+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

भीमदत्तमा पानीले ल्याएको खुसीयाली

धारामा पानी आउनु कसैका लागि सामान्य मात्रै हुन सक्छ । तर, निताका लागि भने यो विशेष क्षण हो । किनभने, उनीसँग पानीका लागि गरिएको १६ वर्ष लामो संघर्षको कथा जो छ ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८२ मंसिर २८ गते ८:००
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भीमदत्त नगरपालिकाको पूर्णागिरि खानेपानी आयोजनाले १ हजार ४ सय घरधुरीमा सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गरेको छ।
  • यो आयोजना नेपाल सरकार र एशियाली विकास बैंकको संयुक्त लगानीमा सन् २०२२ मार्चमा सुरु भई २०८२ असोजमा सम्पन्न भएको हो।
  • यसले करिब २८ हजार ६ सय मानिसलाई लाभान्वित गर्ने अनुमान छ र पानीको अभावमा रहेका समुदायको जीवनस्तर सुधार गर्ने लक्ष्य राखेको छ।

२८ मंसिर, भीमदत्त (कैलाली) । कैलाली भीमदत्त नगरपालिका–७ हल्दुखालको राधाकृष्ण टोलकी निता धामी आँगनमा जोडिएको नयाँ धारामा एक सातादेखि निरन्तर आइरहेको पानी देखेर दंग छिन् ।

धारामा पानी आउनु कसैका लागि सामान्य मात्रै हुन सक्छ । तर, निताका लागि भने यो विशेष क्षण हो । किनभने, उनीसँग पानीका लागि गरिएको १६ वर्ष लामो संघर्षको कथा जो छ ।

कञ्चनपुर दैजीबाट विवाह गरेर हल्दुखाल आएदेखि नै पानी अभाव उनको दैनिकी निकै चुनौतीपूर्ण बनाएको थियो । माइतीमा पानीको दु:ख नभोगेकी उनलाई घरको कामकाज, परिवारको हेरचाह र विशेषगरी पानीको जोहो गर्नु जीवनकै एउटा ठूलो हिस्सा बनेको थियो ।

विवाह गरेर उनी हल्दुखाल आउँदा घरमा १२–१३ जनाको संयुक्त परिवार थियो । सासू–ससुरा, देवर–जेठाजु लगायत सबै सदस्यका लागि पानीको आवश्यकता पूर्ति गर्ने जिम्मेवारी महिलाकै काँधमा हुन्थ्यो । यति ठूलो परिवारका लागि पानीको जोहो गर्ने काम पक्कै सहज थिएन ।

राधाकृष्ण टोलवासीको पानीको मुख्य स्रोत अर्को गाउँ तिलाचौरबाट आउने धारा थियो । तर, यो धाराको पानी कहिल्यै भरपर्दो भएन ।

‘त्यसको सही समय थिएन, कहिले दिउँसो आउँथ्यो, कहिले साँझ, कहिले बिहान, फेरि कहिले आउँदै आउँथेन,’ निता भन्छिन्, ‘झनै समस्या त वैशाख, जेठ र असार महिनामा हुन्थ्यो, जब धारामा पानी पूरै सुक्थ्यो ।’

निता धामी

धारामा पानी नआउँदा बोरिङको सहारा लिनुपर्थ्यो । तर, बोरिङ चलाउन डिजेल चाहिन्थ्यो । डिजेल किन्न महेन्द्रनगर बजारसम्म आधा घण्टाको यात्रा गर्नुपर्थ्यो, जुन त्यतिबेलाको कच्ची सडक र कम विकासका कारण निकै गाह्रो थियो । डिजेल पनि सधैं सजिलै पाइँदैनथ्यो । र, नपाइएका बेला बोरिङ पनि बन्द हुन्थ्यो ।

जब धारा र बोरिङ दुवै चल्दैनथ्यो, पानीका लागि गाउँमा अरूको निजी बोरिङ, कुवा वा खोला खोज्दै आधादेखि एक घण्टासम्म पैदल हिँडेर जानुको विकल्प थिएन ।

डोकोमा गाग्री बोकेर, कम्मर भाँचेर पानी ल्याउनु हरेक दिनको नियति थियो । ‘कयौँ दिन त मैले पनि पानी बोकेर ल्याएँ,’ निता सम्झिन्छिन्, ‘मेरो सासूआमाले झन् आफ्नो पालामा डेढ–दुई घण्टा लगाएर पानी बोकेको  सुनाउनुहुन्छ ।’

