२६ मंसिर, काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले आम नागरिकलाई सुशासनको प्रत्याभूति हुनेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शुक्रबार अपराह्न सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री भण्डारीले श्रम क्षेत्रमा देखिएको संगठित अपराधको जालो तोडन आफूले कठोर कदम चाल्ने घोषणा समेत गरे ।
स्पेसल टाक्सफोर्स नै बनाएर सो काम आफूले गर्न चाहेको उनको भनाइ थियो ।
मन्त्री भण्डारीले आफूले लामो भाषण नभई कामै गरेर देखाउने अठोट लिएको बताए ।
‘संगठित किसिमका जति पनि गिरोहहरू छन् । तिनीहरूलाई पक्कै कठोर कारबाही गर्नुपर्छ । र, हामीले जुन मिडियामा देखिराखेका छौं । यो जालो तोडनै पर्छ । यसका लागि एकखाले मेरो अनुभवले काम गर्छ भन्ने मलाई लागि राखेको छ । यसका लागि सहकार्य गर्न सम्बन्धित गृह प्रशासन र प्रहरीका साथीहरूसँग पनि मैले सहकार्य गर्नुपर्ने हुन्छ,’ उनले भने ।
मन्त्री भण्डारीले गृह मन्त्रालयको समन्वयमा आफूले श्रम सम्बन्धी अपराध अनुसन्धानको कामलाई पनि प्राथमिकताका साथ अघि बढाउने बताए ।
प्रतिक्रिया 4