गिक हिंसाका मुद्दा रहेका छन्।

  • कुल लैङ्गिक हिंसाका मुद्दा: २१,६६७
  • घरेलु हिंसाका मुद्दा: १७,४९६
  • कुल लैङ्गिक हिंसामा घरेलु हिंसाको प्रतिशत: ८१ प्रतिशत

हाम्रो समाजमा शारीरिक, मानसिक/मनोवैज्ञानिक, भावनात्मक, आर्थिक, सामाजिक-सांस्कृतिक, यौनिक र राजनीतिक हिंसा हुने गरेको पाइएको छ।

हिंसाका प्रतिनिधि घटनाहरू (अभियानको समयमा घटेका)

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको समयमा नेपालमा घटेका यी प्रतिनिधि घटनाहरूले समाजको वास्तविक चित्र देखाउँछन्:

घटना न १:

सल्यानमा छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बाबु पक्राउ परेका छन ।१४ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ३८ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरेको छ ।

३८ वर्षीय बाबुले १४ वर्षिया छोरीलाई गत असोज २६ गते बलात्कार गरेका थिए भने केही दिनपछि कोही नभएको मौका छोपी बलात्कारको प्रयास गर्दा आमाले देखेपछि घटनाको पोल खुलेको थियो । प्रहरीले ३८ वर्षीय बाबुलाई घरबाटै पक्राउ गरेको जनाएको छ।

घटना न २:

त्यसैगरी गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी कात्तिक ७ गते बेलबारी अंशु गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत फेला परेकी थिइन् । उनको शरीर क्षतविक्षत अवस्थामा थियो । दुई महिना लामो अनुसन्धानपछि प्रहरीले हत्या अनुसन्धानका लागि अन्दाजी ५० वर्षीय छिमेकी पुरुषलाई नियन्त्रणमा लिएको छ ।

घटना न ३:

महिलाको नागरिकताको हकप्रति किन सधैं सशंकित हुन्छ राज्य? २२ वर्षीया अञ्जु थारु र उनका ६१ वर्षीया बाबु कान्छा थारुले किन आत्महत्या गरे? बर्दियाको बढैयाताल–४, दक्षिण भकारी गाउँकी एक युवतीले नागरिकताका लागि संघर्ष गर्दागर्दै मृत्युको बाटो रोजेको र उहाँका ६१ वर्षीय बाबुसमेत जीवित नरहेको जनाइएको छ। ७ वर्षकी छोरी छोडेर अञ्जुले आत्महत्या गर्नुका पछाडि कस्ता कारण जिम्मेवार छन् ? उनले किन कानुनसम्मत पाउनुपर्ने नागरिकताको अधिकार पाइनन् ?

प्रविधिको विकास र डिजिटल हिंसाको प्रभाव

प्रविधिको विकाससँगै हिंसाका स्वरूपहरू झन्–झन् परिष्कृत हुँदै गएका छन्। नेपालमा करिब १ करोड ६० लाख मानिस अनलाइनमा जोडिएका छन् भने १ करोड ४० लाख हाराहारीले सामाजिक सञ्जाल चलाउँछन्। डिजिटल पहुँच बढ्दै जाँदा महिला र किशोरीहरूमाथि अनलाइन दुर्व्यवहारको जोखिम पनि तीव्र रूपमा बढिरहेको छ।

नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार, गत आर्थिक वर्षमा दर्ता भएका साइबर अपराधका घटनाहरूमा महिलाको उजुरीको सङ्ख्या निकै बढेको छ:

वर्ष कुल साइबर अपराधका घटना महिलासँग सम्बन्धित उजुरी बालबालिकासम्बन्धी मुद्दा
गत आ.व. (प्रस्तुत तथ्याङ्कअनुसार) १८,९२६ ७,९२१ ७०६ (अघिल्लो वर्ष १७६ बाट वृद्धि)

