१४ पुस, काठमाडौं । जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठन भएको आयोगले पूर्वगृहमन्त्री रमेश लेखकसँग थप बयान लिने भएको छ ।
सोमबार बयान शुरू भएको केही घण्टामा लेखकले ‘पार्टीको बैठक छ’ भनेर निस्किएका थिए । त्यसपछि नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरी आयोगमा पेश गरेको भनाइको लिखित कपी बाँडेका थिए ।
आयोगले उनीसँग बयान बाँकी रहेको भन्दै बुधबारदेखि त्यसलाई निरन्तरता दिने योजना बनाएको हो ।
‘उहाँले केहीबेर बयान चलेपछि पार्टीमा बैठक छ भनेर जानुभएको हो । पार्टीको कार्यक्रम छ भनेपछि हामीले रोक्ने कुरा पनि भएन,’ आयोगसम्बद्ध स्रोतले भन्यो, ‘हामीसँग कैयौं प्रश्नहरू बाँकी छन् । पेश भएको जवाफका आधारमा अरु प्रश्न आउलान् । त्यसैले बयान सकिएको छैन ।’
काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाल र पूर्व प्रहरी महानिरिक्षक चन्द्रकुवेर खापुङले ‘गृहमन्त्रालयको नेतृत्वको समन्वयमा काम गरेको’ भनेर दिएको अभिव्यक्तिमा जाँचबुझ आयोगले लेखकमाथि सोधपुछ र थप जिरह गर्न बाँकी रहेको स्रोतले बतायो ।
आफ्नो भनाइ टाइप गर्ने सहयोगीका साथ आयोगमा पुगेका लेखकले केही प्रश्नहरुको भने जवाफ दिएका थिए । लेखकसँगको बयान सकिएपछि आयोगले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीलाई पत्र पठाउने तयारी गरेको छ ।
प्रतिक्रिया 4