+
+
Shares
विचार :

बालेनको रास्वपा प्रवेशपछिका तरंग

तपाईं र मलाई मन परोस् नपरोस् यस पटकको चुनाव बालेन र रास्वपाको वर्चस्वमा बदलिनेछ । जमेको पोखरी हल्लेको जाती । तीन वर्ष पहिले नै दिएको चेतावनी ग्रहण नगरेका दल र नेताहरूलाई शायद आफूलाई सच्याउन थप पाँच वर्ष उपलब्ध हुनेछ ।

झलक सुवेदी झलक सुवेदी
२०८२ पुष १४ गते १०:१०
Listen News
0:00
0:30
🔊

पछि लेखिने नेपालको राजनीतिक इतिहासमा १३ पुस, २०८२ (२८ डिसेम्बर, २०२५) को मिति विशेष रूपमा सम्झना हुनेछ । आजैको बिहान भालेको डाँकसँगै नेपाली राजनीतिका शक्तिशाली दुई पात्र (रवि लामिछाने र बालेन्द्र शाह) र दुई वटा पपुलिस्ट समूह (बालेन समूह र राष्ट्रिय स्वतन्त्र पार्टी) का बीच एकता भएको छ । यसले बिहानैदेखि नेपाली राजनीतिक वृत्त तरंगित भएकोे छ । सम्भ्रान्त राजनीतिक समूहमा हल्लीखल्ली मच्चिएको छ । र, मेरो सम्पर्कमा आएका मतदाता र राजनीतिक व्यक्तिहरूले यो सहमतिलाई नेपाली राजनीतिमा आरेभञ्ज्याङको घुम्ती का रूपमा लिएका छन् ।

राजनीतिमा यस्ता एकता र विभाजनका अनेक सन्दर्भहरू आउँछन् र केही समय नबित्दै मानिसको चेतनाबाट ती बर्खे पानीको फोका झैैं एकछिन सलल बगेर विलाउँछन् । फोकाको हावा हावामै मिल्छ र पानी सगोत्री पानीमै मिसिएर विलाउँछ ।

तर, रवि लामिछाने र बालेन शाहले आज गरेको हस्ताक्षरले नेपाली समाज र राजनीतिका आउने केही वर्ष तीव्र रूपमा प्रभावित हुनेछन् । सफलता असफलता जे भए पनि तिनको कथा इतिहासमा सम्झिइनेछ, अभिलिखित हुनेछ ।

यस्तो एकता ८ वर्ष पहिले दशैंको छेको पारेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्डका बीच पनि भएको थियो । त्यो सम्झौताले उत्पादन गरेको सिनर्जीको चलते उनीहरूको गठबन्धनले २०७४ को संसदीय निर्वाचनमा ल्याण्डस्लाइड भिक्ट्री पनि दिलायो ।

त्यो तत्कालीन जनमतको माग अनुरूपको निर्णय र परिणाम थियो । तर त्यसलाई उनीहरूले जोगाएर लैजान सकेनन् । अनि त्यसको प्रयोग गरेर जनताका आशा पूरा गर्ने कुनै अर्थपूर्ण काम गर्न पनि । उक्त घटना इतिहासमा अंकित त भयो, तर त्यो देशकै लागि एउटा दुस्वप्न जस्तो बन्न पुग्यो र कुनामा धकेलियो । यसको दुष्परिणाम अहिले ती दल, ती नेता र देशले पनि भोग्नुपरेको छ ।

रवि र बालेन बीच भएको एकता उनीहरूले कसरी सम्हाल्ने छन्् ? के उनीहरू चुनाव जित्ने छन् ? के उनीहरूले चुनाव जिते भने देशमा उनीहरूले दाबी गरेको जस्तो सुशासन दिनेछन् ? अथवा उनीहरू पनि पुरानै दलहरू (२०४७ सालपछिको कांग्रेस, २०५२ सालपछिको एमाले या २०६५ सालपछिको माओवादी) जस्तै राणाकालदेखिको शासकीय मनोविज्ञानको निरन्तरता बोेकेको नोकरशाही संयन्त्र, पुरानो सोचको अदालत, न्याय प्रणाली, नेताको भक्ति र सेवाले सुकेनास लागेको प्रहरी र आसेपासे पोस्ने आर्थिक नीतिहरूको शिकार हुनेछन् ? अथवा आफैं शिर निहुर्‍याएर सबै विकृतिको शिकार हुन स्वीकार गर्नेछन् र काठमाडौंको सदावहार सत्तारुढ वर्गको सेवामा खुलेर लाग्नेछन् जसले सबैखाले जण्ड सुधारहरूलाई रोक्दै आएको छ !

