News Summary
Generated by OK AI. Editorially reviewed.- योगमायाले धर्म राज स्थापनाको माग गर्दै ६७ जना अनुयायीका साथ १९९९ असारमा अरुण नदीमा सामूहिक जलसमाधि लिइन्।
- महात्मा गान्धी र जयप्रकाश नारायणका आन्दोलनहरूले भारतमा उपनिवेशवादको अन्त्य र लोकतान्त्रिक राज्य निर्माणमा महत्वपूर्ण भूमिका खेले।
- नेपालमा जेनजी पुस्ताले डिजिटल सञ्चारमार्फत सुशासन र स्वतन्त्रताको माग गर्दै नयाँ आन्दोलनको सुरुवात गरेका छन्।
योगमायाको पार्टी थिएन। योगमायाले कहिल्यै जुलुस निकालिनन्। उनले पशुपतिनाथमा पुगेका जुद्धशमशेरसँग ‘धर्म राज देऊ’ भनी माग गरिन्। अरुण नदीको मझुवा बेंसीमा फर्केर अनुयायीहरूसँग बसेर भजन गाइन्।
योगमायाले धर्म राज स्थापना नहुने ठानेर सामूहिक आत्मदाह गर्न दाउरा कटाइन्। पक्राउ परिन्। रिहा भएपछि पनि सामूहिक मरणको इच्छा त्यागिनन्। र, विक्रम संवत् १९९९ असारमा आफ्ना ६७ जना अनुयायीका साथ अरुण नदीमा जलसमाधि लिइन्। यसपछि पनि भक्तहरू आएर ‘धर्म राज देऊ’ भनी भजन गाइरहे।
योगमायालाई हाम्रा पुस्ताले देखेन। उनले सामूहिक जलसमाधि लिएको करीब ३८ वर्षपछि पर्यटकको रूपमा आएकी एक अमेरिकी बाबरा निम्री अजिज अरुणको गढतीरमा पुग्दा उनले मधुरो स्वरमा भजन सुनिन् र थाहा पाइन्- एक विद्रोही नारी र समाज सुधारकको पदचाप। उनले योगमाया वाचित भजन संग्रह ‘सर्वार्थ योगवाणी’ लाई अनुयायी भन्दा बाहिर ल्याइदिइन्। एक दशकपछि हामीले उनलाई पढ्यौं– पढ्दा उनलाई एक सामाजिक आन्दोलनकारीका रूपमा देख्यौं।
योगमायाको तस्बिर र यस स्तम्भकारको संस्थाको पहलमा एक भक्तिनीको स्मृतिका आधारमा एक चित्रकारबाट बनाइयो। उनका बारे विभिन्नकालमा लेखिएका पुराना आलेख, उनका भजन र उनीबारे सुनिजान्नेका भनाइका आधारमा सामाजिक जीवनका आन्दोलनका अगुवाहरूले लेखेका आलेखहरूलाई पुस्तक छापी वितरण गर्यौं।
उनले जलसमाधि लिएपछि उनका भक्तहरूले ‘सर्वार्थ योगवाणी’ भजिरहे। भक्तहरूको भजन नै आन्दोलन थियो। अन्तत: ५० वर्षपछि भजनको सहउत्पादक उनलाई नेपालको महिला आन्दोलनका रूपमा स्वीकारियो। नेपालको महिला आन्दोलनको एक प्रेरक बनेकी छिन्- योगमाया।
योगमायाका समवयी शुक्रराज शास्त्रीहरूले समाज सुधारका लागि वि.सं. १९७६ मा मलामी गुठीबाट ब्राह्मणवादका विरुद्ध आन्दोलन चलाइरहेका थिए। उनी समाज सुधारका लागि गीता प्रवचन गर्दै गए। यही आन्दोलनलाई विकास गर्दागर्दै राणाबाट वि.सं. १९९७ मा मारिए।
