+
+
Shares

कांग्रेसले सुदूरपश्चिममा पठायो क्रमसंख्या बिनाका क्रियाशील सदस्यता फारम

नभर्न प्रदेश सभापतिबाट निर्देशन

महामन्त्री गगन थापा संयोजक रहेको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले क्रम संख्या र सदस्यता नम्बर उल्लेख नगरिएका फारमहरू सुदूरपश्चिम प्रदेशमा पठाएको हो ।

केशव सावद केशव सावद
२०८२ मंसिर २९ गते ९:५६
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले सुदूरपश्चिममा क्रम संख्या र सदस्यता नम्बर नलागेका नयाँ क्रियाशील सदस्यता फारमहरू पठाएको छ।
  • प्रदेश कार्यसमितिले अधुरा फारम नभरि सूची बनाएर नम्बरसहितका फारम आएपछि मात्र सदस्यता भर्ने निर्णय गरेको छ।
  • क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य रसाइलीले नम्बर नलाग्नु ठूलो मुद्दा नभएको र समाधान हुने बताए।

२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा क्रमसंख्या उल्लेख नगरिएका नयाँ क्रियाशील सदस्यता फारमहरू पठाएको छ ।

महामन्त्री गगन थापा संयोजक रहेको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले क्रमसंख्या उल्लेख नगरिएका फारमहरू सुदूरपश्चिम प्रदेशमा पठाएको हो ।

सुदूरपश्चिम प्रदेश कार्यसमितिका सहमहामन्त्री अम्बिका चलाउनेले सुदूरपश्चिमभरी नै क्रमसंख्या उल्लेख नगरिएका फारमहरू पठाइएको जानकारी दिइन् ।

उनले क्रम संख्या र सदस्यता नम्बर उल्लेख नगरिएका फारमहरू केन्द्रबाट पठाइएपछि आइतबार प्रदेश कार्यसमिति बैठकमा छलफल गरिएको बताइन् ।

केन्द्रबाट नयाँ सदस्यहरूका लागि क्रम संख्या र सदस्यता नम्बर उल्लेख नगरिएका फारमहरू पठाइएपछि सुदूरपश्चिम प्रदेश कार्यसमितिले नभर्न मातहतलाई निर्देशन दिएको छ ।

‘क्रम संख्या, क्रियाशील सदस्यता नम्बर केही पनि उल्लेख नभएको फारमहरू केन्द्रबाट पठाइएको छ । सुदूरपश्चिमभरि नै यस्ता फारम आएको रहेछ,’ सहमहामन्त्री चलाउनेले भनिन्, ‘प्रदेश सभापतिज्यूले सबै जिल्लामा फोनै गरेर अहिले नम्बर नभएको सदस्यता फारम नभर्नुस् भन्नुभएको छ ।’

प्रदेश कार्यसमितिले अधुरा क्रियाशील सदस्यता फारमहरू आएपछि सुदूरपश्चिमका सबै स्थानीय तहहरूमा कार्यक्रम गर्ने, पालिका स्तरबाटै नयाँ क्रियाशील सदस्यताका लागि इच्छुकको सूची बनाउने र केन्द्रले क्रम संख्या र सदस्यता नम्बर उल्लेख गरिएका फारमहरू पठाएपछि मात्रै भर्ने निर्णय गरेको छ ।

‘हामीले बैठकबाट ८८ वटै स्थानीय तहमा कार्यक्रमहरू गर्ने, स्थानीय पालिका कार्यसमिति, वडा सभापति, सम्बन्धित पालिकाबाट माथिल्लो तहहरू प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्ला र प्रदेश कार्यसमितिमा प्रतिनिधित्व गर्ने सबै राखेर वडालाई अधिवेशनका लागि केन्द्रले नम्बरवाला फारम दिँदासम्मलाई भर्नका लागि अहिले लिस्ट बनाउने र पालिका स्तरमा फारम भर्ने निर्णय गरेका छौं,’ सहमहामन्त्री चलाउनेले भनिन्, ‘आज परिपत्र होला ।’

‘क्रम संख्या, क्रियाशील सदस्यता नम्बर केही पनि उल्लेख नभएको फारमहरू केन्द्रबाट पठाइएको छ । सुदूरपश्चिमभरि नै यस्ता फारम आएको रहेछ,’ सहमहामन्त्री चलाउनेले भनिन्, ‘प्रदेश सभापतिज्यूले सबै जिल्लामा फोनै गरेर अहिले नम्बर नभएको सदस्यता फारम नभर्नुस् भन्नुभएको छ ।’