अहिले नै यी प्रश्नमा घोत्लिनु सोध्नु भर्खर जन्मेको बच्चालाई अरू कुरा त राम्रै हो यो पनि एकदिन अवश्य मर्छ भने जस्तो हुनजाला ।

त्यसैले यहाँ रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहका बीच भएको सहमतिको अर्थ र सम्भावनाबारे चर्चा गर्नु उपयुक्त हनेछ ।

एकताको अर्थ र सन्देश

रवि लामिछाने र बालेन सँगै जस्तो राजनीतिमा उदाएका हुन् । दुवैले परम्परागत राजनीतिक दलहरूको धोकाधडी र छलछामबाट पीडित आम मान्छेका निराशालाई आफ्नो राजनीतिक यात्राको मुख्य आधार बनाएका थिए । २०७९ सालको स्थानीय तहको निर्वाचनसम्म बालेन केही र्‍यापरहरू र र्‍यापका श्रोताहरू अनि आफ्नो व्यावसायिक सर्कल बाहिर आम वृत्तमा सुनिएको नाम थिएन । तर उनले आफूलाई मतदातासँग जोड्न नयाँ प्रविधिको प्रयोग गरे र युवाहरू मार्फत आफूलाई स्थापित गरे । मतदाताको एउटा मौन विद्रोहसँगै उनले महानगरको मेयर पद हासिल गरे ।

उनले त्यति मात्रैले विश्वास जितेका होइनन् है ! उनीसँग महानगरको मेयर बन्न जाँदा के के गर्नुपर्छ भन्ने केही धारणा र प्रस्तावहरू पनि थिए । अन्तरमुखी र कतिपय निजी स्वभावहरूले उनलाई सार्वजनिक रूपमा चर्का भाषण र जुलुसतिर भन्दा घरदैलो र सामाजिक सञ्जालहरूको प्रयोगतिर तानेको देखिन्छ ।

जे होस्, काठमाडौंका मतदाताले उनका कुराहरू मन पराए (केशव स्थापित र सिर्जना सिंहका तुलनामा भनौं या एमाले र कांग्रेसको तुलनामा पनि भन्न सकिन्छ) । उनले मेयर पदमा धेरैले जिब्रो निकाल्ने गरी जिते । यसरी यो जितले जिब्रो निकाल्नेमा म पनि पर्छु (यद्यपि चुनावको एक साता पहिलेबाट अब उनले जित्नेछन् भन्ने निष्कर्षमा पुगेको थिएँ) । त्यसपछि उनले के गरे र उनका विरुद्ध के के गरियो भन्ने कुरा सबैलाई थाहा नै छ ।

रविको राजनीतिमा प्रवेशको आधार बनाइदिने जस शायद बालेनलाई जान्छ । स्थानीय निर्वाचन सकिएको एक महिनापछि नै रविले पत्रकारिता छाडेर राजनीतितिर हाम फाले । विवादास्पद भए पनि उनको सार्वजनिक छवि थियो । देशभरका साधारण मानिसहरूसँग उनले टिभी प्रस्तोताका रूपमा आम चासोका मुद्दा उठाएका कारण परिचय थियो ।

धेरै हदसम्म मध्यम तथा निम्न मध्यमवर्गका युवायुवती र खासगरी वैदेशिक रोजगारीमा रहेकाहरू रविलाई आफ्नो प्रतिनिधिका रूपमा हेर्न थालेका थिए । पार्टी स्थापना गरेको तीन महिनामा भएको निर्वाचनमा नै यिनले पनि अरू दलहरूलाई छक्कै पार्ने गरी प्रतिनिधिसभामा चौथो हैसियतको दल बनाए ।