त्यहाँका बासिन्दाको दिनभरिको अधिकांश समय खाना पकाउने, नुहाउने, लुगा धुने, शौचालय प्रयोग गर्ने र गाईवस्तुलाई खुवाउन पानीको जोहोमै बित्थ्यो । लुगा धुनुपर्ने भए सातामा एक पटक बोरिङ चलेको बेलामात्र धुन पाइन्थ्यो, नत्र फोहर लुगा थुपार्नुको विकल्प थिएन । महिलाहरूले महिनावारीका समयमा सरसफाइका लागि पानी नहुँदा थप समस्या झेल्नुपरेको उनी सुनाउँछिन् ।

अनि, भयो परिवर्तन

अब भने हल्दुखालमा नयाँ खानेपानीको धारा जडान भएपछि पानीको समस्या समाधान भएको छ । पूर्णागिरि खानेपानी आयोजना अन्तर्गत निताले ७ हजार ५ सय रुपैयाँ तिरेर मिटर जडान गरिन् ।

भीमदत्त नगरपालिकाका वडा नम्बर ६ र ७ का बासिन्दालाई पानीको सहज पहुँचका लागि पूर्णागिरि सहरी खानेपानी तथा सरसफाइ आयोजना यसै वर्ष अक्टोबरमा सफलतापूर्वक सम्पन्न भइसकेको छ ।

आयोजनाले राधाकृष्ण टोल लगायत क्षेत्रमा रहेका १ हजार ४ सय घरधुरीमा प्रशोधित र सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गरेको छ, जसबाट करिब २८ हजार ६ सय मानिस लाभान्वित हुने अनुमान  छ ।

१८ मंसिरदेखि घरमै नियमित पानी आउने भएपछि निताको खुसीको सीमा छैन । अब उनले पानी बोक्न, खोज्न र त्यसको जोहोमा खर्च हुने अमूल्य समय अन्य महत्त्वपूर्ण काममा लगाउन पाइरहेकी छिन् ।

नेपालमा जलस्रोतको प्रचुरता भए तापनि भौगोलिक विकटता, अपर्याप्त पूर्वाधार, बढ्दो प्रदूषण र अव्यवस्थित सहरीकरणका कारण धेरै समुदायहरू स्वच्छ पानीबाट वञ्चित छन् ।

ग्रामीण भेगका समुदायहरू लामो समयदेखि नदी, खोला र असुरक्षित इनारमा निर्भर रहँदै आएका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार ५७ प्रतिशत घरपरिवारले पाइप वा धाराको पानी प्रयोग गरे तापनि सुरक्षित रूपमा व्यवस्थित पिउने पानीको पहुँच दुई दशकअघिको २४ प्रतिशतबाट अहिले १६ प्रतिशतमा झरेको छ । यसका कारण पानीजन्य रोग, विशेषगरी दुर्गम क्षेत्रमा अझै पनि व्यापक रूपमा फैलिएका छन् ।

शारदाको मुहारमा पानीको चमक

निता झैं सोही टोलकी शारदा धामीको मुहारमा पनि धारामा दिनहुँ पानी आउने भएपछि एउटा अनुपम खुसी छचल्किरहेको छ ।

‘अब दशकौंसम्म पानीका लागि भोगेका दु:खका दिनहरू आजबाट साँच्चिकै बितेछन् भन्ने लागेको छ,’ उनी सुनाउँछिन्, ‘पानीको लामो र निरन्तर संघर्ष सकिएको अनुभव हुँदैछ, यहाँ त चिसो पानीका लागि घरघर भौँतारिनु पर्थ्यो, झन् वैशाख–जेठको चर्को गर्मीमा त पानीका लागि ज्यादै समस्या भोगियो ।’

यसअघिका दिनमा उनले घरमा दुई–चार लिटरका ड्रममा पानी जम्मा गरेर त्यसैलाई मितव्ययी ढंगले चलाउनुपर्थ्यो । लुगा धुन, नुहाउन, गाईवस्तुलाई खुवाउन पर्याप्त पानी पुर्‍याउनु सधैं एउटा चुनौती बनेर रहन्थ्यो ।

शारदा धामी

‘खेतमा जमेको पानीले पनि लुगा धुनुपर्थ्यो,’ उनले ती दिन सम्झिइन्, ‘जहाँ जीवनका न्यूनतम आवश्यकता पूरा गर्न पनि प्रकृतिमा निर्भर हुनुपर्थ्यो ।’

तर, अहिले पूर्णागिरि सहरी खानेपानी आयोजनाले घरघरमा धारा जडान गरेपछि शारदाको जीवनमा साँच्चै परिवर्तन आएको छ । ‘आजदेखि दिनभरि पानी आउँछ भनेपछि खुसी लाग्या छ,’ उनी भन्छिन् ।

