+
+
Shares
पुस १६ विशेष :

बीपीको मेलमिलाप नीति : जनमत सङ्ग्रहमा राजासँग सहमति

जगत नेपाल जगत नेपाल
२०८२ पुष १६ गते ७:१४

पाँच दशक अघिको कुरा हो । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला भारत प्रवासमा थिए । ती दिन दक्षिण एशियाली राजनीतिमा उथलपुथलका घटना भएका थिए । नेपाल पूर्वको एउटा सानो हिमाली मुलुक सिक्किम भारतमा विलय गराइएको थियो भने पाकिस्तानको पूर्व भाग फुटेर स्वतन्त्र बंगलादेशको निर्माण भएको थियो । भारतमा प्रधानमन्त्री इन्दिरा गान्धीले संकटकाल लगाएर आफ्नै सहकर्मी नेताहरूलाई जेलमा कोचेर तानाशाही शासन चलाइरहेकी थिइन् । नेपालमा भर्खरै नयाँ राजा वीरेन्द्र सत्तामा आएका थिए । मुलुकको भूराजनीति र सिङ्गो दक्षिणएशियामा बढेकोे राजनीतिक अस्थिरताले भारत प्रवासमा रहेका बीपी सशङ्कित थिए ।

ती दिन बीपी कोइराला आफ्नो राजनीतिक जीवनकै कठिन मोडमा थिए । मुलुकको पहिलो जननिर्वाचित सरकार र संसद् भंग गरी राजाले उनलाई वर्षौं जेल हाले । छुटेपछि ८ वर्षदेखि प्रवासमा बसिरहेका थिए । प्रजातन्त्र समाप्त गरी राजाले चलाएको निरंकुश शासन व्यवस्था विरुद्ध बीपीको नेतृत्वमा गरिएको सशस्त्र क्रान्ति असफल भइसकेको थियो र उनी माथि राजद्रोह सम्बन्धी ८ वटा मुद्दा विचाराधीन थिए । हरेक मुद्दामा मृत्युदण्डको सजाय हुनसक्ने अवस्था थियो । अर्कोतिर सिक्किमलाई विलय गरेको भारतले नेपालको नै अस्तित्व समाप्त पारिदिन सक्छ भन्ने सन्त्रास उनमा थियो ।

यही पृष्ठभूमिमा बीपी २०१७ सालमा राजा महेन्द्रले सैन्यबलमा खोसेको प्रजातन्त्र सशस्त्र विद्रोह मार्फत पुन:स्थापित गर्ने नीति त्यागेर पार्टीलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराउने निष्कर्षमा पुगिसकेका थिए । ती दिन उनी भन्ने गर्थे, “समयमै हामीले उचित निर्णय लिएनौं भने एउटा राज्य र राष्ट्रका रूपमा नेपाल नक्शाबाट मेटिनेछ । त्यो राष्ट्रिय लोपसँगै हामी देशभक्तहरू पनि विलाएर जानेछौं । तत्कालीन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै बीपीले नेपाल फर्किने मानसिकता बनाइसकेका थिए । तर आफ्नो निर्णय कसैलाई सुनाएका थिएनन् । “बरू केही दिनदेखि उनी साँझ–बिहान सारनाथस्थित निवासको छतमा एक्लै चिन्तनशील मुद्रामा टहलिरहन्थे ।

यस्तैमा एक दिन उनले भाइ (पूर्व प्रधानमन्त्री) गिरिजाप्रसाद कोइरालासँग भने, “मुलुक संकटमा छ । हाम्रो राष्ट्र रहन्छ कि रहँदैन ! त्यसकारण मैले नेपाल फर्कने निर्णय गरें ।” त्यो घटनाबारे गिरिजाले भनेका छन्, “मैले भने– हुँदैन सान्दाइ । तपाईं माथि राजकाज सम्बन्धी आठ आठ मुद्दा लगाइएको छ । मारिदिन्छन् । जानुहँुदैन ।”

बीपीले पुन: दृढ स्वरमा आफ्नो सङ्कल्प दोहोर्‍याए र भने– साँच्चै मैले जाने निर्णय गरें “सशस्त्र क्रान्तिका महासेनानी नि:शस्त्र नेपाल फर्किने ? गिरिजाका लागि कल्पना बाहिरको कुरा थियो त्यो । उनले भने— हुँदैन सान्दाइ, जानुहुँदैन, मारिदिन्छन् ।”