लगत्तै गृहमन्त्री (एमाले–माओवादी सरकारमा) र उपप्रधानमन्त्री बने । विवादले यिनलाई त्यसपछि पनि छाडेन । फेरि उपचुनाव लड्न गए । झन् धेरै मत ल्याए । यसपटक कांग्रेसका युवा नेता स्वर्णिम वाग्ले रास्वपा प्रवेश गरे र उनीसँगै तनहुँमा चुनाव लड्न गए । यसले जुन सिनर्जी ल्यायो, त्यो बलशाली थियो । त्यसपछि त रविको यात्रा विवादहरूको चक्रव्यूहतिर प्रवेश गरेको थियो जसका लागि अरूभन्दा बढी उनी आफैं कारण रहेका थिए । उनको गल्ती पनि देखिन्थ्यो र राज्यको उनीप्रतिको पूर्वाग्रहपूर्ण व्यवहार पनि ।

जे भए पनि नेपालको आधुनिक राजनीतिका मुख्य चालक शक्तिका रूपमा रहेका परम्परागत राजनीतिक दलहरू– जोसँग विचारधारा थियो, इतिहास थियो र संगठन थियो, जसको शासकीय शैली र डेलिभरी विनाको चर्का कुराबाट जनता वाक्कदिक्क भएका थिए– रवि नेतृत्वको रास्वपाले हाकाहाकी चुनौती दियो । रास्वपालाई आफूसँग एसिमिलेट गर्ने या उसलाई किनारामा धकेल्ने दुई वटै विकल्पमा पुराना दलले काम गरे ।

यसो गर्दा आरम्भमा केही सफलता हासिल गरेको पछिल्लो गठबन्धन सरकारले जब रविलाई जेल पठायो तब उसको प्रयासका उल्टा परिणामहरू देखिन थाले ।

भदौ २३ र २४ का घटनाहरूमा रास्वपा र बालेन दुवैको प्रत्यक्ष परोक्ष सहभागिता थियो । अन्तरिम सरकारमा बालेनले चाहेको भए उनी नै प्रधानमन्त्री बन्ने स्पष्ट संकेतहरू थिए । उनले त्यो सम्हाल्न चाहेनन् । नख्खुबाट बाहिर निस्कनु रविका लागि त्यति फलदायी भएन । तर बालेन र रवि दुवैको निर्णयले भदौका घटनामा युवाहरूको बलिदानको स्वामित्व कसले लिइदिन्छ भन्ने प्रश्नको उत्तर दिनसकेको थिएन ।

सबैलाई थाहा थियो ती घटनाहरूका पछि (सडकहरूमा जे भयो) अनेक पक्षहरू थिए तर त्यसको राजनीतिक परिचालनमा यी दुई पक्ष अग्रभागमा थिए ।

उनीहरू अलगअलग हुँदा र प्रत्यक्ष दाबी नगर्दा जेनजी विद्रोह आफैं पासपोर्ट बोकेर भिसा लगाउन जाला जस्तो भइसकेको थियो ।

यो पृष्ठभूमिमा बालेनले रास्वपा मार्फत राजनीति अघि बढाउने, रवि नै रास्वपाको सभापति रहने, चुनाव चिह्न उही रहने गरी भएको निर्णयले तीन वर्ष पहिले स्थापित रास्वपाको राजनीतिक वैधानिकतालाई ह्वात्तै बढाइदिएको छ । जेहोस्, जेनजी आन्दोलनले राजनीतिक प्रतिनिधि पाएको छ ।

केही दिनदेखि शहरमा देउवा र ओली आपसमा आउने निर्वाचन मिलेर लड्न सहमत भएका छन् भन्ने चर्चाले व्यापकता पाएको छ । यस्तो हुनु भनेको इतिहासले वर्तमानसँग गर्न खोजेको अन्तिम संघर्ष जस्तो हुनेछ । र यसले रास्वपालाई थप बलियो बनाउने छ ।

छन त सबै पार्टीमा जेनजी छन् । कांग्रेस, एमाले र माओवादी लगायत सबै दलका जेनजी पुस्ताले कतै न कतै आन्दोलनमा सहभागिता जनाएकै थियो । राप्रपा र माओवादीहरू पनि आन्दोलनमा सामेल थिए । तर यसको राजनीतिक लाभ र स्वामित्वमाथिको दाबी बालेन सहितको रास्वपाले पाउनेछ ।

जेनजीहरूका अनेक समूह र विचार पक्षहरू होलान् तर इतिहासमा जेनजी आन्दोलनको वैधता बालेन–रवि एकताबाट बनेको राजनीतिक समूहले प्राप्त गर्नेछ । जसरी माओवादी युद्धको स्वामित्व प्रचण्डसँग छ, झापा आन्दोलन र मालेको लिगेसी केपी ओलीसँग छ । त्यसरी नै जेनजी आन्दोलनको लिगेसी यो समूहले सम्हाल्नेछ (यसबारे उठेका र उठ्ने प्रश्नको जवाफ दिने जिम्मेवारी पनि यसैको हुनेछ) ।

