२४ मंसिर, काठमाडौं । नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चुनिएर आएकाहरूको चहलपहल केन्द्रीय मुख्यालय च्यासलमा बढेको छ। प्रतिनिधिहरूको मुख्य चासो मूल नेतृत्वप्रति नै देखिन्छ ।
तर, अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्य ईश्वर पोखरेललाई प्रतिनिधिहरूले च्यासलमा भेटेका छैनन् । बुधबार ओली गुन्डुमै भेटघाटमा व्यस्त थिए भने पोखरेल सम्पादकहरूसँग अन्तरसंवादमा थिए ।
नेताहरूका अनुसार, आगामी महाधिवेशनबाट अध्यक्ष पदका उम्मेदवार रहेका ओली र पोखरेल च्यासलमा भेटिँदैन पनि ।
ओलीले गुन्डुबाटै महाधिवेशनका गतिविधि चलाइरहेका छन् । पोखरेलले मदन भण्डारी फाउन्डेशनको हिरक जयन्ती मनाउने प्रयोजनका लागि भाडामा लिइएको थापागाउँस्थित एक घरलाई सम्पर्क कार्यालय बनाएका छन् ।
जुन भवनको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसहितका नेताहरूले गरेका थिए । त्यही भवनबाट पोखरेलले महाधिवेशनको तयारी गरिरहेका मात्रै होइनन्, सबैजसो गतिविधि त्यहीँबाट भइरहेको निकटस्थहरू बताउँछन् ।
प्रतिनिधिको दौडधुप, च्यासल-गुन्डु-थापागाउँ
ओली र पोखरेललाई भेट्न निवास र सम्पर्क कार्यालयमा जानुपरेकोमा सन्तुष्ट देखिएनन्, च्यासलमा भेटिएका नेता–कार्यकर्ता ।
‘नेतृत्वको इच्छा राख्नु स्वाभाविक हो । तर मुख्यालय च्यासलमै बसेर शक्ति संघर्ष गरेको भए हुने हो । कार्यकर्ताको भावना बुझ्न पनि नेतालाई सहज हुने थियो,’ सिन्धुलीबाट प्रतिनिधि बनेर आएका गोविन्दलाल माझीले सुनाए ।
उनी मात्र होइन, च्यासल पुगेका अधिकांश प्रतिनिधि र शुभेच्छुकको धारणा साझा छ ।

इलामबाट आएकी सरस्वती राईले गुन्डुमा बिहीबार बिहान अध्यक्ष ओलीसँग भेट्न सयंम लिएको सुनाइन् ।
‘भेट्नु पर्ने च्यासलमै हो । तर व्यक्तिगत भेटघाट पनि हुन्छ । गुन्डु जाने र सम्पर्क कार्यालय बनाउने विषयलाई अन्यथा लिनु हुँदैन,’ उनले भनिन्, ‘गुन्डुमा भोलि समय लिएको छ । नेताको कुरा बुझ्न थापागाउँ पनि जानुपर्छ ।’
सम्पर्क कार्यालय बनाउने विषय एमालेमा संस्कारको रुपमा पनि बुझ्छन् प्रतनिधिहरू ।
‘पार्टीमा शक्ति संघर्ष हुन्छ । पक्ष–विपक्ष हुन्छ । विधान महाधिवेशन भइसकेको छ । यो नेतृत्व चयन गर्ने महाधिवेशन हो । आ–आफ्नो सचिवालय बनाउने अभ्यास एमालेको राजनीतिक शैली हो,’ मुगुबाट प्रतिनिधि भएर आएका जयबहादुर नेपालीले भने ।

