+
+
Shares
विश्व ध्यान दिवस :

१२ वर्षे ध्यान साधनाका ६ भोगाइ

शुरुको हप्ता मात्र पाँच मिनेटको लागि ध्यान गर्दा राम्रो हुन्छ। शुरुमै हामी आधा घण्टाको टार्गेट राख्छौं भने त्यो पूरा नहुन सक्छ र नसकिने रहेछ भन्ने मानसिकता विकास हुन्छ।

सुयश भण्डारी सुयश भण्डारी
२०८२ पुष ६ गते १६:२७

केही महिना अगाडि दिल्लीको चर्को गर्मीमा कोल्ड कफीको चुस्की लिंदै गर्दा मेरो एक साथीले सोधे– ‘सुयश, तिमीले योग-ध्यान गर्न थालेको कति वर्ष भयो?’

अचेल यस्ता प्रश्‍नहरूले मलाई खासै उत्साहित बनाउँदैनन्। मलाई म ध्यान गर्छु र म ध्यानमा लागेको यति वर्ष भयो भन्ने कुरामा ज्यादा दम नै लाग्दैन। प्रश्नकर्ता आफ्नो साथी पर्‍यो, उसको उत्तर नकार्न सकिनँ। “१२ वर्ष भएछ साथी”, मनमनै गन्दै मैले भनें।

मेरो जवाफले ऊ पनि आश्चर्यचकित भयो! उसले हाँस्दै थप्यो ‘अब त धेरै कुरा गर्न सक्ने भइसक्यौ होला नि! पानीमा हिंड्न सक्छौ? कि हावामा तैरिन?’

उसको प्रश्नमा व्यंग्य वा घोचपेचको बाछिटा थिएन। त्यो उसको विशुद्ध जिज्ञासा थियो। उसको कौतूहल साँचो भएकाले मलाई पनि कुनै स्वाङ नपारी उत्तर दिन मन लाग्यो। एकैछिन म सोचमग्न भएँ। उसले खोजेको जवाफ मेरो जीवनको फेहरिस्त थिएन, मलाई त्यो सुनाउनु पनि थिएन। शायद उसले मबाट कुनै अद्‍भुत वा अलौकिक जवाफको अपेक्षा राखेको थियो।

‘ध्यान साधना गर्नु पहिलेको भन्दा अहिले मेरो आत्मसन्तुष्टि धेरै बढेको छ। त्योभन्दा बढी उपलब्धि त अरू के नै होला र! बाँकी कुरा कसरी-केमा मापन गर्ने हो- मलाई नै थाहा छैन’; मैले गम्दै भनें।

मेरो उत्तर उसलाई त्यति बौद्धिक वा दार्शनिक लागेन शायद, उसले एsss मात्र भन्यो! उसलाई मेरो उत्तर चाखलाग्दो नलाग्नु अस्वाभाविक पनि थिएन। आज जसरी योग र ध्यानको बजारीकरण र विनिमय गरिएको छ- हरेक चौराहामा ध्यान सिकाउने गुरुको प्रचार, फेसबुक र इन्स्टाग्राममा रिल बनाउनेको भीड अनि स्वघोषित विज्ञ पोडकास्टरहरुको सतही ज्ञान- यिनका बीचमा आत्मसन्तुष्टिको कुरा फिक्का लाग्नु स्वाभाविक नै होला।

उसले अझै पनि चित्त बुझाएन र पुनः प्रश्न गर्‍यो ‘साँच्चै भन न, के फरक हुँदोरहेछ त ध्यान गरेर?’ हामी बीचको त्यही संवादको अंश म यहाँ साभार गर्दैछु—

१. ध्यान र स्वत: परिवर्तन

ध्यानको अभ्यास शुरु गर्दा म एउटा भ्रममा थिए- “ध्यान गर्ने व्यक्ति मात्र असल हुन्छन्, उनीहरुको जीवन मात्रै सफल र व्यवस्थित हुन्छ। अरु सबै व्यक्ति मिथ्या हुन्।” मलाई मैले ध्यान गर्दा जस्तो अनुभव गरें, अरुले पनि त्यस्तै अनुभव गर्नैपर्छ भन्ने लाग्न थाल्यो।

कुनै नयाँ र राम्रो कुरा थाहा पाएपछि अरूलाई पनि त्यसको जानकारी गराइहाल्ने मेरो स्वभावले अरूलाई पनि जबरजस्ती ध्यान गर्न लगाउने स्थितिमा म पुगें। त्यसबेला मैले ध्यान गर्न थालेको दुई–तीन वर्ष जस्तो मात्र भएको थियो, मैले एक जना मिल्ने साथीलाई जबरजस्ती ध्यान गर कि गर भनेर बलमिच्याइँ गर्न थालें।