आयोजनाको पृष्ठभूमि र कार्यान्वयन

पूर्णागिरि सहरी खानेपानी तथा सरसफाइ आयोजना नेपाल सरकार र एसियाली विकास बैंक  (एडीबी) को संयुक्त लगानीमा सन् २०२२ मार्चमा सुरु भई यस वर्ष अक्टोबरमा सम्पन्न भएको हो ।

यो वृहत्तर आयोजनाले डिजाइन वर्ष २०४३ सम्म कुल २८ हजार ६ सय २१ जनालाई गुणस्तरीय स्वच्छ पानीको पहुँच सुनिश्चित गर्ने महत्त्वाकांक्षी लक्ष्य लिएको छ ।

यस आयोजना कार्यान्वयन खानेपानी तथा ढल व्यवस्थापन विभाग र खानेपानी मन्त्रालयले गरेको छ । वित्तीय तथा प्राविधिक सहयोगका लागि एडीबी र नेपाल सरकारबीच सहकार्य भएको थियो ।

आयोजनाको परामर्शदाताका रूपमा आईटीईसीईओ नेपाल प्रालि र युनिक इन्जिनियरिङ कन्सल्टेन्सी प्रालि छन् भने कन्काई–गणपति जेभीले निर्माण कार्यको जिम्मा  लिएको थियो ।

निर्माण कम्पनीसँगको सम्झौता ७ मार्च २०२२ मा भएको थियो । सुरुमा ६ सेप्टेम्बर २०२३ सम्म आयोजना सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिए पनि विभिन्न कारण तोकिएको समयभन्दा झन्डै दुई वर्ष ढिलो गरी आयोजना सम्पन्न १ अक्टोबर २०२५ मा भएको छ ।

आयोजनाको कुल लागत अनुमानित ३१ करोड १९ लाख ५६ हजार ७ सय ९ रुपैयाँ थियो । भ्याटसहित मौलिक ठेक्का सम्झौता रकम २१ करोड ८४ लाख ५० हजार ९ सय ७४ रुपैयाँ रहेकोमा हालसम्मको अनुमानित वास्तविक खर्च १६ करोड पुगेको छ ।

आयोजनामा डिप ट्युबवेललाई पानीको मुख्य स्रोतका रूपमा उपयोग गरिएको छ ।

यो परियोजना सन् २०१८ मा नेपाल र एडीबीबीच देशभरिका साना सहरमा खानेपानी आपूर्ति र सरसफाइ सुदृढ गर्न भएको ऋण सम्झौता अन्तर्गत एक वृहत्तर पहलको हिस्सा हो ।

यस कार्यक्रमले देशभरिका १९ नगरपालिकामा २० वटा उपआयोजना मार्फत खानेपानी आपूर्ति पूर्वाधार स्थापना वा पुनर्स्थापना गर्ने लक्ष्य राखेको छ ।

यसमा २ हजार किलोमिटर पाइपलाइन जडान, २० वटा पानी प्रशोधन प्लान्ट निर्माण, प्रत्येकको क्षमता कम्तीमा ६ लाख लिटर प्रतिदिन र ६० हजार घरपरिवारमा पाइपको पानीको पहुँच विस्तार गर्ने योजना समावेश छ । यसमध्ये ६ हजार वटा जडान गरिब तथा जोखिममा रहेका परिवारलाई सहुलियतमा उपलब्ध गराइने छ ।

सरसफाइ क्षेत्रमा पनि यस आयोजनाले २१ नगरपालिकामा सुधार ल्याउने प्रयास गरिरहेको छ । यस अन्तर्गत गरिब तथा जोखिममा रहेका घरपरिवारका लागि २ हजार ५ सय शौचालय निर्माण, १६ वटा लिङ्ग–पृथक र अपाङ्गता–मैत्री सार्वजनिक शौचालय निर्माण, दुई वटा विकेन्द्रीकृत ढल प्रशोधन प्लान्ट स्थापना र ३० किलोमिटर वर्षाको पानी निकास प्रणालीको विकास गरिने छ ।

यी सबै पहलबाट सहभागी नगरपालिकाका ३ लाख २० हजार मानिसलाई चौबिसै घण्टा प्रतिव्यक्ति १ सय लिटरका दरले राष्ट्रिय मापदण्डको स्वच्छ पानी उपलब्ध हुने र ६४ हजार मानिसले सुधारिएको सरसफाइमा पहुँच पाउने अपेक्षा छ ।

दिगोपन र सामुदायिक सहभागिता

पूर्णागिरि आयोजनाको दिगोपना सुनिश्चित गर्न सामुदायिक सहभागितालाई विशेष जोड दिइएको छ । नगर विकास कोषका परियोजना संयोजक सुवासराज पन्तका अनुसार सुरुवाती चरणमा पानी उपभोग गर्ने परिवारले ५ प्रतिशत लगानी गरेका थिए ।

