News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रिमियर लिग २०२५ को काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबीचको खेलमा नो बल र डेड बल एउटै बलमा दिइएको दुर्लभ घटना भयो।
- १२औं ओभरको चौथो बलमा राशिद खानको बल चिप्लिएर माथि गयो र पिचबाहिर बाउन्स हुँदा नो बल र डेड बल दुवै दिइयो।
- एमसीसीको नियम २१.८ अनुसार नो बल र डेड बल एकैपटक दिन सकिने उल्लेख छ र जोराले लिएको रन मान्य भएन।
२५ मंसिर, काठमाडौं । हामीले क्रिकेटमा हाइटको नो बल भएको त देख्दै आएका छौं । कहिलेकाहीँ बलरको हातबाट बल चिप्लिएर निकै माथि जाँदा पनि नो बल भएको देखेकै हो ।
अनि बलरले बलिङ गर्दागर्दै रनअपबाट फर्कँदा, ब्याटले हानेको बल स्पाइडर क्यामेरामा लाग्दा वा बल एकपटकभन्दा बढी बाउन्स भएमा पनि डेड बल दिइन्छ ।
तर नेपालमा भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ अन्तर्गत बुधबारको खेलमा भने दुर्लभ दृश्य देखियो । काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबीचको इलिमिनेटर खेलमा नो बल र डेड बल एकैपटक भयो, एउटै बलमा ।
काठमान्डुले दिएको ११२ रनको लक्ष्य पछ्याइरहेको लुम्बिनीले ब्याटिङ गर्दा १२औं ओभरको चौथो बलमा यस्तो दुर्लभ प्रसंग देखियो ।
राशिद खानले सन्दीप जोरालाई बलिङ गरिरहेका थिए । सोही क्रममा राशिदको हातबाट बल चिप्लियो । बल निकै माथि गयो अनि पिचबाहिर बाउन्स हुने अवस्थामा थियो । जोराले पिचकै बाहिर गएर बल प्रहार गरे अनि एक रन लिए ।
यस्तोमा अम्पायरले धेरै समय लिएर चेक गरे । नो बल दिए, अनि डेड बल पनि दिए । यसले केहीबेर दर्शक देखि खेलाडीसम्म आश्चर्यमा परेका थिए ।
अघि एक रन लिएपनि अर्को बलमा फेरि जोरा नै आएका थिए । यसको अर्थ अघि लिइएको १ रनको मान्यता दिइएन।
यहाँनेर मेरिलिबोन क्रिकेट क्लब एमसीसीको ल २१.८ लागू भएको छ । यो नियमले दुई प्रसंगको व्वाख्या गरेको छ जहाँ नो बल र डेड बल दुवै एकैपटक दिइन्छ ।
यदि बल ब्याटर भएको ठाउँमा नआइपुग्दै पिचमै रोकिएको अवस्थामा अथवा बल पिचभन्दा बाहिर गएर ब्याटरले पिच छाडेर खेल्नुपर्ने अवस्था भएमा अम्पायरले नो बल दिने र लगत्तै डेडबल पनि दिने उल्लेख छ ।
यही नियम अनुसार जोराले कुदेर लिएको १ रन मान्य भएन । नो बल भने भयो ।

एनपीएलका लागि अनलाइनखबरका क्रिकेट एक्स्पर्ट विराटजंग रायमाझीसँगको कुराकानीमा एक अम्पायरले पनि यही नियम प्रयोग भएको पुष्टि गरे ।
यस्तै यहाँनेर २५.८ पनि लागू भएको छ जसले ब्याटरले पिचबाहिर गएर बल प्रहार गर्न नपाउने भनेर पनि उल्लेख गरेको छ । पिचमा केही हदसम्म रहिन्जेलसम्म शट खेल्न पाइने तर पिचभन्दा बाहिर गएमा रन पनि मान्य नहुने र नो बल पनि दिइन्छ ।
यस्तो प्रसंग एनपीएलमा पहिलोपटक भएको हो भने कम्पिटेटिभ क्रिकेटमा पनि यस्तो दृश्य सम्भवत: देखिएको छैन ।
प्रतिक्रिया 4