यसले उनमा यस्तो नकारात्मक प्रभाव पार्‍यो कि आजसम्म पनि उनी ध्यान गर्ने व्यक्ति नियन्त्रणमुखी, आत्मकेन्द्रित र हठी, आफ्नो मत मात्र थोपर्ने खालको हुन्छन् भन्ने सोचमा छन्। यस अनुभवबाट मैले एक महत्वपूर्ण पाठ सिकें ‘ध्यान गर्ने व्यक्तिले अरूलाई ध्यान गर्न प्रेरित त गर्न सक्छ, तर जबरजस्ती लाद्‍न भने सक्दैन।’

मलाई सुरुमा ध्यान गर्दा कस्तोसम्म लाग्न थाल्यो भने ध्यान गर्ने व्यक्ति मात्रै असल, अरू सबै तुच्छ हुन्छन्। यो दृष्टिकोणले मलाई यति धेरै प्रभाव पार्‍यो कि मैले साथीहरूसँग सामान्य कुराकानी गर्दा पनि उनीहरूलाई आध्यात्मिक ज्ञान दिन थालें।

यो श्रृंखला कहाँसम्म पुग्यो भने साथीहरू बसेर सोमरस पिउँदा पनि मैले यस्तो गर्नुहुँदैन भनेर पिउनेहरूलाई पनि ज्ञान दिन थालें। सोही क्रममा एक जना सिनियर दाजुसँग मेरो नराम्रोसँग झगडा समेत पर्‍यो। यसबाट मैले ध्यानले आफैंमा परिवर्तन गर्नुपर्छ, आफूभित्र शान्ति र चेतना खोज्नुपर्छ, तर अरूलाई गर्नैपर्छ भनेर थोपर्नु भने उचित होइन भन्ने बुझें।

२. जिन्दगी/जिम्मेवारीदेखि भाग्नु अध्यात्म होइन

मलाई ध्यानमा लागेदेखि नै अब म पनि संन्यास लिन्छु भन्ने भावनाको विकास भयो। आफ्नो वरिपरि गेरु, सेतो, नीलो, रङको वस्त्र धारण गरेका व्यक्तिहरू देख्दा उनीहरूको भौतिक जीवनसँग कुनै लेनादेना नै छैन, कति आनन्दको जीवन भन्ने लाग्थ्यो। त्यसैले ध्यान गर्न थालेको करिब दश वर्षपछि बाँकी जीवन आश्रममै बिताउने निर्णय गरी परिवारलाई जानकारी दिएर म भारतको एक आश्रममा बस्न गएँ।

सो आश्रम बसाइको दौरानमा २०-२२ वर्षदेखि ५०-५५ वर्ष अनि ६० वर्षदेखि ७०-७५ वर्षसम्मका मान्छेको भोगाइ देखें/सुनें- आश्रमको सत्सङ्गमा आउनको लागि १०-१२ वर्षे सन्तानलाई कोठामा थुनेर आउने आमादेखि श्रीमती हुँदाहुँदै परस्त्रीसँग सम्बन्ध राखेर सम्पत्ति स्वाहा गरेर आउने श्रीमानसम्म, बिहेको लागि वर वा वधु मिलाइदिने म्याट्रिमोनियल साइट जस्तो सोच राखेर आउनेसम्म- जुन कुराहरूले अध्यात्मवादसँग कुनै तादाम्यता नै राख्दैन। सङ्गत गर्दै जाँदा मलाई आभास भयो धेरै जना पाखण्डको सिकार भएका हुने रहेछन्। (रुल अफ एक्सेप्शन जहाँ पनि लागू हुन्छ, यहाँ अध्यात्मलाई साँचो अर्थमा बुझेर आएका केही अपवादलाई भनिएको होइन।)

आश्रममा पुग्दा मैले सोचेको थिएँ- अब मलाई भौतिक वस्तु केही चाहिंदैन, सबै कुरा त्यागेर गएपछि भगवानसँग मेरो साक्षात्कार हुन्छ। तर वास्तविकता त्यस्तो भएन। आश्रमको जीवन बुझ्दै जाँदा महसुस गरें- म त जिन्दगीदेखि भाग्न पो आएको रहेछु।

आफ्नो जिम्मेवारी बहन गर्न नसकेर मलाई अब केही चाहिंदैन भने तापनि मलाई त सबथोक चाहिने रहेछ। ममा भक्तजन/श्रद्धालुहरूले ल्याइदिएको मिठो खानेकुरा खाने, बजारका राम्रो–राम्रो सामान प्रयोग गर्ने चाहनाको सूक्ष्म रूपमा विकास हुन थाल्यो।