उनले क्रम संख्या र सदस्यता नम्बर उल्लेख नभएका फारमहरू भर्दा केन्द्रमा रेकर्ड नरहने र रेकर्ड नरहे सदस्यतासमेत नआउने बताइन् । ‘यस्तो सदस्यता भर्दा त रेकर्ड नरहने भयो, कम्प्युटरमा नम्बर नै रहेन,’ चलाउनेले भनिन्, ‘नम्बर नभएको सदस्यता आउने कुरो पनि भएन । फेरि यसको दुरूपयोग पनि हुने भयो । यस्तो फाराम त जसले जहाँ छापे पनि भयो ।’

तर, ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’का सदस्य प्रकाश रसाइली ‘स्नेही’ नयाँ क्रियाशील सदस्यता फारममा क्रम संख्या र सदस्यता नम्बर उल्लेख नभएको विषयलाई ठूलो रूपमा लिन नहुने बताउँछन् ।

‘अहिलेको प्रविधिको जमानामा यो कुरा आन्तरिक सहमति गरेर तरून्तै निकास निकाल्न सकिन्छ,’ उनले अनलाइनखबरसँग भने, ‘यसलाई धेरै ठूलो रूपमा लिनु हुँदैन । काम भइराखेको छ ।’

कसरी सुदूरपश्चिममा क्रम संख्या र सदस्यता नम्बर नै उल्लेख नभएको फारम गयो भन्ने जिज्ञासामा उनले भने, ‘कसरी गयो भन्दा पनि यस्तो हो, त्यतिबेला छिटो–छिटो गर्ने भनेर सचिवालयलाई भन्यौं । पहिला सिरियलअनुसार नै थियो । अहिले छिटो–छिटो गर्ने क्रममा सिरियल नम्बर नहालिकनै प्रेसबाट गएको रहेछ ।’

समिति सदस्य रसाइलीले यो विषय ठूलो मुद्दा नबन्ने र दुरूपयोग हुन नदिने पनि दाबी गरे । ‘यो ठूलो इस्यु हुँदैन । सिरियल नम्बर मिलाउने काम भइहाल्छ । त्यो केन्द्रले जेनरेट गरे पनि हुन्छ,’ उनको भनाइ छ, ‘अरु वैकल्पिक उपायहरू छन् । अहिलेको प्रविधिको जमानामा मिसयुज हुने सम्भावना एकदमै कम हुन्छ । त्यसलाई हामी मिसयुज हुन दिँदैनौं ।’

कांग्रेसले नयाँ क्रियाशील सदस्यहरूका लागि झण्डै साढे सात लाख फारमहरू जिल्ला पठाएको छ । १४औं महाधिवेशनमा शतप्रतिशत क्रियाशील सदस्यता थपेको कांग्रेसले आगामी महाधिवेशनका लागि प्रतिशत संख्या नतोकी बढीभन्दा बढी नयाँ क्रियाशील सदस्यता वितरण गर्ने निर्णय गरेको छ ।

पार्टीको क्रियाशील सदस्यता लिन चाहे विधानबमोजिम योग्यता पुगेका व्यक्तिलाई सहज रुपमा सदस्यता प्रदान गर्ने निर्णय कांग्रेसको छ । नयाँ क्रियाशील सदस्यता वितरणको मापदण्ड सम्बन्धमा गरिएको निर्णयमा भनिएको छ, ‘कुनै पनि योग्य व्यक्तिलाई सदस्यताबाट वञ्चित नगर्ने ।’

नयाँ क्रियाशील सदस्यता वितरणमा कांग्रेसले वडाको जनसंख्याभित्र पनि महिला, आदिवासी जनजाति, दलित, मधेशी, खस आर्य, थारू, मुस्लिम, अल्पसंख्यक, अपाङ्गताको जनसंख्यालाई मध्यनजर गरी सोही आधारमा समानुपातिक/समावेशी प्रतिनिधित्वलाई ध्यान दिने पनि निर्णय गरेको थियो ।

केन्द्रीय कार्यसमितिको निर्णयअनुसार नयाँ क्रियाशील सदस्यता वितरण गर्दा १८ देखि ३० वर्षका युवाको व्यापक प्रतिनिधित्व हुने गरी प्राथमिकता दिएर वितरण गर्नुपर्ने र समाजमा विभिन्न पेशागत वुद्धिजीवी तथा सामाजिक कार्यमा संलग्न व्यक्तिहरूलाई प्राथमिकता दिनुपर्ने छ ।

यसअघि विधानमा ‘कुनै पनि इच्छुक व्यक्तिले सदस्यता लिन पाउने’ लेखेको कांग्रेस नयाँ क्रियाशील सदस्यता वितरणमा भने व्यवहारतः लागू नगर्ने, नियन्त्रण गर्ने, प्रतिशत संख्या तोक्ने गर्दै आएको थियो । जसका कारण महाधिवेशन अघि कांग्रेसमा जहिल्यै नयाँ क्रियाशील सदस्यता वितरणमा विवाद सिर्जना हुँदै आएको थियो ।

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?