त्यो बेला कांग्रेसका प्राय: सबै नेता कार्यकर्ताले बीपीलाई नेपाल फर्किन सल्लाह दिएनन् । गणेशमान सिंह समेत अन्तिम घडीसम्म नेपाल फर्कनुपर्ने बीपीको विचारसँग सहमत हुन सकिरहेका थिएनन् । आफूहरू प्रवासमा बसिरहँदा नेपालको अस्तित्व नै मेटिन सक्ने बीपीको विश्लेषणसँग गणेशमानको असहमति त थिएन तर स्वदेश फर्कनु सुसाइड र प्रवासमै बस्नु स्लो पोइजनसरह हुने उनको बुझाइ थियो । लामो छलफल र बहसपछि बीपी स्वदेश फर्किने मिति तय भयो, २०३३ साल पुस १६ गते ।

भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले एकातिर बीपीलाई आस र त्रास देखाएर नेपाल नफर्काउने कार्ड चलिरहेकी थिइन्, अर्कोतर्फ उनले राजासँगको रणनीति अन्तर्गत बीपीलाई नेपाल फर्काउन दूत पनि खटाइरहेकी थिइन् । बीपीलाई देखाएर राजासँग र राजालाई देखाएर बीपीसँग बार्गेनिङ गर्ने उनको रणनीतिक चाल थियो । संसारकै ठूलो लोकतन्त्र भारतमा सङ्कटकाल लागू गरी तानाशाही अभ्यास गरिरहेकी थिइन् उनी । बीपीका भारतीय शुभचिन्तक नेताहरू जयप्रकाशनारायण, चन्द्रशेखर लगायत गान्धीका विरोधी जति सबै जेलमा थिए ।

त्यही मौकामा प्रधानमन्त्री गान्धीले “नेपालको वैदेशिक नीति र सुरक्षा अधिकार भारतलाई दिने भए बीपीलाई नेपाली राजनीतिमा पुन:स्थापित गराइदिने प्रस्ताव ल्याएकी थिइन् । बीपीले राष्ट्रियतासँग सम्झौता गर्न मानेनन् । त्यसपछि बीपीप्रतिको भारतीय नीति झन्–झन् कडा हुँदै गयो । फर्किनुअघि बीपीले कार्यकर्तामाझ भनेको स्मरण गर्दै कांग्रेस नेता चक्र बास्तोलाले भनेका छन्, “बीपी भन्नुहुन्थ्यो— राजा र हाम्रो स्वार्थ एउटै छ । उनलाई राज्य गर्न देश चाहिन्छ । हामीलाई लोकतन्त्र ल्याउन । देश नै हाम्रो साझा स्वार्थ हो । त्यसैले इन्दिरालाई रानी मानेर भारतमा बस्नुभन्दा जोखिम उठाएर भए पनि स्वदेश फर्किने निर्णयमा म पुगेको हुँ ।

भारत बीपीलाई गोटी बनाएर नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप गर्न चाहन्थ्यो । राजालाई बीपी र बीपीलाई राजाको भूत देखाएर फाइदा लिन चाहन्थ्यो । बीपी फर्किनुअघि २०३३ साल पुसको पहिलो साता “भारतीय रक्षामन्त्री जगजीवन रामले नेपाल पुग्नेबित्तिकै तपाईंलाई फाँसीमा झुन्ड्याउन सक्छन्, नजानुस् भन्ने प्रधानमन्त्री इन्दिरा गान्धीको सन्देश टेलिफोनबाट सुनाए ।”

इन्दिराको छलछाम र जालझेलबाट अपमानित महसुस गरिरहेका बीपीले आफ्नो निर्णयमा पुनर्विचार गर्ने त के रक्षामन्त्री रामलाई भेट्न समेत मानेनन् । आफूसँग भेट्न समय माग गरेका रामलाई बीपीले फोनबाटै भने, “महारानीले पठाएको भए भेट्ने कष्ट नगर्नुस् । साथीको नाताले आउनुहुन्छ भने आउनुहोला । जगजीवनले कुरा बुझिहाले । बीपीलाई भेट्न गएनन् ।”

