१२ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देश गम्भीर संकटमा फस्न लागेको बताएका छन् । शनिबार झापाको बिर्तामोडमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले अहिले देश विदेशीहरूले चलाइरहेको आरोप लगाए ।
आगामी चुनावमा कसलाई जिताउने, कसलाई हराउने मात्रै नभइ अहिले दलहरू पनि विदेशीले नै बनाइराखेको आरोप लगाए ।
‘आज हेर्नुस्, दलहरूको हातमा के रहेछ ? आज सरकार कसले बनाइदियो ? कसको सिफारिसमा मन्त्रीहरू बनिराखेका छन्, राजेन्द्र लिङ्देनले यहाँबाट भन्नुपर्छ ? त्यतिमात्रै होइन, अब आउने चुनावमा कुन पार्टीले जित्नुपर्छ, कुन पार्टीले हानुपर्छ त्यो पनि विदेशीहरूले बनाइदिँदैछन् भन्ने तपाईंहरूले सुन्नुभएको छ,’ लिङ्देनले भने, ‘यतिमात्रै होइन, विदेशीहरूले यहाँ पार्टी पनि बनाइदिँदैछन् । भने, देश एउटा गम्भीर संकटमा फस्न लागेको छ ।’
यो संकटबाट जोगाउने विकल्प एउटा मात्रै राप्रपा रहेको उनको भनाइ छ ।
‘त्यो सबैबाट जोगाउनका लागि अब एकमात्रै बाटो र विकल्प राष्ट्रिय प्रजातन्त्र पार्टीको विकल्प हो,’ उनले भने ।
आफूहरू चुनावमा केही सिट जित्ने कुरा मात्रै लिएर नआएको उनको भनाइ छ ।
‘हामीले चुनावमा केही सिट मात्रै जित्ने कुरा लिएर आएका छैनौं । राप्रपाले जित्ने कुरामात्रै लिएर आएका छैनौं । चुनाव भएछ भने, हामी उम्मेदवार भयौं भने त्यो कुरा पनि लिएर आउँला । तर त्यो भन्दा पनि ठूलो कुरा आज देशले जित्ने र देशलाई जिताउने कुरा हामीले लिएर आएका छौं,’ उनले भने ।
प्रतिक्रिया 4