त्यसै अवधिमा गंगालालले भाषण गरे। तुल्सी मेहरको चर्खा आन्दोलन र लाइव्रेरी पर्व जस्ता सामाजिक आन्दोलनहरू भए। ती आन्दोलनहरू चलाउन गुठी, चर्खा र लाइव्रेरीलाई रक्षाकवच बनाइयो। यी सबै अभियानहरूको सहउत्पादक नेपालको पहिलो राजनैतिक दल राष्ट्रिय प्रजापरिषद् बन्यो। यो नेपाल सरहदभित्र नै बन्यो।
त्यसबेलाका गतिविधि अङ्ग्रेज शासित भारतीय उपमहाद्वीपमा चलिरहेका आन्दोलनहरूबाट प्रभावित देखिन्छन्। योगमायाकै ‘धर्म राजको माग’ पनि उनी भारतको आसामबाट फिर्ती भएपछि भएको देखिन्छ।
भारतीय नेताहरूबाट नेपालमा दलीय राजनीति ल्याइयो। नेपाली बाहुनहरूले काशीबाट अनि सी क्लासका राणाहरू, काठमाडौंका व्यापारी र अङ्ग्रेजी शिक्षा आर्जन गर्न गएका विद्यार्थीले कलकत्ताबाट नेपालमा दलीय राजनीति भित्र्याएका हुन्। नेपाली कांग्रेस काशीमा बन्यो।
इन्डियाका कम्युनिष्ट रत्नलाल ब्राहमणले ‘कांग्रेसमा नै रहेर क्रान्ति गर’ भन्दाभन्दै नेवार पुष्पलालले नेपाल कम्युनिष्ट पार्टी कलकत्तामा बनाए। काशीमा रहेका ब्राह्मणहरू कम्युनिष्ट पार्टीका संस्थापक बन्न छुटे।
यसरी नै हाम्रा राजनैतिक तथा सामाजिक आन्दोलनहरूले महात्मा गान्धी, जयप्रकाश नारायणका आन्दोलनहरू र हाल अन्ना हजारे, केजरीवालको आम आदमीलाई अनुगमन गरिरहेका देखिन्छन्।
जेनजी ! महात्मा गान्धी र जेपीलाई बुझ
जेनजी प्रदर्शनपछि लगत्तै कैयन् जेनजीहरू पार्टी बनाउन उत्सुक देखिएका थिए। तर खासै मूर्तरुप लिन सकेन। एक टीभी प्रसारणमा जेनजी रक्षा बमले ‘पार्टी बनाउनै पर्छ र ?’ भन्दै जवाफ दिंदै थिइन्। उनको आशय आन्दोलन या अभियानमा रहने लाग्दथ्यो। उनी के गर्लिन्, थाहा छैन तर जेनजी एक आन्दोलनकै रूपमा रहिरहोस् भन्ने म चाहन्छु।
अनुभवमा के देखिएको छ भने लोकप्रिय आन्दोलनबाट निर्मित पार्टीहरू केही कालपछि ज्यादै प्रतिगमनकारी भएका देखिएका छन्। यसका लागि म भारतमा चलेका दुई ठूला आन्दोलन र तिनीहरूको नियति बताउँदैछु।
महात्मा गान्धी भारतीय राष्ट्रिय कंग्रेसका महत्वपूर्ण नेतामध्ये एक थिए। छोटो समय करीब एक वर्ष कंग्रेसका अध्यक्ष भए। यति छोटो समयमा नै गान्धीले कंग्रेसलाई बेलायती रिटर्न वकिल, अङ्ग्रेजी बोल्ने बाबु साहेव, धनाढ्य, अङ्ग्रेजीकृत विद्वानहरूको घेराबाट मुक्त गराई आम जनताकहाँ पुर्याए।