बीपीले मन्त्री रामलाई दिएको जवाफबारे गणेशमानले भनेका छन्, “हैन अब मैले जाने निर्णय गरी नै सकें, मेरो भन्नु पनि केही छैन । रामले भने— हैन तपाईंले मलाई भेटेर मात्र जानोस् । तर कोइरालाजीले भन्नुभयो— पछि फेरि दिल्ली आएँ भने भेट्नेछु । अहिले त म जाने तयारी गरिराखेको छु ।”

‘इन्दिरा इज इन्डिया, इन्डिया इज इन्दिरा’ भन्ने नारा लगाइरहेका उनका समर्थकहरूले बीपीलाई फकाउन धेरै पटक प्रयास गरे । त्यसरी आफूलाई सम्झाउन आउने भारतीय नेताहरूलाई बीपी भन्ने गर्थे, “सङ्कटकालपछि भारत पनि जेल भइसक्यो । नेपालको जेल सानो छ । त्यसैले म त स्वदेश फर्किन्छु ।”

“प्रत्येक राष्ट्रको इतिहासमा यस्तो घडी पनि आउँछ, त्यस देशका बासिन्दाले आफ्नो ज्यान समेत खतरामा हालेर मुलुकको अस्तित्व रक्षा गर्नुपर्छ” भन्ने आशयको वक्तव्य दिएर बीपी आफ्ना पाँच सहयोगी (गणेशमान, शैलजा आचार्य, रामबाबु प्रसाईं, खुमबहादुर खड्का र नीलाम्बर पन्थी) का साथ २०३३ साल पुस १६ गते स्वदेश फर्किनका लागि पटना विमानस्थल पुगे ।

त्यस दिन बीपी सवार विमानका चालक क्याप्टेन गङ्गा रिजाल पटना विमानस्थलको वातावरणबारे लेख्छन्, “बिहान पौने नौ पनि बजेको थिएन । प्यासेन्जर लाउन्जमा पाइला राख्ने ठाउँसम्म थिएन । बिहानको नास्ता गर्ने सिलसिलामा म क्रुसँगै त्यहाँ पुगेको थिएँ । तर ब्रेकफास्ट त के कुरा, त्यहाँ चिया समेत पाउन दुर्लभ थियो । त्यति धेरै मान्छे मैले त्यो एअरपोर्टमा त्यसअघि कहिल्यै देखेको थिइनँ ।” ठूलो जोखिम मोलेर बीपी स्वदेश फर्किए । तर उनमा कुनै प्रकारको बेचैनी थिएन ।

बीपीसँगै फर्किएका काङ्ग्रेस नेता खुमबहादुर खड्काले लेखकसँग भनेका छन्, “बीपीको चेहरामा टेन्सन कहिल्यै झल्किंदैनथ्यो । सधैं हँसमुख चेहरा । तर गणेशमानजीको अलिअलि थाहा हुन्थ्यो । फर्किने बेला भारतीय नेताहरूले भनेका थिए— बीपी तपाईं जे चाहनुहुन्छ भन्नुस्, हामी त्यसअनुरुप व्यवस्था मिलाउँछौं । केही समय बस्नुस्, तपाईंलाई नेपालको सत्ता राजनीतिमा स्थापित गरेर फर्किने वातावरण मिलाउँछौं । राजासँग मिल्न नजानुस् । तर उहाँले मान्नुभएन ।”

बीपी नेपाल फर्कने र राजासँग मेलमिलाप गर्ने खबरले कट्टरपन्थी पञ्चहरू त्राहिमाम् थिए । मन्त्रीहरू नै बीपी विरुद्ध प्रायोजित प्रदर्शन गराउन सक्रिय रहेको सूचना बागमती अञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठले पाएका थिए । त्यो दिन उनले रानीपोखरीको डिलमै रहेको आफ्नो कार्यालयमा सुरक्षा निकायका प्रमुखहरूको बैठक बोलाए । त्यहीं योजना बन्यो— जहाजबाट सबै यात्रु ओरालेपछि रनवेनजिकै तयारी अवस्थामा रहेको टेन्टमा बीपी र गणेशमानलाई केही समय राखेर सुरक्षित तरिकाले भित्री रुटबाट स्वाट्टै सुन्दरीजल लैजाने ।