यो सहमतिको सबैभन्दा महत्वपूर्ण कुरा चैं बालेनलाई रास्वपाले प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेर चुनावमा जाने घोषणा गर्नु हो । यो सम्भवत: नेपालको संसदीय राजनीतिको इतिहासका लागि नयाँ विषय हो । हुनत यस अगाडि पनि यस्ता अभ्यास भएका थिए, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई र प्रचण्डका समयमा । तर बालेनको उम्मेदवारी ती सबैभन्दा भिन्न किन हो भने यो समूहको निर्वाचनको आधार संगठित शक्ति र इतिहास होइन लोकप्रिय मतमा आधारित हुनेछ ।

यस्तो लोकप्रियता बालेन र रवि दुवैसँग छ । रविसँग केही विवाद र मुद्दाहरू सँगसँगै हिंड्छन् र बालेन त्यस्तो झन्झटबाट मुक्त छन् ।

अब यो समूह नेपाली राजनीतिको निर्णायक विकल्पका रूपमा अघि बढेको छ । यसले आम मतदाता, जो एमाले, कांग्रेस र माओवादी (खासमा देउवा, ओली र प्रचण्ड) को विकल्प खोजिरहेका थिए, तिनले आफ्नो मत दिने ठाउँ भेटाएका छन् । भलै यो एउटा अस्थायी चौतारी मात्रै किन नहोस् । स्वाभाविक छ आउने निर्वाचन रास्वपा र अरूका बीच हुनेछ ।

केही दिनदेखि शहरमा देउवा र ओली आपसमा आउने निर्वाचन मिलेर लड्न सहमत भएका छन् भन्ने चर्चाले व्यापकता पाएको छ । यस्तो हुनु भनेको इतिहासले वर्तमानसँग गर्न खोजेको अन्तिम संघर्ष जस्तो हुनेछ । र यसले रास्वपालाई थप बलियो बनाउने छ ।

खैलाबैला र आक्रमण

यो समाचार सुनेपछि मैले केही मित्र र परिवारका सदस्यहरू बीच चर्चा गरेको थिएँ । दुई जना राजनीतिक कार्यकर्तासँग उनीहरूले फेसबुकमा कस्तो प्रतिक्रिया देखेका छन् भनेर सोधेको थिएँ । यसमा स्पष्टसँग आएको एउटै कुरा हो कि यो एकतापछि आम वृत्त उत्साहित भएको छ । परम्परागत दलहरू हतोत्साही भएका छन् ।

मैले गरेका संवादबाट अनुमान लगाउन सकिने कुरा के हो भने आउने निर्वाचन रास्वपा एकातिर (सम्भवत: अन्त्यमा कुलमानको उज्यालो नेपालले पनि प्रत्यक्षतर्फ रास्वपासँग मिलेर चुनाव लड्न सक्छ, कुलमानले छिटै थाहा पाउने छन् उनको मात्र लोकप्रियता चुनाव जित्न पर्याप्त हुनेछैन) र अरू सबै अर्कोतिर भएर लड्नेछन् ।

ठूला दलहरू मिलेर चुनाव लड्नु भनेको पहिले नै आफ्ना विचार र आदर्शहरूले अर्थ गुमाएको स्वीकार गर्नु हो । विश्वको कुनै पनि देशको राजनीतिलाई विचारधाराविहीन ढंगले लामो समय चलाउन सकिने छैन ।

कांग्रेससँग उदारवादी लोकतन्त्रको मसिहा भएको टालो छ, एमाले र माओवादीसँग समाजवादका उद्देश्यका लागि हिंडेको बर्को छ । यस्ता टाला र बर्का नै हुन् तिनलाई इतिहासमा जोगाइराख्ने । चुनावहरू आउँछन्, जान्छन् । जित हुन्छन् र हार पनि । तर आदर्श र विचारहरू त्यागिसकेपछि हार मात्र हुन्छ, जितले अर्को आश्रय खोज्छ ।

