+
+
Shares

नेतृत्व परिवर्तनबारे के भन्छन् एमालेका युवा प्रतिनिधि ?

महाधिवेशनका लागि काठमाडौंको भृकुटीमण्डपमा आएका कार्यकर्ताहरू पार्टीको मूल नेतृत्वसहितका लागि साथ/सहयोग मागिरहेका छन् ।

कौशल काफ्ले कौशल काफ्ले
२०८२ मंसिर २८ गते २०:००

२८ मंसिर, काठमाडौं । ३८ वर्षीय केशव रिमाल एमाले महाधिवेशन प्रतिनिधि हुन् । महाधिवेशनका लागि काठमाडौंको भृकुटीमण्डपमा रहेका उनी पार्टीको मूल नेतृत्वसहित आफ्नो लागि पनि कार्यकर्ताको साथ/सहयोग मागिरहेका छन् ।

जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तन र पार्टी रिफर्मको कुरा जोडतोडले उठिरहेको अहिलेको अवस्थामा आम जनताको कुरा पार्टीले सुन्नुपर्ने रिमाल बताउँछन् ।

सँगसँगै उनी स्पष्ट छन्- नेतृत्व परिवर्तन भनेको पार्टी अध्यक्ष फेर्ने कुरा मात्र होइन । त्यसैले यस पटक पार्टीको नेतृत्वमा ओली दोहोरिनुपर्ने र तल्लो तहबाट नयाँ व्यक्तिहरू आउनुपर्ने उनी बताउँछन् ।

‘एउटा ओली फेर्दैमा सम्पूर्ण नेतृत्व फेरिने होइन । हामी जो नयाँ छिर्दैछौं, त्यहाँ पनि परिवर्तन चाहिने हो,’ उनले भने, ‘तर अध्यक्षमा केपी ओलीको विकल्प देखिँदैन । त्यसैले नेतृत्वमा उहाँ रहँदै पार्टीको अन्य तहमा नयाँ अनुहार पक्कै देखिनुपर्छ ।’

तर, जेनजी आन्दोलनपछि भएको यो महाधिवेशनमा आमयुवाको अपेक्षा यही हो त ? रिमालको जवाफ छ, ‘हिजो लिपुलेकको नक्सादेखि पछिल्लो समय राष्ट्रियताको विषयमा अडान दिने व्यक्ति अरू छैन। त्यसैले उहाँबाहेक विकल्प छैन । जित्ने पनि उहाँले नै हो ।’

रिमाल आफू भने माहोल र परिस्थिति मिले केन्द्रीय सदस्यको लागि भिड्ने तयारीमा छन् ।

०००

३६ वर्षीय तीर्थराज मगर पनि राजनीतिक चहलपहलमा समेल छन् । उनी भृकुटीमण्डपमा साथीभाइसँग आगामी नेतृत्व केन्द्रित गफ गरिरहेका भेटिए ।

उनलाई पनि पार्टीको नेतृत्व परिवर्तन हुन्छ भन्ने विश्वास छैन । मगरका लागि आजको दिन पार्टी भित्र आवश्यक नेतृत्व केपी ओली नै हो । उनी ओलीको लागि मत हाल्न आतुर छन्।

तर, नेतृत्व परिवर्तनको लागि त सबैतिर आवाज उठेका छन्, एमालेले त्यो बाहिरी आवाज कत्तिको सुन्छ ? अनलाइनखबरको प्रश्नमा मगरले अरू धेरै अब्बल नेता भए पनि अहिलेको परिस्थितिमा भिड्न सक्ने एक मात्र नेता ओली रहेको दाबी गरे ।

‘पार्टीमाथि बाहिरी/भित्री आक्रमण र घेराबन्दी भइरहेको छ । अन्य राजनीतिक दलदेखि बाहिरी तत्वले पार्टीलाई सङ्कटमा पार्ने प्रयत्न गरिरहेका छन्,’ उनले भने, ‘यो सङ्कटको घडीमा पार्टी भित्र दह्रो भएर उभिन सक्ने एउटा खम्बा ओली नै हो ।’

ईश्वर पोखरेल पनि योग्य र अनुभवी नेता भए पनि तत्कालको अवस्था ह्यान्डल गर्ने ओली नै भएको उनको तर्क छ ।

०००

मोरङबाट महिला क्लस्टरमा महाधिवेशन प्रतिनिधि बनेर आएकी छन्, ३५ वर्षीया रन्जना अधिकारी ।

एघारौं महाधिवेशनमा नेतृत्व परिवर्तनको आवाज जति उठे पनि ओलीको विकल्प नभएको उनले बताइन् । उनका अनुसार यस पटक पार्टी पहिलेभन्दा चौतर्फी घेराबन्दीमा छ। त्यसको विरुद्ध खडा हुनसक्ने नेता ओली नै रहेको तर्क उनले गरिन् ।

‘म भोट त ओलीलाई नै हाल्छु,’ कारण खुलाउँदै उनले भनिन्, ‘राष्ट्रियताको सवालमा अहिले ओली बाहेक कोही छैन । हिजो नक्साको विषयमा जसरी लड्यौं, आजको आवश्यकता त्यही लडाइँ र इच्छाशक्तिको हो।’

यद्यपि, प्रतिस्पर्धी ईश्वर पोखरेललाई पनि कम आक्न नहुने अधिकारी बताउँछिन। पोखरेललाई मन पराउने कार्यकर्ता पनि भएकाले अवमूल्यन गर्न नहुने र स्वस्थ प्रतिस्पर्धा गर्नु नै उचित हुने उनको तर्क छ ।

अझ जेनजी आन्दोलनपछि यो देश नै रहला या नरहला भन्ने प्रश्न आएकाले यसको लागि डिल गर्नसक्ने नेता ओली नै भएको उनले थपिन् ।

‘अहिले यो परिस्थिति सम्हाल्न सक्ने नेता चाहियो । एमालेको लागि मात्र हैन, देशको लागि नै उहाँ आवश्यक छ,’ उनले भनिन् ।

०००

मोरङकै महाधिवेशन प्रतिनिधि ३९ वर्षीय करण ठाकुरले त केपी ओलीलाई बा नै सम्बोधन गरेर कुरा गरे । अहिलेको अवस्थामा ओली बाहेकको विकल्प नरहेको तर्क उनको छ ।

‘हिजो पार्टीको अवस्था के थियो ? आज केपी बा हुनुहुन्छ र यो जोगिएको छ,’ उनले भने, ‘त्यसैले यस पटक ओली नै नेतृत्वमा ल्याउने हो । अर्को पटक विकल्पबारे सोच्नुपर्ला ।’

प्रतिस्पर्धामा आउन खोजेका ईश्वर पोखरेललाई पनि ठाकुरको सल्लाह छ, ‘यस पटक ओलीलाई छोडिदिएर उहाँले अर्को पटकलाई तयारी गर्दा हुन्छ ।’

पार्टीमा युवा छिर्ने हकमा तल्लो तहमा प्रतिस्पर्धा गर्ने उनले बताए ।

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?