म भगवान खोज्न आश्रम गएको होइन रहेछु, आफ्नो जिम्मेवारीबाट उम्किन पो गएको रहेछु भन्ने महसुस हुन थाल्यो। सबै सांसारिक मोह छोडेर आएको मान्छे ममा हरेक कुराको आसक्ति पो विकास हुन थालेछ- पाखण्डी त म पनि रहेछु। त्यसैले आश्रम बसाइको त्यो ६ महिनाको अवधिमा मैले बुझें- जिन्दगीबाट भागेर होइन आफ्नो जिम्मेवारी स्वीकारेर अगाडि बढ्नुपर्ने रहेछ।

३. मानिसको उमेर पुग्दैमा ज्ञानी हुँदो रहेनछ; चेतनाको स्तरले ज्ञानको परिभाषा निर्माण गर्दो रहेछ

मलाई के लाग्थ्यो भने उमेर पुगेपछि आफैं ज्ञान हासिल हुन्छ। हामीले पढ्दै आएको उखानले पनि त्यही भन्छन्- कति भोटो फटालेको, कति अनुभव बटुलेको आदित्यादि। तर वास्तविकता त्यो मात्र होइन।

यसैले उमेर पुगेको, डिग्री बोकेको, सामजमा नाम कमाएको व्यक्ति हुँदैमा सो व्यक्ति स्वचालित रूपमा ज्ञानी हुँदैन। मानिसको चेतनाको स्तर नै वास्तविक ज्ञानको आधार हो। चेतना व्यक्तिगत विकास, अनुभव र आत्मज्ञानबाट जन्मिन्छ।

ज्ञान, कर्म योग र भक्ति योगको उद्देश्य भनेको नै ॐ ध्वनिको श्रवण हो। हामीमा जति चेतना हुन्छ, त्यति नै श्रवण गर्न र जीवन अनुभव गर्न सकिन्छ। अध्यात्मले चेतनाको स्तर बढाउने बाटो देखाउँछ। ध्यान गर्ने व्यक्ति नै वर्तमानमा जिउन सिक्छ।

धेरै मान्छे कि त विगतको कुरालाई लिएर तनावमा हुन्छन् कि त भविष्यको कुरालाई लिएर। ध्यानले यी दुवै कुरालाई चिर्दै आफ्नो श्वासमा ध्यान केन्द्रित गर्न सिकाउँछ जसले गर्दा वर्तमान क्षणमा बाँच्न सिकिन्छ।

कुन कुरा ठिक वा बेठिक हो भन्दा पनि समय र परिस्थितिमा के सही छ भन्ने बुझाइ नै महत्त्वपूर्ण हुन्छ। त्यसकारण उमेर वा डिग्रीभन्दा पनि महत्वपूर्ण कुरा भनेको वर्तमानमा जिउन सक्ने चेतना नै हो। चेतनाको विकास सबैको व्यक्तिगत यात्रा हो, त्यसको लागि उमेर वा सामाजिक स्थिति मात्र पर्याप्त हुँदैन।

४. इमोशनलाई राम्रोसँग ह्यान्डल गरिएन भने ठूलो दुर्घटना निम्त्याउँछ

यो कुरा किशोर–किशोरीको लागि बढी नै महत्त्वपूर्ण छ। मेरा २२-२५ वर्षको उमेरका भाइबहिनीसँग कुरा गर्दा थाहा हुन्छ कि उनीहरू कति एक्लो भइसकेका छन्।

अत्यधिक सोसल मिडियाको प्रयोगले यो स्थिति अझै भयावह भएको छ। हामीले स्वयंलाई हेरेर श्वास–प्रश्वास सम्बन्धी नियमहरू कक्षाकोठामा सिकाउन सकियो भने मात्र पनि धेरै भाइबहिनीलाई कुलत वा दुर्घटनाबाट बचाउन सकिन्छ।

कुनै पनि कुलतको प्रयोगले हाम्रो चेतनालाई नै तल्लो स्तरमा पुर्‍याउँछ र निर्णय गर्न सक्ने क्षमता नै कमजोर बनाउँछ। म आफ्नो व्यक्तिगत अनुभवका आधारमा पनि भन्न सक्छु- गाँजा र रक्सीको प्रयोगले एकैछिन हामीलाई दुःख भुल्न मद्दत गरे पनि दीर्घकालीन रूपमा यसले आत्मबलमा ह्रास ल्याउने र समस्यासँग जुझ्ने क्षमता कमजोर बनाउँछ।

ध्यान र योगले हाम्रो चेतनाको विकास गर्ने मार्गतिर लैजान्छ भने दुर्व्यसनीले कुनै परिस्थितिलाई सामना गर्ने भन्दा पनि त्यसलाई नजरअन्दाज गरेर समस्याबाट भाग्ने बनाउँछ।

