News Summary
Generated by OK AI. Editorially reviewed.- गोंगबुको एक दोहोरी साँझमा झडप हुँदा २० वर्षीय बबिन गुरुङलाई धारिलो हतियारले आक्रमण गरी मृत्यु भएको छ।
- झडपमा संलग्न हरिशरण पन्तले पैदल हिँड्दै गरेका बबिनमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ।
- प्रहरीले झडपमा संलग्न ६ जनासहित दोहोरी सञ्चालक शिव सौगातलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
३ पुस, काठमाडौं । गोंगबुको एक दोहोरी साँझमा झडप भएको छ । झडप गर्ने समूहले सडकमा हिँड्दै गरेका एक पैदलयात्रीको हत्या गरेको छ ।
हत्या हुनेमा गोरखाको सिरानचोक गाउँपालिका–७ घर भई टोखा नगरपालिका–९ गोंगबु बस्ने २० वर्षीय बबिन गुरुङ छन् । गोंगबुको कुलान्त मार्गस्थित शुभलक्ष्मी गेस्ट हाउसमा बस्दै आएका उनको दोहोरी साँझमा झगडा गरेको समूहले आक्रमण गर्दा मृत्यु भएको हो ।
दोहोरी साँझमा झगडा गरेपछि बाहिर निकालिएको समूहले पैदल हिँड्दै गरेका बबिनको हत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए । जबकि उनी दोहोरी साँझको झडपमा संलग्नसमेत थिएनन् ।
झगडा गर्नेमध्ये हरिशरण पन्तले पैदल हिँड्दै गरेका बबिनलाई धारिलो हतियारले आक्रमण गरेका थिए । आक्रमणबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको थियो ।
त्यसपथि थप उपचारका लागि भन्दै सिनाामंगलस्थित केएमसी अस्पताल लगिएको थियो । उपचारकै क्रमा बुधबार बिहान ५ बजे उनको मृत्यु भएको एसपी भट्टराईले बताए ।
मंगलबार राति करिब साढे १ बजेतिर टोखा नगरपालिका–९ गोंगबुमा रहेको मिरमिरे दोहोरी साँझमा एउटा समूह गएको थियो । उक्त समूहमा धादिङको नेत्रावती डवजोङ घर भई काठमाडौं लोलाङ बस्ने ३० वर्षीय हरिशरण पन्त, सोही ठाउँका ३५ वर्षीय श्रीकृष्ण पन्त गएका थिए ।
अर्को पक्षका डडेल्धुराको नवदुर्गा नगरपालिका–५ घर भइ महाराजगञ्ज बस्ने २६ वर्षीय वीरेन्द्र साउद, दार्चुलाको महाकाली नगरपालिका–९ घर भई महाराजगञ्ज नै बस्ने २६ वर्षीय जनक सिंह नगारी, काठमाडौं साँखु घर भएका ३० वर्षीय प्रज्वल भुजेल र लमजुङको राइनास नगरपालिका–८ घर भई महराजगञ्ज बस्ने २९ वर्षीय मनोज सुनार पनि दोहोरी साँझ गएका थिए ।
सो क्रममा यी दुई समूहबीच दोहोरी साँझमा झडप भएको थियो । झडपपछि दोहोरी सञ्चालक गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ घर भएका ३६ वर्षीय शिव सौगात सुवेदीले दुवै पक्षलाई बाहिर निकालेका थिए ।
उनीहरू सडकमा आएपछि पुनः झगडा हुँदा हरिशरणले पैदल हिँड्दै गरेका बबिनमाथि धारिलो हतियार प्रहार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
अहिले प्रहरीले यी ६ जनासहित दोहोरी सञ्चालक शिव सौगातलाई समेत पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा राखेर अनुसन्धानअघि बढाइएको छ ।
प्रतिक्रिया 4