५ पुस, काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला मधेश यात्रामा निस्किएकी छिन् । पार्टीको आशन्न महाधिवेशन लक्षित गरेर उनी मधेश यात्रामा निस्किएकी हुन् ।
मधेश कांग्रेसको आधारभूमि भएकाले आफूले मधेश यात्रा गरेको उनको भनाइ छ । ‘मैले जिल्ला–जिल्लामा साथीहरूसँग छलफल गरेर कसरी पार्टी रूपान्तरण गर्ने भनेर छलफल गरिरहेकी छु’, नेतृ संग्रौलाले भनिन्, ‘मधेश नजागी कांग्रेस ब्युँझदैन र कांग्रेस नब्युँझी लोकतन्त्र सुरक्षित हुँदैन ।’
१५ औं महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र गुटबन्दी र आन्तरिक वैमनस्यताको अन्त्य गरी गुटबन्दीभन्दा माथि उठेर ‘नीति र विचारको कांग्रेस’ बनाउनु पर्नेमा उनले जोड दिइन् ।
‘१५ औं महाधिवेशन केवल नेतृत्व परिवर्तनको माध्यममात्र होइन, यो कांग्रेसलाई २१ औं शताब्दीको गति र प्रविधिसँग जोड्ने अवसर पनि हो’, संग्रौलाको भनाइ छ, ‘त्यसैलै हामीलाई पदमात्र होइन, जनताको विश्वास जित्ने संगठन चाहिएको छ ।’
उनले पार्टीभित्रको परिवारवाद र चाकरी प्रथालाई अन्त्य गर्दै क्रियाशील सदस्यताको वितरणलाई पारदर्शी बनाउन सबैले खबरदारी गर्नु पर्नेमा जोड पनि दिइन् ।
पछिल्लो समय मधेशमा उदाएका नयाँ शक्तिहरू र क्षेत्रीय दलहरूको प्रभावका बीच कांग्रेसको संगठनमा देखिएको सुस्ततालाई चिर्नु अहिलेको आवश्यकता रहेको उनको भनाइ छ । ‘कांग्रेसले मधेशलाई भोट बैंकको रूपमा मात्र नभएर विचारको केन्द्रका रूपमा हेर्नु पर्छ’, संग्रौलाले भनिन् ।
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन कांग्रेसका लागि प्रतिष्ठाको लडाइँ बनेको भन्दै उनले सुझबुझपूर्ण नेतृत्व नै आजको आवश्यकता रहेको बताइन् ।
भ्रातृ संगठन नेपाल महिला संघको नेतृत्व गरिसकेकी नेतृ संग्रौला पछिल्लो समय महाधिवेशनको तिथि-मितिबारे चुलिएको आन्तरिक विवादमा निर्धारित मितिमै नियमित महाधिवेशन हुनुपर्ने पक्षमा उभिएकी थिइन् ।
उनीसहित २८ जना केन्द्रीय सदस्यहरूले निर्धारित मितिमै नियमित महाधिवेशनको माग गर्दै पार्टी कार्यालयमा ज्ञापनपत्र नै बुझाएका थिए । पार्टीले महाधिवेशनको मिति तोकेपछि संग्रौलाले आफ्ना गतिविधिहरू मधेश केन्द्रित गरेकी हुन् ।
आगामी महाधिवेशनमा सहमहामन्त्रीका लागि प्रतिस्पर्धा गर्ने तयारी गरेकी संग्रौलाले सप्तरी, सिराहा, महोत्तरी, सर्लाही र धनुषाको भ्रमण पूरा गरेकी छिन् । उनले बाँकी जिल्लाहरू भ्रमण सोमबारसम्म पूरा गरिसक्ने प्रतिक्रिया दिएकी छन् ।
प्रतिक्रिया 4