डिजिटल हिंसा पितृसत्तात्मक समाजमा हुने लैङ्गिक हिंसाकै प्रतिबिम्ब हो। अनलाइन दुर्व्यवहारका सामान्य स्वरूपहरूमा ‘रिभेन्ज पोर्न’, ‘साइबरबुलिङ’, ‘ट्रोलिङ’, ‘अनलाइन धम्की’, ‘घृणास्पद अभिव्यक्ति’, ‘इमेज मर्फिङ’ र ब्ल्याकमेलिङ सहितका गतिविधिहरूले महिलाहरूलाई निरन्तर प्रताडित गरिरहेको छ। यस्ता घटनाहरूमा सम्बन्ध राम्रो हुँदा आदानप्रदान गरिएका तस्बिर वा भिडियोहरूको दुरुपयोग धेरै देखिन्छ।

अन्तर्राष्ट्रिय तथ्याङ्कले के भन्छ ?

संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको प्रतिवेदन अनुसार:

  • विश्वका ५८ प्रतिशत युवती वा किशोरीले कुनै न कुनै किसिमको अनलाइन दुर्व्यवहार झेलेका हुन्छन्।
  • अधिकांशले १० देखि १६ वर्षकै उमेरमा पहिलो पटक हिंसा भोग्ने गरेका छन्।
  • करिब ७३ प्रतिशत महिला पत्रकारले कार्यक्षेत्रमा अनलाइन हिंसाको सामना गर्नुपरेको छ।

नेपालको विद्यमान कानुनी व्यवस्था (विद्युतीय कारोबार ऐन, २०६३ र मुलुकी अपराध संहिता ऐन, २०७४) मा डिजिटल हिंसाका यस्ता नयाँ स्वरूपको स्पष्ट पहिचान र सम्बोधन गरिएको छैन। यसले महिला तथा किशोरीलाई थप असुरक्षित बनाएको छ।

पुरुष तथा अल्पसङ्ख्यक समुदायमा हिंसा

नेपाली समाजमा महिलाहरू हिंसाको चपेटामा परेको भए पनि पुरुष र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय ले पनि कुनै न कुनै प्रकारका हिंसा भोगिरहेका हुन्छन्। पुरुषहरूलाई असमान रूपले यौनिक अपराधीको रूपमा प्रस्तुत गर्ने, आर्थिक र पारिवारिक दबाब दिने, वैदेशिक रोजगारीमा गएका पुरुषले विभिन्न किसिमका पारिवारिक र आर्थिक हिंसा झेल्नुपरेको अवस्था छ। तसर्थ, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले पनि सम्मानजनक रूपमा बाँच्न पाउनुपर्ने र आरक्षणको व्यवस्था गर्नुपर्ने आवाज निरन्तर उठिरहेको छ।

निष्कर्ष र सुझाव

हिंसा घरभित्रबाट सुरु हुन्छ, तर यसको प्रभाव केवल घरभित्र मात्र सीमित हुँदैन। एउटा महिलामाथि परेको हिंसाले घरको आर्थिक, सामाजिक, मानसिक संरचना नै कमजोर पार्छ। यसले बालबालिकाको भविष्य, समाजको अवस्था र राष्ट्रको समग्र विकासमा दीर्घकालीन प्रभाव पार्दछ।

तसर्थ, राज्यले सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले पाठ्यक्रममा नै समावेश गरेर विद्यालय तहदेखि नै सबैखाले हिंसा विरुद्ध सचेतना फैलाउनुपर्छ। हिंसा विरुद्ध सामुदायिक अभियान सञ्चालन गर्ने कुरामा जोड दिन जरुरी छ। साथै, सामाजिक सञ्जालमा बढ्दो घृणास्पद अभिव्यक्ति र डिजिटल हिंसालाई नियन्त्रण गर्न सूचनाप्रविधि विधेयक तत्काल ल्याउन आवश्यक छ।

हिंसा विरुद्धको आवाज केवल आवाज मात्र होइन, यो परिवर्तनको आधारशिला हो। न्यायको जोड्दार माग र समानताको आकाङ्क्षा हो। ‘हिंसा विरुद्ध बोलौँ, किनकि पीडितको मौनता अपराधीको शक्ति हो।’

(भट्टराई हिंसा र बेचबिखनका पीडित/प्रभावितहरूको उद्धार र पुनर्स्थापनामा सक्रिय छन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?