+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

‘भजन क्लबिङ’मा झुम्दै युवा

मंसिरे जाडो बिर्साउने त्यो साँझमा रम्न जानेहरू गाउँबाट शहर छिरेकाहरू मात्र थिएनन् । त्यहाँ नायिका सृष्टि श्रेष्ठदेखि गायक उज्ज्वल सागरसम्मको उपस्थितिले साँझ साँच्चै गर्माएको थियो ।

कौशल काफ्ले कौशल काफ्ले
२०८२ मंसिर २५ गते ११:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यज्ञशालाले युवामा संस्कृति र आध्यात्मिकता जगाउन २०२२ देखि भजन साँझ आयोजना गर्दै आएको छ।
  • गत शनिबार प्रज्ञा प्रतिष्ठानको डबलीमा नवौं भजन साँझमा करिब ३५० जना सहभागी थिए।
  • भजन साँझलाई मानसिक स्वास्थ्य र सांस्कृतिक संरक्षणको वैकल्पिक माध्यम बनाइएको छ।

२५ मंसिर, काठमाडौं । कल्पना गर्नुस्, तपाईं क्लबमा होइन, भजन साँझमा रमाउँदै हुनुहुन्छ । साउन्ड सिस्टमबाट आएका मनमोहक भजनले मनलाई शान्त पारिरहेको छ । वरिपरि युवाहरू त्यसैमा झुमिरहेका छन् ।

गत शनिबार यज्ञशालाको नवौं भजन साँझमा यस्तै दृश्य देखिए । गाउँको जस्तै भजन, कीर्तनको स्वादमा रमाउन उनीहरू कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डबलीमा पुगेका थिए ।

‘धेरै भएको थियो यस्तो माहोलमा बस्न नपाएको, गाउँकै न्यास्रो मेटियो’ एक जना दर्शकले भने, ‘पुराना संस्कृति सम्झाउने व्यवस्थित र आधुनिकता मिसिएका यस्ता साँझहरू सधैं भइदिए !’

मंसिरे जाडो बिर्साउने त्यो साँझमा रम्न जानेहरू गाउँबाट शहर छिरेकाहरू मात्र थिएनन् । त्यहाँ नायिका सृष्टि श्रेष्ठदेखि गायक उज्ज्वल सागरसम्मको उपस्थितिले साँझ साँच्चै गर्माएको थियो ।

सोही साँझमा भेटिए, गुरु चालिसे । उनी भ्याएसम्म यज्ञशालाले आयोजना गरेको भजन साँझमा पुगेका हुन्छन् । जहिल्यै काम–काम भन्नेहरूलाई यस्तो साँझले राहत दिएको उनको अनुभव छ । उनी भन्छन्, ‘म हरेक भजन साँझमा आइरहेको हुन्छु । यो कार्यक्रमले एकदमै आनन्दित बनाउँँछ ।’

युवाहरू हाम्रो संस्कृतिबाट किन टाढिंदैछन् ? निर्जन अधिकारीलाई यही प्रश्नले यज्ञशालाको संस्थापक बन्न प्रेरित गर्‍यो । ‘म आफैं आध्यात्मिकता रुचाउने मान्छे भएकाले यसरी सोचें र टिम बनाएर काम थाल्यौं’, उनी सम्झन्छन् ।

सन् २०२२ मा यज्ञशाला शुरु गर्नुको कारण खुलाउँदै निर्जनले थपे, ‘युवाहरू आफ्नो संस्कृति र परम्परासँग टाढा हुँदै गएको देखेपछि यो क्षेत्रमा युवाको रुचि कसरी जगाउने र संस्कृति बचाउने भन्ने सोच नै यसको शुरुआतको आधार हो ।’

आफ्नै रीतिरिवाजप्रति युवाहरूको ध्यान तान्न उनीहरूले उपाय लगाए– पूजा र भजनलाई युवा–अनुकूल बनाउने । त्यसका लागि मूल मर्म नबिगारी पूजालाई आधुनिक तरिकाले गर्ने बनाए ।

विभिन्न अध्ययनले युवामा ‘स्ट्रेस लेभल’ बढ्दै गएको देखाउँछ । इन्टरनेट, सामाजिक सञ्जल र कामको दबाबले उनीहरू थकित नहुने कुरै भएन । निर्जन भन्छन्, ‘क्लब र डिस्को जस्ता विकल्प त छन्, तर त्यसले हाम्रो संस्कृति बोक्दैन । त्यसैले संस्कृति पनि टिकाउने र क्लबिङ अनुभव पनि दिने गरी भजन साँझको अवधारणा ल्यायौं ।’