त्यसो गर्दागर्दै उनी भारतीय राष्ट्रिय कंग्रेसलाई पार्टी होइन, एक सक्रिय क्रान्तिकारी आन्दोलनमा मात्र सीमित गर्न चाहन्थे। उनी कंग्रेसको भूमिका भारतलाई स्वतन्त्र गर्नु हो, शासन चलाउनु होइन र यसको विघटन हुनुपर्छ भन्थे। तर कंग्रेस शासन चलाउने पार्टी बन्यो। गान्धी बाँचुन्जेल त्यसभित्रका बल्लभ भाई पटेल र जवाहरलाल नेहरूको विवादमा एकताका कडीका रूपमा रहे।
गान्धीको समग्र आन्दोलन सत्य र अहिंसाबाट देश, समाज र मान्छेको चेतनालाई रूपान्तरण गर्ने नैतिक–राजनीतिक क्रान्ति थियो। तर उनले भारतमा मुस्लिम र हिन्दूहरूले एकआपसमा लडेर रगतको खोलो बगाएको क्रूर हिंसा बेहोर्नु पर्यो। उनी एक आतङ्ककारीको गोलीबाट मारिए।
जयप्रकाश नारायण (जेपी) ले भारतीय कंग्रेसभित्र नै कंग्रेस समाजवादी पार्टी (सीएसपी) पक्ष खडा गरी त्यसको महासचिव बने। तर सन् १९४७ मा भारत स्वतन्त्र भएपछि उनी भिन्न भए र सन् १९५२ मा किसान मजदुर दलसँग मिलेर प्रजा सोसलिस्ट पार्टी (पीएसपी) स्थापना गरे। उनी सन् १९५२ को संसदीय निर्वाचनमा पराजित भए। सन् १९५४–१९७३ सम्म कहिल्यै पार्टी राजनीतिमा नलागेका गान्धीका अनुयायी आचार्य विनोवा भावेका साथ सामाजिक सुधार, शिक्षाको सुधार, ग्राम–स्वराजको अभियानमा रहे।
तर, समयले जेपीलाई राजनैतिक आन्दोलनको नेतृत्व लिन बाध्य पार्यो। उनले भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले लगाएको इमर्जेन्सी विरुद्ध ‘सम्पूर्ण क्रान्ति’ घोषणा गरे। उनले इन्दिरा कंग्रेस विरुद्ध हिन्दूत्ववादी भारतीय जन संघदेखि समाजवादी तथा गान्धीवादी दल र विचारका व्यक्तिहरूलाई मिलाएर एक सशक्त जनता पार्टी बनाए। जसले १९७७ मा बहुमत ल्याई मोरारजी देसाईको प्रधानमन्त्रीत्वमा सरकार बनायो।
गान्धीको आत्मा शस्त्र र जेपीको रक्षा बम
जेपीको “सम्पूर्ण क्रान्ति” को उद्घोष एक हाते पर्चाबाट भएको थियो। जसमा भ्रष्टाचार, राज्य आतङ्क र गरीबमाथि करको भारको अन्त्यका लागि जागृत हुन विद्यार्थी, युवा र किसानलाई आह्वान थियो। यो क्रान्ति ‘सत्य-अहिंसा’ को मार्गबाट गाउँशहरलाई जोड्ने र सुरक्षित राख्न थियो। त्यो हाते पर्चाको नाम थियो- रक्षा बम।