यसले गर्दा परियोजनामा उनीहरूको स्वामित्वको भावना बढेको छ । लामो समयसम्म यसको सञ्चालनका लागि घरपरिवारले अब खपतका आधारमा पानी शुल्क तिर्नुपर्छ । जस अनुसार ६ हजार लिटरका लागि २ सय र त्यसपछि हरेक १ हजार लिटरका लागि ४० रुपैयाँ निर्धारण गरिएको उनले बताए ।

यस आयोजनामा सरकारले ७० प्रतिशत लगानी गरेको छ भने नगर विकास कोषले २५ प्रतिशतसम्म सिभिल कार्य लागत प्रदान गरी उपभोक्ताको २५ प्रतिशत ऋण र ५ प्रतिशत अग्रिम भुक्तानीका लागि सहजीकरण गरेको थियो ।

भीमदत्त नगरपालिकाका वडा नम्बर ६ र ७ मा रहेको पूर्णागिरि खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष देवेन्द्र ढुंगाना सुरुमा आयोजनाको सफलतामा केही शंका रहे पनि अहिले परियोजना सफलतापूर्वक सम्पन्न भएपछि समुदायमा खुसीयाली छाएको बताउँछन् ।

‘यो परियोजना बन्छ कि बन्दैन भन्ने अन्योल थियो,’ ढुंगाना विगत स्मरण गर्छन्, ‘उपभोक्ताबाट पैसा उठाइसकेका थियौं, तर १८ महिनामा पानी दिने भनिएकामा त्यो समय बितिसक्दा पनि यहाँ कुनै भौतिक संरचना बनेको थिएन, धेरै बाधा अडचन भोगे पनि हामीले यो आयोजना सम्पन्न गरेका छौं,  अब सबैले पानी खान पाउँछन् ।’

अध्यक्ष ढुंगानाले खानेपानी आयोजनामा स्थानीय सरकारसँग समन्वय अभाव भएको औँल्याएका छन् । सडक वा नाली निर्माण क्रममा पाइपलाइनमा लापरबाहीपूर्वक क्षति पुर्‍याइँदा त्यसको मर्मत कार्यमा समस्या हुन पुगेको उनको भनाइ छ ।

चुनौती र भविष्यको मार्ग

‘एसियन वाटर डेभलपमेन्ट आउटलुक २०२५’ ले नेपालमा प्रशस्त जलस्रोत भए पनि करिब २५ प्रतिशत जनसंख्याको मात्र पूर्णरूपमा कार्यशील खानेपानी प्रणालीमा पहुँच रहेको औँल्याएको छ ।

देशले जलस्रोतको प्रचुरता र त्यसको अभावको विरोधाभासपूर्ण अवस्था सामना गरिरहेको छ । द्रुत सहरी वृद्धि र आन्तरिक बसाइँसराइले स्वच्छ पानी र सरसफाइ सेवाको माग बढाएको छ ।

सहरी क्षेत्रमा पानीको माग वार्षिक १० प्रतिशतका दरले बढिरहेको छ । तर आपूर्ति प्रणाली, ढल निकास र फोहोर पानी व्यवस्थापनमा नेपालले कमजोर प्रदर्शन गरिरहेको छ ।

अर्कातर्फ, नदी तथा जलाधारको प्रदूषण र जैविक विविधता ह्रासले वातावरणीय जल सुरक्षामा समेत नेपालको अवस्था बिग्रिएको देखिन्छ ।

बाढी, पहिरो र हिमताल विष्फोटको उच्च जोखिमले यो सूचकांकमा समेत उल्लेख्य प्रगति देखिँदैन । विभिन्न चुनौती हुँदाहुँदै सन् २०२५ मा नेपाल सक्षम जल सुरक्षा श्रेणीमा परेको देखिन्छ ।

१४ प्रतिशत घरधुरीमा मात्र प्रदूषणरहित वा सुरक्षित पानीको पहुँच पुग्नु नेपालको मुख्य चुनौती हो । स्वच्छ पानीको महत्त्वबारे जागरुकता बढाउनु, पानीको पहुँच सबैमा पुर्‍याउनु र व्यवहार परिवर्तनलाई प्रोत्साहित गर्नु अझै पनि आवश्यक छ ।

पूर्णागिरि जस्ता खानेपानी आयोजनाले लाखौं मानिसको जीवनमा सकारात्मक परिवर्तन ल्याउने क्षमता राख्छन् । भीमदत्त नगरपालिकाको यो सफल परियोजनाले अन्य स्थानमा पनि यस्तै दिगो विकासका लागि प्रेरणा दिने अपेक्षा छ ।

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?