त्यो दिनको घटना स्मरण गर्दै श्रेष्ठले लेखकसँग भनेका छ- “बीपीको राजासँग व्यवहार कस्तो हुने हो ? नेपाल आएपछि उनले के बोल्ने हुन् ? पञ्चायती व्यवस्था नै जाने पो हो कि ? भन्ने त्रासका कारण पञ्चहरूले बीपी विरुद्ध प्रदर्शन गर्ने तयारी गरेका थिए ।” (तत्कालीन अञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठसँग २०७४ मङ्सिर ३० गते गरिएको कुराकानी) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण गर्नासाथ सबै यात्रु ओरालेर बीपी सहित ६ जनालाई रनवेनजिक पहिले नै तयारी अवस्थामा राखिएको अस्थायी टेन्टमा राखियो ।

त्यो दिनको स्मरण गर्दै क्याप्टेन गंगा रिजाल लेख्छन्, “एभ्रो विमानलाई आफ्नो निश्चित स्थानमा यात्रुहरू ओराल्ने अनुमति टावरले दिएन । रिमोट पार्किङतिर लगेर यात्रु ओराल्नुपर्‍यो । त्यहाँ केही पाल गाडिएका थिए । पञ्चायत सरकारको कपटपूर्ण योजना अनुरुप यतिका वर्षपछि आफ्नो देशको माटोमा टेक्न नपाउँदै बीपीलाई गिरफ्तार गरेर जेल चलान गरियो ।”

क्याप्टेन रिजालले लेखेका छन्– “विमानस्थलमा बीपी र गणेशमानको स्वागतार्थ आएको विशाल भीडका अगाडि भाडामा ल्याइएका तथा राज्यकोष खर्च गरेर पालिएका मण्डलेहरूको समूह प्रहरी सुरक्षामा एउटा कुनामा बसेर ‘बीपी मुर्दावाद ! बीपीलाई फाँसी दे ! अराष्ट्रिय तत्व मुर्दावाद !’ आदि नारा लगाउँदै थिए । बीपी र गणेशमानलाई विमानस्थलभित्रैबाट जीपमा राखेर सिधै सुन्दरीजल बन्दीगृहतर्फ लगियो ।

सुन्दरीजल त्यही बन्दीगृह हो, जहाँ २०१७ साल पुस १ को शाही ‘कु’ पछि बीपी र गणेशमानले लगातार आठ वर्ष बिताएका थिए । आठ वर्ष लामो प्रवासपछि उनीहरू पुन: सुन्दरीजलमै बन्दी हुन आइपुगे । बीपीलाई राखिएको कोठा पनि उही थियो । त्यति मात्र होइन, उनलाई प्रयोग गर्न दिएका सामान पनि तिनै थिए । बीपी लेख्छन्, “यो त्यही बडेमानको खाट हो, जुन यसअघि यहाँ थुनामा रहँदा मैले आठ वर्षसम्म प्रयोग गरेको थिएँ । यो यति ठूलो छ कि यसमा म, मैले डेस्क बनाएको होचो टेबल एउटा साइडमा अटाउन सक्छु । टेबल सबै अटाएपछि पनि अरू धेरै खाली ठाउँ बाँकी हुन सक्छ । उही पुरानो कुराले मन गह्रौं हुन्छ ।”

राजामाथि बम प्रहार गरेको, प्रहरी चौकी आक्रमण गरेको, विमान अपहरण गरेको र ओखालढुंगा कब्जाका लागि सशस्त्र दस्ता खटाएको लगायत बीपी र गणेशमानमाथिका राजद्रोह सम्बन्धी ‘आठ वटा संगीन मुद्दा” हेर्नका लागि नारायणी अञ्चलका अञ्चलाधीश जनकमान श्रेष्ठको अध्यक्षतामा विशेष अदालत गठन गरियो ।