के ध्यान गर्दैमा जादुको छडी जस्तो सब कुरा ठिक हुन्छ त? अवश्य हुँदैन! तर यसले अनुशासित हुन, मानसिक रूपमा स्थिर र निर्णय क्षमता विकास गर्न भने अवश्य मद्दत गर्छ। यसलाई कसरी पनि लिऔं भने एकातिर कोही निरन्तर पाँच वर्षसम्म योग साधना गरेको व्यक्ति छ र अर्कोतिर दुर्व्यसनीमा लागेको व्यक्ति छ भने ती दुई व्यक्तिको चेतनामा फरक स्पष्ट रूपमा पाउन सकिन्छ।

५. आत्म निरीक्षण गर्ने बानी बस्छ

मैले ध्यान मार्फत सिकेको सबैभन्दा महत्त्वपूर्ण कुरा आत्म निरीक्षण गर्ने बानी हो। जीवनमा घट्ने धेरै घटनाको स्थिति तटस्थ हुन्छ तर ती घटनाप्रतिको प्रतिक्रिया पूर्ण रूपमा हामीमा निर्भर गर्दछ।

त्यसैले यदि हामीमा पर्याप्त विवेक शक्ति छैन भने हामी आफैंलाई हानि पुर्‍याउने निर्णय गर्न पुग्छौं। विवेक शक्ति एकै दिनमा विकास हुँदैन। चेतनाको स्तरले नै आफूलाई कुनै घटनालाई समभावले हेर्न सक्षम बनाउँछ। यही चेतनाले हामीलाई हठात् प्रतिक्रिया दिने होइन, प्रतिक्रिया दिने तरिका छनोट गर्न सिकाउँछ।

हामीले हरेक राति सुत्नुपूर्व दिनभरि भएका घटनाको आत्म निरीक्षण गर्ने; शान्त भावमा आफ्नो गल्ती र अरूको गल्तीलाई विवेकको तरबारले चिर्न सक्ने बानी बसाल्यौं भने हामी अवश्य परिवर्तनको बाटोमा हिंडिन्छ।

यस्तो आत्म निरीक्षणले भविष्यमा त्यस्तै किसिमको घटना घट्दै गर्दा हामीले आत्मालोचना गरेर सचेत निर्णय लिन सक्छौं जसका कारण अर्को पटक त्यही परिवेशमा उही गल्ती दोहोरिने सम्भावना घट्दै जान्छ।

रिस, आवेग, संयमको कमी, भावनात्मक असन्तुलन जस्ता समस्याहरू छन् भने पनि आत्मनिरीक्षणबाट त्यसको मूल कारण पहिचान गर्न सकिन्छ। म स्वयं पनि पहिले एकदमै क्रोधित व्यक्ति भए पनि निरन्तर आत्म निरीक्षण र सोबाट प्राप्त बोधलाई व्यवहारमा उतारेको कारणले गर्दा मेरो क्रोध क्रमशः घट्दै गई म धेरै शान्त बन्न सकेको छु।

६. असल बानी बसाल्नको निम्ति इच्छाशक्ति बढाउँछ

यदि हामी आफ्नो बानी परिवर्तनमा इच्छाशक्ति स्थापित गर्न चाहन्छौं भने सुरुमा स-साना अभ्यासबाट परिवर्तन थाल्नु प्रभावकारी हुन्छ। बिहान उठेपछि ध्यान गर्ने सङ्कल्प लिनुहुन्छ भने सुरुको हप्ता मात्र पाँच मिनेटको लागि ध्यान गर्दा राम्रो हुन्छ।

सुरुमै हामी आधा घण्टाको टार्गेट राख्छौं भने त्यो पूरा नहुन सक्छ र नसकिने रहेछ भन्ने मानसिकता विकास हुन्छ। त्यसैले आफूले सक्ने स्थानबाट शुरु गरेर क्रमशः अभ्यास बढाउँदै लैजानु राम्रो हुन्छ।

यसले हाम्रो चेतनामा सकारात्मक ऊर्जा प्रवाह हुन्छ र आफूभित्रको इच्छाशक्ति पनि बढाउँछ। स-साना लक्ष्य पूरा गर्दै अगाडि बढियो भने ‘आफूले चाहेको कुरा पूरा गर्न सक्छु’ भन्ने मानसिकता बन्छ।

हो आजको हामीमध्ये अधिकांश आफ्नो निर्धारित लक्ष्य पूरा गर्न नसक्ने रोगबाट ग्रसित छौं। ध्यानको माध्यमबाट इच्छाशक्तिको विकास व्यवस्थित र प्रभावकारी रूपमा गर्न सकिन्छ।

(१२ वर्षदेखि क्रियायोग ध्यान साधना गर्दै आएका लेखक हाल आईआईटी दिल्ली मास्टर्सको रिसर्च स्कलर हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?