१२ पुस, काठमाडौं । शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ ।
बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय सहमतिका क्रममा ऊर्जामन्त्री कुलमान घिसिङलाई पनि सँगै लानुपर्ने भनेपछि अन्तिम समयमा सहमति अनिश्चित भएको थियो ।
स्रोतका अनुसार सुरुमा दुई पक्ष बसेर कुरा टुंग्याउने र मन्त्री घिसिङलाई पछि जोड्ने विषयमा कुराकानी अघि बढेको थियो । सोहीअनुसार पदीय बाँडफाँडको कुरा पनि सकिएको थियो । तल्लो तहका कति ‘स्टेक’ कसले लिने भन्ने विषयमा केही कुरा मिल्न बाँकी थियो ।
‘ती पनि मोटामोटी मिल्थे । दुवैले ५०–५० प्रतिशत स्टेक लिने भन्नेमा छलफल थियो । बालेन पक्षले आफूहरुलाई पार्टीभित्र ५० प्रतिशत स्टेक चाहिने कुरा माग्नुभएको थियो । यसमा संवाद जारी थियो,’ स्रोतले भन्यो, ‘तर, अन्तिममा उहाँहरुले कुलमानजीलाई पनि सँगै लानुपर्छ भन्ने खालको कुरा गर्नुभयो । यसले थप अनिश्चय बढायो ।’
शुक्रबार दिनभर रास्वपा र बालेन पक्षका व्यक्तिहरू छलफलमा थिए । दुई पक्षीयमात्र हुँदा आज (शनिबार) नै विषय टुंगिने सम्भावनाबारे स्रोत भन्छ, ‘दुई पक्ष मिलेर अहिले जाने, पछि कुलमानजीलाई कुनै तरिकाले ल्याउँला भनेको । तर, बालेन पक्षले अहिले नै सँगै लानुपर्छ भनेपछि के हुन्छ यसै भन्न सकिँदैन ।’
त्रिपक्षीय नै छलफल गर्नुपर्ने भन्दै शुक्रबार राति एक होटलमा तीन नेता ‘डिनर’का लागि बस्ने पनि करिब–करिब तय भएको थियो । तर, अन्तिम अवस्थामा ‘डिनर मिटिङ’ पनि बस्न सकेन ।
‘डिनर मिटिङ’ नभएपछि बालेनले गोदावरी पुगेर आफूनिकटसँग छलफलमा गरेका थिए । अहिले शनिबार बिहान कुलमान र बालेनबीच छलफल चलिरहेको छ ।
रास्वपासँग सहमति गर्नुअघि दुई पक्षबीच भेटवार्ता चलिरहेको हो । बालेन र कुलमानबीच जारी छलफलपछिमात्रै सम्भावित सहमतिबारे थप स्पष्ट हुने रास्वपाका तर्फबाट छलफलमा संलग्न एक नेताले अनलाइनखबरलाई बताए ।
‘अहिले नै मिलिसक्यो, आजै हस्ताक्षर हुन्छ भन्न हतार हुन्छ । दुई पक्षीय भएको भए अहिलेसम्म टुंगिसक्थ्यो,’ ती नेताले भने, ‘अब तीन पक्षीय भनेपछि के हुन्छ, कुलमान र बालेनबीचको भेटपछि थाहा हुन्छ ।’
दुई पक्षीय सहमति भए बालेनलाई प्रधानमन्त्री दिने र सभापति रवि लामिछानेले पार्टीको नेतृत्व गर्ने सहमति भइसकेको पनि ती नेताले बताए । उनका अनुसार बालेनसँग पार्टीको नाम रास्वपा र चुनाव चिन्ह घण्टी नै रहने सहमति भइसकेको छ ।
बालेनसँगको सहमतिपछि पार्टीको तल्लो तहको व्यवस्थापनले भने मूर्तता पाउन सकेको छैन । तल्लो तहको व्यवस्थापनको विषयमा गृहकार्य जारी छ ।
‘रास्वपाका वार्ता टोलीका साथीहरू कुलमान र बालेनबीचको भेटपछि आउने सन्देशलाई कुरिरहनुभएको छ । अब कोर्स कसरी अघि बढ्छ यकिनका साथ भन्न सकिँदैन,’ रास्वपाका एक नेताले भने ।
वैकल्पिक शक्तिका लागि रवि, बालेन र कुलमानबीच सहमति नभए कुलमान र बालेन भने एक ठाउँमा उभिने लगभग पक्कापक्की भएको कुलमाननिकट स्रोतले दाबी गरेको छ ।
‘यदि मिलेन भने बालेनजी र हाम्रो मोटामोटी सहमति भइसकेको छ । रविजीसँगको छलफलमा पनि बालेनजीले नै हाम्रो तर्फबाट पनि कुरा गरिरहनुभएको छ,’ कुलमानको भनाइ उद्धृत गर्दै उनीनिकट एक नेताले अनलाइनखबरसँग भने ।
प्रतिक्रिया 4