१३ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले केही समयअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लक्षित टिप्पणी गरेका थिए, ‘नयाँ पुराना सबै नेताहरू चोर हुन् । कसैलाई देशको माया छैन ।’
उनले अर्को एउटा अभद्र टिप्पणी गरेका थिए, ‘…आरएसपी !’
रास्वपालाई तितो टिप्पणी गर्ने बालेन आइतबार बिहान झिसमिसेमै रास्वपामा समाहित भए । रास्वपा सभापति रवि लामिछाने र बालेनले ७ बुँदे सहमतिमा हस्ताक्षर गर्दै एकअर्कामा अंकमाल गरे ।
हिजोको तितो टिप्प्णीलाई एक अर्काले हार्दिकतामा परिणत गरे । सँगै राजनीतिक सहयात्रामा अगाडि बढ्ने अठोट लिए । रवि सभापति, बालेन भावी प्रधानमन्त्री बनेर देश बनाउने संकल्प लिए । यो मिलनलाई रवि–बालेन निकटकाहरूले दुई–दाजुभाइको मिलनको रुपमा अर्थाएका छन् ।
तर रास्वपा सभापति लामिछाने सहमतिलाई देशको आवश्यकता ठान्छन् । ‘सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छ,’ सभापति लामिछानेले सम्झौता पत्रमा हस्ताक्षर गर्दै गरेको तस्वीर साझा गर्दै लेखेका छन् । सोही तस्वीर बालेनले पनि सेयर गरेका छन् ।
रास्वपा र बालेनबीच ११ पुस (शुक्रबार) मा नै सहमति गर्ने तयारी थियो । एउटा खाका पनि बनिसकेको थियो । तर दुई दिन ढिला गरी सहमतिले मूर्तरुप पायो । सहमतिमा ढिला हुनुको कारण उज्यालो नेपाल पार्टीका संरक्षक ऊर्जामन्त्री कुलमान घिसिङलाई पनि समेट्न खोजिएकाले हो ।
‘बालेन दाईको जोड कुलमानज्यूलाई पनि सँगै जोडेर लैजाउ भन्ने थियो । तर उहाँ सहमतिमा आउनु भएन,’ बालेन निटक एक नेताले भने ।
कुलमानले सहअस्तित्वको प्रश्न उठाउँदै पार्टीको नाम, चिह्न र पद सबैमा विमति जनाए । शनिबार बिहान र साँझ दुई पटक बालेन र कुलमानबीच वार्ता पनि भयो । पोखरा जाने तयारीमा रहेका कुलमान पनि आफ्नो कार्यक्रम रद्द गरेर वार्तामा होमिए तर सहमति जुट्न सकेन ।
उज्यालो नेपाल पार्टीले सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा कुलमान घिसिङ र प्रधानमन्त्रीमा बालेन शाहलाई अघि सार्ने रास्वपाको प्रस्ताव अस्वीकार गर्यो । पार्टीको नाम, चुनाव चिह्न, सभापति, प्रधानमन्त्री सबै रास्वपाबाट हुने भएपछि उज्यालो नेपाल पार्टी एकताबाट ब्याक भयो । र, अन्तत एकता यात्रामा कुलमानको पार्टी हाललाई छुट्यो ।
‘हिजो बिहान र साँझ बालेन दाई र कुलमानज्यूबीच दुई पटक वार्ता भयो तर सहमति हुन सकेन,’ बालेन निकट अर्का एक सदस्यले भने । सहमति नजुटेपछि बालेन र कुलमान बालुवाटारबाट छुटे ।
बालेनलाई रास्वपाका सभापति लामिछानेसहितका नेताहरू कमलपोखरीस्थित असिम शाहको घरमा पर्खिरहेका थिए । बालुवाटारबाट बालेन पनि असिमको घरमा पुगे । र, वार्ता सुरु भयो । र, कुलमान नमिसिए पनि रास्वपामा बालेन मिसिने सहमति जुट्यो ।
वार्तामा सहभागी एक सदस्यका अनुसार, बिहानको ३ बजे खाका तयार भयो । ती सदस्यका अनुसार, रास्वपाबाट शिशिर खनाल, बालेन तर्फबाट भूपदेव शाह र सुदीप ढकाल लगायतका मिलेर खाका बनाए ।
उक्त सहमति पत्रमा रवि–बालेनले बिहानको ४ बजे हस्ताक्षर गरे । हस्ताक्षरको ऐतिहासिक क्षणमा रास्वपा उपसभापति डीपी अर्याल, नेताहरू स्वर्णिम वाग्ले, शिशिर खनाल, असिम शाह, कुमार बेन, सुदिप ढकाल, केपी खनाल, भूपदेव साह, कलाकार निश्चल बस्नेत लगायत साक्षी बने ।

तर, यो सहमति जुटाउन साक्षी बसेका सबैको भूमिका उत्तिकै छ । स्मरणहोस् अघिल्लो साता पनि रवि–बालेनको भेटवार्ता असिमकै घरमा भएकको थियो । अन्तत: ऐतिहासिक ७ बुँदे सहमति पनि उनकै घरमा भयो ।
