पश्चिमी वायुको प्रभावले अहिले देशभर आंशिक रुपमा बादल लागेको छ । त्यसैले काठमाडौं उपत्यका लगायतका जिल्लामा मधुरो घाम लागेको छ । यस्तो अवस्था अझै केही दिनसम्म जारी रहने र जाडो बढेको महसुस हुने मौसमविदको पूर्वानुमान छ । साथै तराई मधेशका जिल्लामा अझै केही दिन हुस्सु-कुहिरोले दु:ख दिने छ ।
मौसमको पछिल्लो अवस्था र आगामी दिनको सम्भावनाबारे मौसमविद् डेभिड ढकालसँग गरिएको कुराकानी –
बादल लागेको छ । वर्षाको सम्भावना कत्तिको छ ?
अहिले देशभरि नै आंशिक बदलीको अवस्था देखिएको छ । तर, बादल लागे पनि तत्काल वर्षा हुने सम्भावना भने देखिएको छैन । यो खासगरी पश्चिमी वायुको प्रभाव हो । वर्षाका लागि पर्याप्त आद्रता नदेखिएकाले बादल मात्रै लाग्छ ।
बादल लाग्ने क्रम कहिलेदेखि सुरु भएको हो र कहिलेसम्म जारी रहला ?
बादल लाग्ने क्रम हिजो साँझदेखि नै सुरु भएको हो । आज दिनभरि र भोलि पनि मौसम यस्तै रहने देखिन्छ । पर्सि साँझदेखि भने बादल बिस्तारै कम हुँदै जाने सम्भावना छ । अहिले तल्लो वायुमण्डलमा भन्दा माथिल्लो वायुमण्डलमा बादलको मात्रा बढी देखिएको छ ।
यसले तापक्रममा कस्तो असर पार्छ ? के जाडो अझै बढ्ने हो ?
यसले अधिकतम तापक्रममा केही गिरावट ल्याउनेछ, जसले गर्दा दिउँसो केही चिसो महसुस गराउन सक्छ । न्यूनतम तापक्रममा भने खासै ठूलो परिवर्तन हुने देखिँदैन । यद्यपि, दिउँसो घाम नलाग्दा जाडोको महसुस भने बढी नै हुन्छ । त्यसैले जाडोको बेला बालबालिका, वृद्धवृद्धा र दीर्घ रोगीहरुले विशेष सावधानी अपनाउनुपर्छ ।
अहिलेको न्यूनतम र अधिकतम तापक्रमको ट्रेन्ड कस्तो छ ?
आज बिहान पौने ६ बजेको मापन अनुसार काठमाडौँको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस रहेको छ । यो अझै केही घट्न सक्छ । हिजोको अधिकतम तापक्रम १७.७ डिग्री सेल्सियस मापन गरिएको थियो । न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम दिउँसो अपडेट हुन्छ ।
अहिलेको औसत तापक्रमसँग तुलना गर्ने हो भने, हिजोको अधिकतम तापक्रम औसत (१९.९ डिग्री) भन्दा कम हो । अर्थात्, औसतभन्दा केही बढी चिसो महसुस भइरहेको छ ।
तराई–मधेशको पछिल्लो मौसमी अवस्था कस्तो छ ?
तराईमा अहिले कुहिरो र हुस्सु लाग्ने क्रम जारी छ । धनगढी, नेपालगन्ज, भैरहवा, जनकपुर, सिमरादेखि विराटनगर र चन्द्रगढीसम्म नै बाक्लो कुहिरो लागेको छ । अहिले तराईमा दिउँसो पनि घाम राम्रोसँग लाग्न सकेको छैन । थोरै मधुरो प्रकाश देखिए पनि आकाश पूर्ण रूपमा खुल्ने स्थिति छैन । यसले गर्दा तराईको तापक्रम पनि घट्दो क्रममा छ र जाडो बढेको छ ।
यो अवस्था स्वाभाविक हो कि अस्वाभाविक ?
यो समयमा तराई जस्तो होचो भू–भागमा यस्तो मौसमी प्रणाली देखिनु स्वाभाविक प्रक्रिया हो । छिमेकी भारतका भूभागमा पनि यस्तै अवस्था छ । यो स्थानीय भौगोलिक र मौसमी कारणले नै विकास भएको हो ।
के यसले वायु प्रदूषणको अवस्थालाई पनि असर गरेको छ ?
प्रदूषणको सन्दर्भमा यसले खासै ठूलो प्रभाव पारेको देखिँदैन । अघिल्ला वर्षहरूमा जसरी प्रदूषणको मात्रा ह्वात्तै बढ्ने वातावरण सिर्जना हुन्थ्यो, यस पटक त्यस्तो गम्भीर स्थिति बनिसकेको छैन । यद्यपि, हामीले प्रदूषणको तथ्यांक विश्लेषण गर्दैनौं । त्यो काम वातावरण विभागले गर्दछ ।
प्रतिक्रिया 4