गान्धी ‘हिंस्रक शस्त्र राज्यसँग हुन्छ, आत्मा शस्त्र जनतासँग’ हुने विश्वास गर्दथे। उनका शस्त्रहरू थिए- सत्याग्रह, आमरण अनशन, उपवास र पैदल मार्च। यिनै शस्त्रले अङ्ग्रेज शासनले भारत छोडेको भनिन्छ।
कुरा यस्तो मात्र त थिएन, अङ्ग्रेजले भारतबाट हट्नुमा विश्वका जनतामा चलिरहेको उपनिवेश विरुद्ध जनचेतना तथा जनसंघर्ष, दोस्रो विश्वयुद्धपछिको विश्व शक्तिमा फेरबदल र अमेरिकी व्यापार साम्राज्यको विस्तार गर्न अङ्ग्रेज उपनिवेश खाली गराइने राजनीति पनि थियो।
जे भए पनि गान्धीको अहिंस्रक क्रान्ति समाज परिवर्तनका लागि अनुकरणीय बन्यो। उनले राजनैतिक तथा सामाजिक आन्दोलनभित्र आध्यात्मिक पक्षको पनि बीजारोपण गरे। हत्याराको गोली लागेपछि ‘हे राम’ भन्दै उनको मृत्यु भयो। र उनको आत्मा-शस्त्रलाई होइन, भारतीय जनता पार्टीले ‘राम’ शब्दलाई नै एक शस्त्र बनायो।
जेपीको रक्षा बम हिंस्रक बम थिएन, गान्धीवादी प्रतिरोध शैलीको प्रतीकात्मक ‘बम’ थियो। जेपीले यसलाई ‘मोरल एक्सप्लोसिभ’ भनेका थिए। हातले लेखिएको पर्चा-बमले जेपीको सम्पूर्ण क्रान्तिको आह्वान गर्यो। यो क्रान्ति निरङ्कुश लोकतान्त्रिक प्रणालीको विरुद्ध थियो। यो भ्रष्टाचार विरुद्धको आन्दोलन पनि थियो।
यसमा जेपीले युवा र विद्यार्थी आन्दोलनलाई एकीकृत गरे। जनमत बटुल्न र परिचालन गर्न ठूलाठूला सभाहरू गरिए, पर्चा छरिए। यही जेपीको सम्पूर्ण क्रान्तिले अन्ततः भारतीय राजनीतिमा गैर-राष्ट्रिय कंग्रेस दलहरूलाई मूलधारमा प्रवेश गरायो। जेपीको नैतिक व्यक्तित्वमा जनता पार्टी एक भएको थियो तर उनी गम्भीर विरामी भई सक्रिय नभएपछि त्यो एकता टुट्यो।
गान्धीको “हे राम” र जेपीको विरासतलाई पूँजीकृत गरेको हालको सत्तारुढ दल भारतीय जनता पार्टीले भारतीय समाजमा सामाजिक न्यायका लागि कदम चाल्नु भन्दा धार्मिक कलहतर्फ धकेलिरहेको छ। यति मात्र होइन, जेपीको आन्दोलनबाट लालु यादव जस्ता भ्रष्टाचारी, नीतीश कुमार जस्ता पल्टुराम र लालकृष्ण आडवाणी जस्ता कट्टरपन्थी नेताहरू जन्मिए। हुँदाहुँदै नरेन्द्र दास मोदी उत्तराधिकार निस्के।
गान्धी लगायतको नेतृत्वमा भएको आन्दोलनले भारतमा अङ्ग्रेजको हुकुमतलाई खेद्यो। एक बृहत् राष्ट्र एकीकरण गरायो। र, लोकतान्त्रिक राज्य निर्माण गर्यो। जेपी आन्दोलनले गान्धी-स्थापित लोकतान्त्रिक राज्यभित्र भइरहेको राज्य दमन, भ्रष्टाचार, अन्याय, सामाजिक हिंसा र युवा आक्रोशलाई व्यवस्थापन गर्न खोज्यो। यस मानेमा यी आन्दोलनका उद्देश्य र मनसाय बिल्कुलै फरक थिए। तर, जेपी आन्दोलन गान्धीको सत्याग्रह आन्दोलनको निरन्तरता नै थियो।