अर्को कुरा पनि छ, कतिपयले रवि–बालेनको एकतालाई दुत्कारेका छन् । हर्क साम्पाङले हल्ला बोल्नु एउटा कुरा हो तर अरू जिम्मेवार दलका नामी नेताले पनि यो एकतालाई विदेशी चलखेल भन्दै खारेज गर्नु अराजनीतिक हतासाको प्रतिबिम्ब मात्रै हो । के रवि र बालेन मिल्दा राष्ट्रियता जोखिममा पर्छ ? पर्छ भने त्यसका ठोस कारण र सूचनाहरू के हुन् ? राजनीतिक मोर्चाका विरुद्ध लड्दा राजनीतिक हतियार नै चलाएको राम्रो ।

एकथरी मान्छे अझै पनि छन् माओवादी सशस्त्र विद्रोहलाई भारतले सञ्चालन गरेको भन्ने जस्तो काँचो कुरा गरेर झुसिलो डकार फालिरहन्छन् । हामी हुर्कंदा पञ्चहरू भन्थे कांग्रेस, कम्युनिष्ट अराष्ट्रिय तत्व हुन् । हामीले राजनीति गर्दा कांग्रेसलाई भारतीय दलाल भनेर नै प्रचार गरेको हो । महाकाली सन्धि पछि केपी ओली समेतलाई भारतीय दलाल भन्ने गरेको सुनिएको हो । कुनै बेला प्रचण्ड र जनार्दन शर्मा सहितका माओवादीहरू बाबुराम भट्टराईलाई नै भारतीय दलाल भन्ने गर्थे ।

राजनीतिमा यस्ता हल्काफुल्का कुरा गरिरहनु र खारेजीको संस्कृति अँगाल्नुभन्दा आफूलाई बलियो बनाउनु जरूरी हुन्छ । आज कांग्रेस र एमाले कमजोर छन् भने तिनीहरू आफ्नै कर्मको फलले भएका हुन् । पार्टीभित्र एकता कायम गर्न नसक्ने, पार्टी सरकारमा हुँदा जनतालाई विश्वासमा लिएर काम गर्न नसक्ने, आम जनपरिचालन गरेर देशको विकास, समृद्धि र एकताको माहोल सिर्जना गर्न नसक्ने तर कोही विकल्पमा आउने वित्तिकै उसलाई विदेशी गोटी भनेर दुत्कार्नेहरूले आफूलाई सच्याउने अवसर गुमाउँछन् ।

कांग्रेस, एमाले र नेकपाका नेताहरूलाई सुझाव छ कि उनीहरू एकपटक तटस्थ भएर आफ्नो विगतलाई फर्केर हेरुन् । जहाँबाट गल्ती शुरु भएको थियो त्यहाँबाट फेरि सच्चिने प्रयास गरुन् । एउटा निर्वाचन हार्दैमा जीवन सकिंदैन । विचार र आदर्शको पुनर्ताजगीकरण र समयानुकूल परिमार्जन गर्ने अवसर आउने पाँच वर्ष सरकार बाहिर बस्दा प्राप्त हुनेछ ।

कमसेकम चुनाव एक्लै लडुन् र रास्वपाको वैचारिक प्रतिवाद गरुन् । संसद्मा पुगेपछि मिलेर सरकार बनाउन पाए नसुहाउँदो हुनेछैन ।

बालेन र रास्वपालाई शंकाको लाभ

नेपाली जनमतको चरित्र हेर्दा यहाँ एउटै दलले लगातार दुई पटक संसद्मा बहुमत ल्याएको पाइँदैन । अर्थात् मतदाता चञ्चल छन् । चञ्चल हुनाका कारण छन् । आफ्नै तहबाट आफ्नै सहयोगमा उठेको नेता र जनताका बीच उत्पन्न हुने खाडल यसको एउटा कारण हो ।

तपाईं र मलाई मन परोस् नपरोस् यस पटकको चुनाव बालेन र रास्वपाको वर्चस्वमा बदलिनेछ । जमेको पोखरी हल्लेको जाती ।

छिटो–छिटो खोजिएको परिवर्तन र सरकारहरूले दिने डेलिभरीका बीच रहेको खाडल अर्को कारण हो । राजनीतिलाई केही शिखर नेताहरूको निजी लाभहानिका लागि गिजोलिरहने प्रवृत्ति, एउटै व्यक्तिले पार्टी र सरकारको नेतृत्वमा दाबी गरिरहने र त्यसका लागि आदर्श र विचारधाराको बलिदान दिने संस्कृति अर्को कारण हो । त्यसको एउटा स्याचुरेशन भयो ।