यसको आर्थिक पाटो पनि छ । भजन गाउनेहरूको अर्थोपार्जन राम्रो छैन । सम्बन्धित संगीतकर्मीहरूका अनुसार यो क्षेत्रमा लागेर पैसा कमाउन सकिरहेका छैनन् । जसले विस्तारै त्यस्ता सिर्जनाहरू हराउँदै जाने जोखिम बढाएको छ । निर्जन भन्छन्, ‘संस्कृति संरक्षण, आध्यात्मिकता र मानसिक स्वास्थ्यसँगै भजन संगीतकर्मीलाई राम्रो कमाइ हुने प्ल्याटफर्मकै खाँचो देख्यौं ।’

१ जनवरी २०२४ मा अंग्रेजी नयाँ वर्षकै दिन उनीहरूले यज्ञशालाकै हलमा करिब ५० जना सहभागीमाझ भजन साँझ आयोजना गरे । त्यसबेला सबै खर्च यज्ञशालाले नै गर्‍यो । कलाकारहरूलाई पारिश्रमिक, राम्रो साउन्ड, स्पिकर, सजावटको व्यवस्थापनमा खर्च भयो ।

यज्ञशालाले शुरुआतदेखि नै यसलाई व्यावसायिक बनाउन खोज्यो । केवल रमाइलो मात्र नभएर अर्थपूर्ण र आकर्षक बनाउन मिहिनेत गरेको देखिन्छ । शुरुमा यज्ञशालाले नि:शुल्क प्रवेशको व्यवस्था गरेको थियो । पहिलो भजन साँझमा ५० जना दर्शक आएका थिए, दोस्रोमा दोब्बर भए ।

दोस्रो प्रयासमा १०० जना आएपछि टिमलाई झन् उत्साही बनायो । विभिन्न नयाँ प्रयोग भजन साँझमा गर्न थाले । माइक थप्ने, फूलहरू प्रयोग, निमन्त्रणा कार्ड डिजाइन, सोसल मिडियामा प्रमोट गर्ने आदि सबै गर्न थाले । जसरी शहरका आकर्षक क्लबले गर्छ, त्यसरी नै मानिसहरूलाई विशेष निम्ता गर्न थाल्यो । माहोल पनि त्यस्तै बनायो ।

‘पारासाइकोलोजी’ पढेका निर्जनका अनुसार राम्रो संगीतले मान्छेलाई निको पार्छ । तनाव घटाउने एउटा राम्रो उपाय हो । त्यसैले भजन साँझलाई उनी मानसिक स्वास्थ्य उपचारको वैकल्पिक तरिकाको रूपमा देख्छन् ।

‘परामर्श पश्चिमा विधि हो, तर हाम्रो संस्कृतिमा कीर्तन र भजन नै हिलिङका पुराना तरिका हुन्’ निर्जनले भने, ‘त्यसैले यो हाम्रो बदलिंदो समाजको लागि झन् अत्यावश्यक कुरा हो । त्यसबाहेक यो सामाजिक एकता र संस्कृतिलाई प्रोत्साहन गर्दै युवालाई आध्यात्मिकतामा जोड्ने सेतु पनि ।’

यज्ञशालाले नवौं संस्करणसम्म आइपुग्दा बल्ल टिकटको व्यवस्था गर्‍यो, प्रतिव्यक्ति ५०० रुपैयाँ । यो एउटा नयाँ प्रयोग पनि थियो । आयोजकलाई पैसा तिरेर मान्छे आउलान् कि नआउलान भन्ने नलागेको होइन । तर, गत शनिबार भने करिब ३५० जना सहभागी प्रज्ञा डबलीमा आइपुगे, भजन साँझमा झुम्न ।

यसअघि यज्ञशालाले आफ्नै हलमा कार्यक्रम गर्दै आएको थियो । प्रज्ञामा आएकाहरूले अर्को साँझ कहिले भनेर थप रुचि देखाएको निर्जन बताउँछन् । ‘हामीले सोचेको भन्दा धेरै राम्रो भयो । युवाहरू आध्यामिकतामा  रुचि राख्छन् भन्ने आँकडाले देखाएको थियो । यो इभेन्टले पुष्टि गर्‍यो’ उनले भने ।