जेनजी प्रदर्शनको ‘रक्षा बम’
गान्धीको आत्मा शस्त्रले अङ्ग्रेज हुकुमत हट्यो र जेपीको रक्षा बमले भारतीय कंग्रेसको निरङ्कुशता तोड्यो। त्यस्तै नेपालको सुशासन र सञ्चार स्वतन्त्रताको स्थापनाका लागि जेनजीले रक्षा बम चलाए- त्यो थियो डिजिटल बम।
गान्धीको आत्मा शस्त्र डन्डी मार्च, आमरण अनशन, सत्याग्रह थिए भने जेपीको रक्षा बम प्रिन्टिङ सञ्चार थियो ठूला जनसभा र र्यालीहरू थिए। नेपालका जेनजीहरूले डिजिटल शस्त्र चलाए- ती शस्त्रहरू जस्तै- ह्यासट्याग, टिकटक, इन्स्टा, एक्स आदि थिए। यी बमहरूले सुशासन, राजनीतिमा प्रतिनिधित्व र सूचना सञ्चार स्वतन्त्रताका मागलाई प्रसारित गरे। परिणाममा हुन्डरी बनेर २४ घन्टामा तहल्का मच्चाइदिए।
परम्पराले भन्दै आएको परिभाषामा यो आन्दोलन होइन, आन्दोलनका लागि संगठन, सहभागी, वैध/अवैधमा रहेको नेतृत्व, तयारी आवश्यक पर्छ। यो त ‘आयो टप्प टिपी लग्यो’ जस्तै भयो।
माथि मैले सन्दर्भमा ल्याएको योगमायाको पार्टी त थिएन तर तिनका अनुयायी संगठित भएका थिए। धर्म राज स्थापनार्थ नभएको आक्रोशमा ६८ अनुयायीले सामूहिक जलसमाधि लिएका थिए नलिनेले भजनरूपी रक्षा बम चलाइरहे। शुक्रराज शास्त्री, गंगालालहरूको शहादतपछि राणाविरुद्ध आन्दोलन अघि बढिनै रह्यो।
आन्दोलनका लागि अनुयायी चाहिन्छ। अनुयायी नभएको भए योगमायाको जलसमाधिबारे उत्खनन् हुँदैनथ्यो। शुक्रराज शास्त्री र गंगालालका शहादतका सहउत्पादन नै आजका नेपालका मूलधारका राजनीतिक पार्टीहरू हुन्।
यसरी नै जेनजी प्रदर्शनले आफ्नै उमेर-समूहको पार्टी नदिए पनि त्यसका संरक्षक या सहउत्पादनका रूपमा केही पार्टीहरू देखा परेका छन्। तर तीमध्ये केही नयाँ पार्टीहरू शुरुआती अवस्थामा नै प्रश्नहरूको घेरामा परेका छन्।
प्रश्नहरू छन्- के ती नयाँ पार्टीहरू जेनजी सोचका अनुयायी हुन सक्छन् ? के तिनीहरूका मुद्दाहरू जेनजी मुद्दाहरूसँग तादात्म्य राख्न सक्छन् ? के तिनका नेतृत्व सामूहिक नेतृत्व अनुरुप छन् ? के ‘नेतृत्व–समूह’ आफैं नै डिजिटल रक्षा बम चलाउन सक्ने गरी सुसज्जित छन् ?