अब राजनीति बदलिनुपर्छ, नेतृत्व बदलिनुपर्छ । जेनजीको पनि यही माग थियो । २०७९ का चुनावहरूको सन्देश पनि यही थियो । हामी गफाडीहरूले यो कुरा सयौं पटक दोहोर्‍याएकै छौं ।

तर भदौ २४ का दुखान्तहरू पछि पनि नेतृत्वले त्यसलाई स्वीकार गर्न चाहेन । नेकपा, एमाले र कांग्रेसका पछिल्ला बैठक या महाधिवेशनका निष्कर्षले उनीहरू आफ्ना कमजोरी स्वीकार गर्न तयार छैनन् भन्ने प्रमाणित गरिसकेका छन् । यसमा त हामीले राम राम बाहेक (हाम्रा विजय सरले झैं माओ माओ भन्न मिलेन क्यारे) के भन्न सकिन्छ र ?

यता बालेन र रविले नेपालको भविष्य कस्तो बनाउन चाहेका छन् भन्ने स्पष्ट छैन । हालै बालेनले संघीयता र संविधानका व्यवस्थाहरूको पक्षमा बोलेका समाचार आएका थिए जुन सकारात्मक छन् । प्रदेशका मामिलामा अझै पनि रविहरू स्पष्ट भएका छैनन् । यी प्रश्नहरू बाहेक उनीहरू उदारवादी अर्थतन्त्र र लोकतान्त्रिक अधिकारका खिलाफमा जाने संकेत देखिएको छैन । यसमा आम मानिसलाई उत्तेजित बनाउने, तथ्यले प्रमाणित नगर्ने आरोपहरू मार्फत विपक्षमाथि नकारात्मक भाष्य निर्माण गर्ने र कानूनी व्यवस्थाले स्वीकार गर्न नसक्ने धम्कीको भाषा बोल्ने भएकोले बालेन प्रधानमन्त्री हुुँदा बदलाको भावले काम गर्ने सम्भावना नकार्न सकिन्न ।

यसबाहेक यी रास्वपा र बालेन दुवैलाई शंकाको लाभ उपलब्ध छ । यस्तो लाभ कांग्रेस एमालेका शीर्ष नेता बाहेकले पनि पाउन सक्थे यदि पार्टीहरू पुनर्गठित भएर नेतृत्व परिवर्तन भएको भए । त्यो छिमल सकियो । अब अहिलेको निर्वाचनमा यो लाभ बालेनलाई एकलौटी हासिल हुनेवाला छ ।

कांग्रेस एमालेबाट असन्तुष्टहरू, आफ्नो दैनिक जीवनमा कुनै परिवर्तन महसुस नगरेका शहरी गरिबहरू, गरिब पो भइहालिन्छ कि भनेर डराइरहनुपर्ने निम्न मध्यमवर्गका मानिसहरू, प्रवासका श्रमथलोहरूमा पसिना बगाउन बाध्यताले पुगेका र पुराना दलसँग नाता खुकुलो भएकाहरू, कमिसन एजेन्ट र क्रोनीहरूका कारण व्यावसायिक वातावरण नपाएका पूँजीपति वर्गको एउटा हिस्सा र संसदीय लोकतन्त्रबाट, संघीयताबाट असन्तुष्ट पुरातनपन्थीहरू बालेनका मताधारमा बदलिने छन् । यसमा युवा र किशोर पंक्तिको साथ हुनेछ ।

यसैमा पर्नेछन् कांग्रेस एमालेभित्रै रहेर पनि असन्तुष्ट पक्षका केही अनि कांग्रेस, एमाले र नेकपालाई निषेध गर्न चाहने शक्तिकेन्द्रका प्रतिनिधिहरू पनि ।

तपाईं र मलाई मन परोस् नपरोस् यस पटकको चुनाव बालेन र रास्वपाको वर्चस्वमा बदलिनेछ । जमेको पोखरी हल्लेको जाती । तीन वर्ष पहिले नै दिएको चेतावनी ग्रहण नगरेका दल र नेताहरूलाई शायद आफूलाई सच्याउन थप पाँच वर्ष उपलब्ध हुनेछ ।

लेखक
झलक सुवेदी

झलक सुवेदी राजनीतिक विश्लेषक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?