+
+
WC Series
काठमान्डु गोर्खाज 2025
50/5 (9.1)
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares
जेनजी आन्दोलन :

प्रहरी हत्यादेखि बैंक चोरीसम्म संलग्न देखिए नाबालक, काठमाडौंमै १५ विरुद्ध मुद्दा

जेनजी आन्दोलनमा भएको अपराध, त्यसपछिका घटनाक्रममा समेत नाबालकहरू संलग्न हुन थालेको भेटिएपछि सुरक्षामा चुनौती, बालमनोविज्ञानमा पर्ने असर र आगामी दिनमा हुनसक्ने अपराधको ग्राफसम्म यसले असर पार्ने देखिन्छ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ मंसिर २४ गते १६:४३
२४ भदौमा जेनजी प्रदर्शनकारीले संघीय संसद् भवनमा गरेको आगजनी र प्रदर्शन

२४ मंसिर, काठमाडौं । जेनजी आन्दोलनमा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत असई मिलन राय र जवान उत्तम थापाको प्रदर्शनकारीबाट हत्या भयो । यता प्रहरी प्रभाग कोटेश्वरका सहायक हवल्दार अमृत गुरुङ पनि कुटिकुटी मारिए

प्रहरी हत्यामा प्रत्यक्ष संलग्न भएका १६ जनालाई प्रहरीले पक्राउ गर्‍यो । तीमध्ये १५ जना पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । एक जना भने अहिले पनि प्रहरी हिरासतमा छन् । उनीमाथि अनुसन्धान जारी छ ।

तीन प्रहरी हत्यामा पक्राउ परेका १६ मध्ये २ जना भने नाबालक छन् । जो अहिले पुर्पक्षका लागि कारागार समेत चलान भइसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

कतिसम्म भने प्रहरी हत्यामा पक्राउ परेका एक नाबालक (परिवर्तित नाम २६ परिसर–२२)बाट प्रहरीका बर्दीसम्म भेटिए । ती नाबालकले प्रहरीको युनिफर्म एक जोर, ब्लेजर कोट १ थान, हत्कडी १ थान, हतियार १ थान लुटे । अरु सामान ती नाबालकको कोठाबाट बरामद भए पनि हतियार भने एक जना दाईले लगेको उनले बयान दिएका छन् ।

प्रहरी हत्याका अर्का आरोपित नाबालक परिवर्तित नाम २६ परिसर–२१ ले भनेका छन्, ‘प्रहरीलाई लाट्ठी, रड, ईंट्टा, ढुंगाले पटक–पटक शरीरमा हानी क्षतविक्षत बनाई रक्ताम्य हुने गरी कुटपिट गरी नांगेझार पारेको र भिडियो खिच्दै मार–मार भन्दै कराउने काम गरेको हुँ ।’

महाराजगञ्ज वृत्तका प्रहरी हत्यामा अहिले यी दुवै नाबालक कारागारमा छन् ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ को कार्यालय पनि जेनजी आन्दोलनमा तोडफोड र आगजनी भयो । कार्यालयमा १२ लाख बराबरको क्षति भएको भन्दै प्रहरीमा जाहेरी पर्‍यो । अनुसन्धान गर्दै जाँदा संदिग्धहरू पक्राउ परे । ती मध्ये एक थिए नाबालक । परिवर्तित नाम २६ परिसर २९ का उनी सहचालकको रुपमा काम गर्थे । प्रहरीले भिडियो, तस्वीरमार्फत उनलाई पहिचान गरी पक्राउ गरेर मुद्दा चलायो ।

प्रहरी हत्यादेखि सरकारी कार्यालय तोडफोड र जलाउने काममा नाबालक संलग्न भएका यी तीन उदाहरणका घटना मात्रै हुन् । जेनजी आन्दोलनमा भएका तोडफोड, आगजनी, चोरी जस्ता घटनामा नाबालकको प्रयोग धेरै देखिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको तथ्यांकअनुसार काठमाडौंमा मात्रै अहिलेसम्म ३०७ जनालाई पक्राउ गरेर मुद्दा चलाइएको छ । तीमध्ये १५ जना नाबालक रहेको एसपी भट्टराईले बताए । ‘जेनजी घटनामा जोडिएका ३०७ जना पक्राउ पर्दा १५ जना नाबालक देखिएका छन् । यसले प्रदर्शनमा तथा अपराधमा नाबालकहरूको बढ्दो संलग्नता देखाएको छ,’ एसपी भट्टराईले अनलाइनखबरसँग भने ।

काठमाडौंबाट मुद्दा चलेका १५ नाबालकमध्ये १ जना आपराधिक उपद्रव र चोरी कसुरका अभियुक्त हुन् । ८ जना आपराधिक उपद्रव, २ जना कर्तव्य ज्यान, ३ जना चोरी र १ जना हातहतियार सम्बन्धी कसुरका अभियुक्त रहेको परिसरले बताएको छ ।