जवाफ खोज्न गान्धी र जेपीको आन्दोलन
‘हर्क साम्पाङ अ रिभोलुसन’ श्रम संस्कृति हुँदै अब हर्कवाद बनेको छ। श्रम संस्कृतिलाई एक सामूहिक आन्दोलनका रूपमा विकास गर्ला भनेको त करीब यो एक व्यक्ति वरपर फनफनी घुम्नेमा निश्चित देखियो। यो विस्तारै पहिचानलाई स्वीकार नगरी पहिचानको राजनीतिमा प्रवेश गरेको देखिन्छ। जनजाति बाहुल्य भएका क्षेत्रहरू, भूपू ब्रिटिश गोर्खाका निवृत्तहरू र उनीहरूका जेनजी/वाई पुस्ताको भावुकतालाई शोषण गरेन भने मात्र पनि यसलाई ‘माटोको पाप’ लाग्ने छैन।
भर्खरै खुलेका नयाँ दलहरू गतिशील लोकतान्त्रिक पार्टी र उज्यालो नेपाल पार्टीको प्रारूप जेनजी प्रदर्शन अघि नै भएका थिए। खासगरी राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन लगायत स्वतन्त्र मेयरको उदयसँगै नेपालका सम्भ्रान्तहरूले कन्जरभेटिभ पार्टीका लागि तयारी गर्दैथिए।
ती सम्भ्रान्तहरू भारतका गान्धीले देखेका बेलायती रिटर्न वकिल, अङ्ग्रेजी बोल्ने बाबु साहेव, धनाढ्य, अङ्ग्रेजीकृत विद्वानहरू जस्तै छन्। तिनीहरू मूलधारको जगबाट उठेर भन्दा बुरुक्क उफ्रेर राजनीतिक छतमा पुग्न हिसाब-किताब गरिरहेका थिए। यहीबेला जेनजीहरूको व्याकुल हृदयलाई शान्त गर्न ती दुवै निर्वाचन आयोगमा दर्ता भएका छन्।
जेनजी प्रदर्शनअघि नै प्रारुप गरिएका ती दुवै दलहरूले जेनजीको सोच साकार पार्लान् ? त्यो सोच्नु मूर्खता हुनेछ। प्रथमतः ती दुवै दलको सक्कली मूल-नेतृत्व मञ्चमा पदार्पण भइसकेका छैनन्। नेतृत्व नकावधारी छन् पारदर्शिताको कुरा के गर्नू ? जसले आजैदेखि कार्यकारी प्रमुखको शर्त राखेर एक अभियुक्तलाई नेता स्वीकार गर्न तयार भएको सुनिन्छ, त्यसबाट सुशासन हुन्छ भनी कसरी सोच्नू ?
जेनजीका सोचमा मात्र होइन, यिनका जलवायु परिवर्तन, लैङ्गिक/यौनिक अधिकार जस्ता मुद्दाहरूमा समेत ती नयाँ दलहरू संवेदनशील देखिंदैनन्। तिनीहरूले नवउदारवादको असफलताले निम्त्याएको असमानतालाई कसरी बुझ्दैछन्, थाहा छैन। ती नयाँ दलहरूले युवा पुस्ताको राजनैतिक सहभागितालाई नै कर्मकाण्डी बनाएका देखिन्छन्।
मैले यी कुराहरू किन उठाइरहेको छु कि गान्धीहरूले पार्टीलाई सर्वसाधारणको संलग्नता र पहुँचमा पुर्याउनुपर्छ भनेको ठीक १०० वर्षपछि अङ्ग्रेजीकृत विद्वान र सम्भ्रान्तहरू नेपालमा नयाँ पार्टीहरू गठन गर्दैछन् भन्ने हो।
यी सम्भ्रान्तहरूको पार्टीले राजनीतिक प्रणालीलाई विकेन्द्रीकृत गर्न होइन, टाठाबाठा, पश्चिमाकृत, अङ्ग्रेजी जेन्टलम्यान, निवृत्त तथा धूर्त नोकरशाह र प्रहरी उच्चपदस्थ सहित काठमाडौं केन्द्रीकृत गर्ने गरी पार्टी तयार गर्दैछन्। नेतृत्वमा सुकिलामुकिला र डिग्रीधारी छन्। नयाँ पार्टीको संरचना साना–ठूला शहरमा मात्र स्थित हुने देखिंदैछन्। गाउँ टेक्ने छेकछन्द छैन। सामाजिक न्याय त यिनीहरूका सरोकार र मागभित्र पर्दै पर्दैनन्।