निर्जनको व्यक्तिगत अनुभवले पनि यसमा सुनमा सुगन्धको काम गरेको देखिन्छ । उनी क्लब र विभिन्न ‘फेन्सी नाइट डिनर’का भुक्तभोगी हुन् । ‘क्लबहरूमा शुरुमा मजा आउँछ, तर पछि दिक्क लाग्छ । मान्छेलाई अन्तिममा शान्ति चाहिन्छ’ निर्जनले अनुभव साटे, ‘भजनले मलाई पर्सनल हिलिङ दियो ।’

नवौं भजन साँझकी गायिका निशु शर्मा संयोगले यसमा जोडिन आएकी रहिछन् । सामाजिक सञ्जालमा भजन साँझका भिडियोहरू देख्दा नै उनलाई त्यसमा सहभागी हुने रुचि जागेको रहेछ । तर, अवसर यस्तो आयो, उनी एकैपटक यसमा गाउन पुगिन् । आफू झुम्ने सपना देख्दादेख्दै प्रज्ञा डबलीमा अरूलाई झुमाउने अवसर पाइन् ।

‘रवि भन्ने मेरो साथी भजन साँझकै टिममा हुनुहुन्थ्यो । उहाँले गाउन अफर गरेपछि निकै खुसी भएँ’ निशु उत्साही सुनिइन्, ‘कहाँ सुन्नलाई भए पनि जान्छु भनेकी म, एकैपटक गाउन गएँ । यज्ञशालाले हामी जस्ता भजन गाउनेहरूलाई प्ल्याटफर्म पनि दिइरहेको छ ।’

निशु यज्ञशालाको टिममै जोडिएकी छन् । ‘यसरी नयाँ–नयाँ प्रतिभालाई एउटा प्ल्याटफर्म उपलब्ध गराउने र परम्परागत राम्रा संस्कृतिलाई व्यवसायीकरण गर्ने यसको सपना हो’ निर्जन भन्छन्, ‘हामीले कोही मान्छे भजन गाएर सहजै बाँच्न सकोस् । अन्य संगीतमा जस्तै यसलाई एउटा करिअरको रूपमा लिनसकोस् । यो पनि हाम्रो सपना हो ।’

नवौं संस्करणसम्म आइपुग्दा जति रोचक देखिए पनि यसको शुरुआत सहज थिएन । जब यसरी भजन साँझ शुरु गर्ने विचार आफन्तलाई सुनाए, आफ्ना समूहभित्रै निर्जन ट्रोलमा परे । यज्ञशाला स्थापना गर्दा नै ‘यो पागल भयो, भजन–कीर्तनतिर लागेछ’ भन्ने जस्ता टिप्पणी सुन्नुपर्‍यो ।

तर, दुई वर्षयता भने प्रतिक्रिया फरक छ । मान्छेहरूले सकारात्मक दृष्टिले हेर्न थालेका छन् । भजन साँझको प्रभाव विस्तार हुँदै गएको छ ।

यसरी प्रत्येक कार्यक्रममा प्रगति देखाइरहेको भजन साँझमा निर्जनसहितका टीमलाई सधैं साथ दिइरहेका छन्, रवि पण्डेले।

पाण्डेले यसभित्र सबै व्यवस्थापनको काम हेर्छन् । साउन्ड सिस्टमदेखि अन्य कारण दर्शकले जति आनन्द लिन पाउँछन्, यसमा रविसहितका अन्य सहकर्मीको ठूलो हात रहेको निर्जनको भनाइ छ ।

साँझ वा बेलुकीसम्म रुचि भएर पनि क्लबतिर जान नसक्नेका लागि भजन साँझ उपयोगी बनेको निर्जन बताउँछन् । उनी भन्छन्, ‘स–परिवार ‘भजन क्लबिङ’को लागि आउने बाटो बनेको छ । परिवार र समाजको सुन्दर बोन्डिङ बनेको छ । एकदमै खुसी छु ।’

निर्जनले सम्झिरहने एउटा मेसेज यस्तो छ, ‘म दुई महिनापछि घरबाट निस्केर भजन साँझ आएँ । धन्यवाद दाइ !’

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?