यसरी लामो कसरतपछि रवि–बालेन सहमति भयो । ‘४८ घन्टाको अनवरत खटाई पश्चात अन्तत: बिहानको ४ बजेबाट नेपालमा नयाँ युवा युगको सुरुवातका निम्ति अब घन्टी बजाउँदै रास्वपाबाट भावी प्रधानमन्त्री बालेन शाह,’ बालेन निकट केपी खनालले लेखेका छन् ।
जेनजी आन्दोलनको एजेन्डा अनुसार नै रवि–बालेनको मिलन भएको निचोड रवि–बालेन दुवै पक्षको छ । र, जेनजी युवाहरूले पनि नयाँ शक्तिहरूलाई मिल्न दबाब दिइरहेका थिए । यतिसम्म कि, ज्वागलमा सहयोगी कुमार बेनको घरमा बालेनले नयाँ पार्टीका नेताहरूसँग वार्ता गरिरहँदा मिल्नका लागि जेनजीका अगुवाहरू ढोकामै धर्ना दिनसमेत पुगेका थिए । यसले पनि मिल्नका लागि रवि र बानेनलाई दबाब सिर्जना गर्यो ।
नख्खु कारागारबाट निस्किएलगत्तै लामिछानेले एकताको लागि विभिन्न राजनीतिक भेटवार्ता र पार्टी गतिविधि बाक्लो बनाएका थिए । सहमतिको प्रस्थान–बिन्दु रवि जेलबाट निस्किएपछि बन्यो ।
‘काठमाडौँका मेयर बालने शाहप्रति युवा र नवयुवाहरूको ठूलो आशा रहेको हामीलाई थाहा नै छ । उहाँको सामाजिक सञ्जालको उपस्थिति र काठमाडौं महानगरमा गर्नुभएको कामले गर्दा हामी जहाँ गए पनि, प्रवासमा पनि ‘तपाईँहरू मिल्नुपर्छ’ भन्ने घचघच्याइँ एकदमै उत्कृष्ट थियो । त्यसैबेला रवि लामिछाने पनि कारागारमा हुनुहुन्थ्यो । अहिले उहाँ बाहिर आउनुभएको छ र यो सबै वातावरण हामीले बनायौं,’ रास्ववाका उपसभापति डा. स्वर्णिम वाग्लेले भने ।
तर अघिल्लो साता भएको रवि–बालेन भेटमा बालेन त्यति सन्तुष्ट थिएनन् । ‘रास्वपाले अलि साइजमा राख्न खोजेको जस्तो देखिएको थियो । जब बालेन दाईले ज्वागलबाट भेटवार्ता तीव्र बनाउनु भयो । त्यसपछि रवि दाई पनि सफ्ट हुनुभयो,’ बालेन निटक एक सदस्यदले भने ।
अघिल्लो चुनावमा कसरी मिलेको थियो ?
रास्वपा र बालेन समूह एजेन्डामा अहिले होइन, गत २०७९ मा भएको स्थानीय तह र प्रतिनिधिसभाको चुनावदेखि नै एकै ठाउँमा थिए । बालेन २०७९ को स्थानीय तह चुनावमा काठमाडौं महानगरको प्रमुखमा निर्वाचित भए । बालेनलाई जिताउन खटिएको टिम नै प्रतिनिधिसभाको चुनावमा रास्वपाका उम्मेदवारलाई जिताउन होमिएको थियो । तर, बालेन स्वतन्त्ररुपमा मेयरमा विजयी भएकाले मौन बसे । तर उनको टिम भने लागिपरेको थियो ।
मुद्दा एउटै भएपछि बालेन समूहका केही नेता रास्वपामा प्रवेशसमेत गरेका थिए । त्यो समयमा मुद्दामा एक भएपछि बालेनको टिमका गणेश कार्की लगायतका नेताहरू रास्वपामा आएका थिए । त्यसबेला नै आगामी चुनामा एजेन्डामा एक भएमा रवि–बालेन एकै ठाउँमा हुने दाबी नेताहरूले गरेका थिए । ‘एजेन्डामा सबै सँगै थियौं । गत चुनावमा पनि रास्वपाका उम्मेदवारलाई बालेनको साथ सहयोग नै थियो,’ कार्कीले भने ।
यतिसम्म कि, मेयर बालेन र रास्वपाका सभापति लामिछानेले गत चुनावमा प्रदेशसभा सदस्यका उम्मेदवारलाई मत दिएका थिएनन् । त्यसबेला बालेन स्वतन्त्र उठेर चुनाव जितेकाले पार्टीमा आबद्ध हुन चाहेका थिएनन् । ‘त्यसबेला अर्को चुनावमा मुद्दा मिलेमा बालेन पनि रास्वपामा आउनु हुन्छ भनेकै थिएँ, त्यस्तै भयो,’ कार्कीले भने । नेताहरूका अनुसार रवि–बालेन पहिलेदेखि नै एजेन्डामा एकै ठाउँमा थिए ।
संसदमा रास्वपाका सांसदले महानगरको एजेन्डा उठाएर बालेननलाई साथ दिएको थियो । ‘रास्वपाले महानगरको मुद्दा उठाएर बालेनज्यूलाई सहयोग गरेको हो । त्यसैले अहिले भएको सहमति एकै रातामा पाकेको होइन । पहिलेदेखि नै मुद्दामा एकै ठाउँमा भएकाले सहमति जुटेको हो,’ कार्कीले भने ।
प्रतिक्रिया 4