जनतामा कसरी जान्छन् ? जनतासँग कुन माध्यम या रक्षा बमबाट अन्तरक्रिया गर्लान्? लाग्दैछ, तिनका प्रतिनिधिहरूले जनतासँग संवाद स्थापित गर्ने छैनन्- एकतर्फी मात्र सञ्चार गर्नेछन्। बालेन र रास्वपाका प्रचार यसैमा आधारित छन्।
जब पार्टीको संरचना र संवादयन्त्र नै अन्तरक्रियात्मक छैन भने तब त्यो पार्टी जनताको कसरी हुन्छ ? यी पार्टीहरूले जनताको सरोकार या मागहरू कसरी संकलन गर्छन्, बुझ्छन् र सम्बोधन गर्न सक्छन्? नयाँ दलहरूको वर्तमान संरचना र नेतृत्वले जनसरोकारका मुद्दाहरूमा अनुक्रिया गर्नै सक्दैनन्।
युवा पुस्ताको काँधमा आन्दोलन
यी सबै कुराहरूले हामीलाई गान्धी र जेपीको आन्दोलनहरूलाई झलझल्ती सम्झना गराउँछ। जसले जनमागहरूको अनुक्रिया गर्दै मुलुकको राजनैतिक प्रणालीभित्र प्रवेश गराएका थिए र राज्यले बाध्यताका साथ सम्बोधन गर्नु परेको थियो। यदि गान्धी र जेपीका आन्दोलनले जन्माएका भारतीय कंग्रेस र भारतीय जनता पार्टी जस्तै जेनजी आन्दोलनले जन्माएका पार्टीहरू पनि त्यस्तै निरङ्कुश भए भने के हुन्छ ? सुशासन त के कुरा, मुलुकले अस्थिरता समेत भोग्नुपर्ने हुन्छ।
त्यसैले नेपालको राजनैतिक भूमिमा एक आन्दोलन उपस्थित भइरहनुपर्छ। जेनजी, वाई पुस्ता अब त्यस्तै हस्तक्षेपकारी भएर रहनुपर्छ- सामाजिक न्यायका लागि आवाज उठाउन र नवउदारवादले उब्जाएको असमानता विरुद्ध लड्न।
गान्धीले कांग्रेस शासन गर्नका लागि होइन, क्रान्ति गर्न हो भन्दै रहे। जेपी राजनीति छाडेर आन्दोलनमा लागे। योगमायाले धर्म राज भनिन्। ती सबैले मागेको युवा पुस्ताले मागेको सुशासन जस्तै हो। शुक्रराज शास्त्रीको गीता प्रवचनको सार नै ‘कर्म गर फलको आश नगर’ हो।
यही नै शुक्रराज शास्त्रीहरूको आन्दोलन हो, जसले ‘लाभ पदको लोभ नगर’ भन्यो। त्यसकारण हाम्रा विगतका आन्दोलनहरूको सारले भन्छ सच्चा जेनजीहरू पार्टी भन्दा आन्दोलनमा रहुन्। ती मार्फत जनसरोकारहरूलाई राज्यको प्रणालीभित्र प्रवेश गराउन्। नयाँ–पुराना पार्टीलाई सचेत गराइरहुन्। यसरी नै राज्यका सेवादायी अङ्गहरूलाई सक्रिय निगरानी गरिरहुन्।
थाहा भइसकेको छ कि धर्म राजको माग गर्नेहरू शासनमा पुग्दा लालु यादव र नीतीश कुमार बन्ने खतरा छ। अन्ना हजारे कहाँ छन्, थाहा छैन; केजरीवाल खतरामा छन्। युवाहरूले गान्धी या जयप्रकाश नारायणलाई अनुपालन नगर्लान् तर आशा गरौं ! तिनीहरूले ‘सुशासन राज स्थापनार्थ’ आफ्नो पालाको रक्षा बम चलाइरहनेछन् तर ती कामहरू जनसमूहसँग काँधमा काँध मिलाएर अन्तरसंवाद र जनताका दु:ख–मर्कामा साथ दिई सम्पन्न होउन्।
प्रतिक्रिया 4