जेनजी आन्दोलनमा बालकोट निवास जलेपछि ओली भक्तपुरको गुन्डु सरेका हुन् । उनले त्यहीबाट महाधिवेशनको रणनीति बनाइरहेका छन् । उनले आफू निकटका नेता कार्यकर्तासँगको भेटघाट र जमघटलाई बाक्लो बनाएका छन् । ‘पार्टी अध्यक्षको निवासमा पहिले पनि खाली हुँदैनथ्यो । अहिले महाधिवेशनको संघारमा त स्वभाविकै हो,’ युवा नेता सुनिता बरालले भनिन् ।
यता पोखरेलको सम्पर्क कार्यालय थापागाउँमा पनि नेता– कार्यकर्ताको भीड लाग्छ । प्रायजसो पोखरेल दिउँसो ४ बजेपछि सम्पर्क कार्यालयमा पुग्छन् । उनी पुगेपछि नेता तथा कार्यकर्ताको लर्को लाग्छ ।
‘मदन भण्डारीको हिरक जयन्ती मनाउन खोलिएको कार्यालय हो । तर ईश्वर कमरेडले उम्मेदवारी घोषणा गरेपछि महाधिवेशन केन्द्रित काम भइरहेको छ । यो केही दिनको लागि मात्र हो । पार्टीको काम केन्द्रीय कार्यालयबाट नै हुने हो । भेटघाट र छलफल यहाँ भइरहेको छ,’ मदन भण्डारी हिरक जयन्ती कार्यालय संयोजक कृष्ण दाहालले भने ।
पोखेरलको सम्पर्क कार्यालयबाट सञ्चार संयोजन र उम्मेदवारसँग सम्बन्धित गतिविध भइरहेको छ । पोखरेलले आफ्नो टीम बनाउने र छलफल गर्ने काम यही कार्यालयबाट गरिरहेका छन् । उनी राति ७–८ बजेसम्म सम्पर्क कार्यालयमै हुन्छन् ।

यसरी गुन्डु र थापागाउँबाट शक्ति संघर्ष चलाएकोमा प्रतिनिधि सहमत छैनन् । तर एमाले केन्द्रीय कार्यालयले भने बाहिर सम्पर्क कार्यालय बनाएकोमा नेताको बचाउ गरेको छ । मुख्य कार्यालय च्यासलमै रहेको, तर नेताहरूले भेट्ने/बस्ने ठाउँ बनाउनुलाई स्वाभाविक ठान्छन्, संगठन विभाग प्रमुख काशीनाथ अधिकारी ।
‘च्यासलमा निकै सत्साह बढेको छ । नेता–कार्यकर्ता र प्रतिनधिको भिड बढेको छ । नेताहरूको उपस्थिति च्यासलमै छ । तर बस्ने भेटघाट गर्ने ठाउँ बनाउनु स्वाभाविक हो,’ उनले भने, ‘पार्टी अध्यक्ष र वरिष्ठ नेता पनि च्यासल आइरहनु भएको छ । भोलि पनि आउने कार्यक्रम छ ।’
नेतृ बराल अध्यक्ष ओलीको सम्पर्क कार्यालय बाहिर नरहेको दाबी गर्छिन् ।
‘अध्यक्षज्यूको सबै काम केन्द्रीय कार्यालयबाट हुन्छ । बाहिर छैन,’ उनले भनिन्, ‘प्रचार प्रसारको काम प्रचार विभागले नै गरिरहेको छ ।’
एमालेका अन्य नेताहरूका अनुसार, अध्यक्ष ओलीको प्रचार प्रसारका काम गुन्डुबाट नै भइरहेको छ ।
पोखरेलको सचिवालयले भने थापागउँबाट पोस्टर, भिडियो र अपिल गर्ने लगायत काम गरिरहेको छ । ‘गुन्डुतिरको जस्तो ठूलो सचिवालय छैन । सानो टिमले प्रचार प्रसारको सामग्री बनाइरहेको छ,’ पोखरेलको सचिवालयमा रहेका एक सदस्यले भने ।
माफी मागेर प्रतिनिधि बन्न गुन्डुमा लर्को
महाधिवेशनमा मनोनीत कोटाबाट प्रतिनिधि बनाउने काम अझैं टुंगिएको छैन । प्रतिनिधि हुन नपाएकाहरू ओलीसँग लबिङ गर्न गुन्डु धाइरहेका छन् । ‘प्रतिनिधि मनोनीत गर्नुपर्नेछ । प्रतिनिधि हुन नपाएकाहरू गुन्डु पुगिरेका छन्,’ ओली निकटका एक सदस्यले सुनाए ।
ती सदस्यका अनुसार जेनजी आन्दोलनमा एमाले र ओलीविरुद्ध बोलेका र सामाजिक सञ्जालमा लेखेकाहरू गुन्डु पुगेर माफी मागिरहेका छन् । जेनजी आन्दोलनमा फरक मत राखेकालाई एमाले केन्द्रीय बैठकले नै यथास्थितिमा फर्काएर काम गर्न दिने निर्णय गरिसकेको छ ।
तर ओलीसँग सम्बन्ध सुधार गर्न केही नेता–कार्यकर्ता गइरहेको स्वीकार गर्छिन् नेतृ बराल । ‘नैतिक रुपमा नेतृत्वसँग कन्फिडेट्स बिल्डिङ गर्न गएको कुरा साँचो हो,’ उनले भनिन् ।
प्रतिक्रिया 4