१ पुस, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आदिवासी जनजातिको उत्थान, प्रवर्द्धन र विकासका लागि प्रभावकारी र परिणाममुखी काम गर्न निर्देशन दिएकी छन् ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २६औं सञ्चालक परिषद् बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
देशको कुल जनसंख्याको ३६ प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने आदिवासी जनजातिको उत्थान, प्रवर्द्धन र विकासका लागि प्रतिष्ठान एकमात्र सरकारी निकाय भएको उनको भनाइ छ ।
जातीय संस्थाको प्रतिनिधित्व गर्दै आएका पदाधिकारीहरूबाट सकारात्मक प्रतिवेदन आएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यसम्पादन गर्न प्रधानमन्त्री कार्कीले आग्रह गरिन् ।
लोपोन्मुख, सीमान्तकृत, पिछडिएका सबै आदिवासी जनजातिको उत्थान, संस्कृति संरक्षण तथा प्रवर्द्धनमार्फत देशको विविधता उजागर गर्दै पर्यटन प्रवर्द्धनमा समेत योगदान दिनुपर्नेमा उनको जोड थियो ।
बैठकमा प्रधानमन्त्री कार्की र अर्थमन्त्री रामेश्वर खनालले प्रतिष्ठानको कामको औचित्य पुष्टि भएमा बजेट अभाव हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरे ।
सोमबार साँझ प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न बैठकले प्रतिष्ठानका महत्त्वपूर्ण नीति, कार्यक्रम र संरचनात्मक विषयमा निर्णय गरेको छ।
बैठकले प्रतिष्ठानका आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ का संस्थागत प्रतिवेदन पारित गर्नुका साथै आगामी वर्षका लागि उद्देश्य पूरा हुने कार्यक्रम, योजना तथा नीति तय गर्ने निर्णय गरेको छ।
प्रतिक्रिया 4