जेनजी आन्दोलनकै क्रममा नयाँ बानेश्वरमा रहेको राष्ट्रिय वाणिज्य बैंक लुटपाट भएको थियो । यो बैंक लुटेको आरोपमा दोलखाका २७ वर्षीय दीपक श्रेष्ठ पक्राउ परे । उनले लुटेको रकमले बुलेट मोटरसाइकल किनेकोसम्म पत्ता लाग्यो ।

त्यतिमात्रै होइन यो बैंक लुटपाटमा समेत अर्का नाबालक पनि रहेको खुल्यो । ती नाबालकलाई पनि चोरीको कसुरमा मुद्दा चलाइयो । यो शाखाबाट मात्रै ३८ करोड ४० लाख रुपैयाँ बराबर लुटपाट भएको थियो । बैंकबाट १७ हजार ९ सय ४५ ग्राम सुन र ५ करोड १५ लाख रुपैयाँ नगद लुटिएको थियो ।

जेनजी आन्दोलनपछि पनि माइतीघरमा प्रदर्शन गर्न खोज्दा काठमाडौं प्रहरीले एकै दिन ७६ जनालाई नियन्त्रणमा लिएको थियो । ७६ जना नियन्त्रणमा लिएका बेला १३ जना त नाबालक मात्रै रहेको एसपी भट्टराई बताउँछन् । यसले पछिल्लो समय प्रदर्शनहरूमा नाबालक संलग्न हुन थालेको देखिएको छ ।

जेनजी आन्दोलनमा भएको अपराध, त्यसपछिका घटनाक्रममा समेत नाबालकहरू संलग्न हुन थालेको भेटिएपछि सुरक्षामा चुनौती थपिनुका साथै बालमनोविज्ञानमा पर्ने असर र आगामी दिनमा हुनसक्ने अपराधको ग्राफसम्म यसले असर पार्ने देखिन्छ ।

प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेकाअनुसार जेनजी आन्दोलनमा तोडफोड, आगजनी गरेको आरोपमा अहिलेसम्म देशभरबाट ८५५ जना पक्राउ परेका छन् ।

पक्राउ परेकामध्ये नाबालकहरू सामान्य कसुरमा संलग्न रहेको देखाएमा मुद्दा नचलाई सम्झाई बुझाई गरेर आफन्तको जिम्मा लगाउने गरिएको उनले बताए ।

‘सामान्य अपराधका घटनामा संलग्न देखिएका नाबालकलाई भने मुद्दा चलाएका छैनौं । सम्झाएर आफन्तको जिम्मा लगाउने गरेका छौं,’ काफ्लेले अनलाइनखबरसँग भने, ‘मुद्दै चलाउने प्रकृतिको देखिएमात्रै मुद्दा चलाउन भनिएको छ ।’

काफ्लेकै भनाइलाई आधार मान्ने हो भने प्रहरीले सामान्य घटनामा पक्राउ परेका नाबालकलाई अहिले मुद्दा चलाइएको छैन । नत्र नाबालक संलग्न संख्या अझै धेरै बढ्ने देखिन्छ ।

देशभर पक्राउ परेका ८५५ जनाको उमेर समूहगत विवरण पूरा संकलन नभएकाले देशभरबाट कति नाबालक पक्राउ परे र मुद्दा चले भन्ने विवरण अहिले प्राप्त भइनसकेको उनले बताए ।

सबैभन्दा बढी १५ देखि २४ वर्ष उमेर समूह

परिसर काठमाडौंको तथ्यांकअनुसार पक्राउ परेका ३०७ मध्ये सबैभन्दा १५ देखि २४ वर्ष उमेर समूहका व्यक्तिहरू छन् । काठमाडौंबाट पक्राउ परेका ३०७ मध्ये एक तिहाई भन्दा बढी १३७ जनाको उमेर १५ देखि २४ वर्षसम्मको पाइएको एसपी भट्टराई बताउँछन् ।
जसमा अभद्र व्यवहारको कसुरमा ३ जना, आपराधिक उपद्रव र चोरीमा ४ जना, आपराधिक उपद्रवमा ८१ जना, कर्तव्य ज्यानमा ११ जना, चोरीमा १० जना, ज्यान मार्ने उद्योगमा २ जना, हातहतियार सम्बन्धी कसुरमा २६ जनालाई मुद्दा चलाइएको छ ।

जेनजीको आन्दोलन भनिएकाले पनि यो उमेर समूहका व्यक्ति बढी संलग्न रहेको हुनसक्ने प्रहरीको आँकलन छ ।

त्यसपछि सबैभन्दा बढी २५ देखि २४ वर्ष उमेर समूहका छन् । यो समूहका १०४ जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको छ ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?