२०३४ साल वैशाख १४ गते मंगलबार सुरक्षाकर्मीको जीपमा राखेर सुन्दरीजलबाट बीपीलाई पुतली बगैंचास्थित विशेष अदालत ल्याइयो । साढे चार महिनाको अवधिमा उनले पहिलो पटक बाहिरको दृश्य हेर्ने अवसर पाएका थिए, त्यो पनि तीव्र गतिमा गुडेको मोटरबाट । बीपीको मुद्दा हेरेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले भनेका छन्, “विशेष अदालतमा बीपीले आफ्ना तीनै जना कानून व्यवसायीसँग (म, गणेशराज शर्मा, कुसुम श्रेष्ठ) एक साथ विशेष सल्लाह गर्न चाहनुभयो । त्यसका लागि छुट्टै कोठाको व्यवस्था गरियो ।”

पहिलो दिनको बयानबारे न्यायाधीश जनकमान श्रेष्ठले भनेका छन्, “बयान दिन बीपी उभिए ।” प्रथम जननिर्वाचित प्रधानमन्त्रीसँग बयान शुरु गर्दाको प्रसङ्ग उल्लेख गर्दै उनले थपे, “उभिएर बयान दिन सक्नुहुन्छ भनेर सोध्दा उहाँबाट केही प्रतिक्रिया आएन । एक दिनमा बयान नसकिने भएकाले मेचमा बसेर बयान दिने व्यवस्था भयो ।”

राणाकालमा राजद्रोहको मुद्दा खेपेका बीपीले त्यो बेला पनि जर्नेल हरि शमशेरसामु त्यही ठाउँमा बयान दिएका थिए । पहिलो दिनको बयान सकिएपछि बेलुका उनलाई फेरि सुन्दरीजल पुर्‍याइयो ।

तीन साता चलेर २०३४ साल जेठ ४ गते मंगलबार पूरा भएको बयानमा बीपीले आफ्नो संलग्नता नरहे पनि पार्टी सभापतिका हैसियतले काङ्ग्रेसको नाममा भएका सबै घटनाको नैतिक जिम्मेवारी लिए । ‘मास्टर्स लाइबिलिटिज टू हिज सर्भेन्ट’ अर्थात् नेताले आफू मातहतका कार्यकर्ताले गरेको कामको जस–अपजस तथा जिम्मेवारी लिनुपर्छ भन्ने सिद्धान्तका आधारमा । बीपीकोे बयान स्मरण गर्दै न्यायाधीश श्रेष्ठले लेखकलाई सुनाए, “प्रजातन्त्रको हिमायती हुँ । प्रजातन्त्रका लागि २००७ सालदेखि लड्दै आएको हुँ । त्यसैले प्रजातन्त्र अपहरण भएपछिका भाषणहरूमा सजिलैसित प्रसव भएन भने डाक्टरले के गर्छ ? अपरेसन गर्छ । त्यस्तै प्रजातन्त्र पनि सहजै आएन भने अपरेसन हुन सक्छ भन्ने गरेको छु । मेरो त्यही भाषणका आधारमा कहींकतै, कसैले हतियार उठाएको छ भने म त्यसको नैतिक जिम्मेवारी लिन्छु । तर मैले हतियार दिएर कसैलाई खटाएको छैन । ल हेर्नुस् त कति बाठो जवाफ छ !”

गणेशमानले भने आफ्नो बयानमा पार्टीले हतियार उठाउने निर्णय नै नगरेकाले कुनै पनि घटनाको जिम्मेवारी नलिने बताए । विशेष अदालतको बयान सकिनु दुई दिनअघि जेठ २ गते बीपी र गणेशमानलाई सुन्दरीजलबाट प्रहरी तालिम केन्द्र महाराजगन्ज सारियो । बयानका क्रममा बीपीले जहाज अपहरणका सम्बन्धमा भाइ गिरिजा लगायत नेतामाथिको मुद्दामा ‘बोल्न चाहन्नँ’ भने ।

न्यायाधीश : तपाईंले हतियार दिएर पठाएको हो ?

बीपी : होइन ।

न्यायाधीश : हतियार लिनेले म काङ्ग्रेसको कार्यकर्ता हुँ भन्ने बयान दिएको फाइलमा देखिन्छ । ऊ तपाईंको कार्यकर्ता होइन ?

बीपी : नेपाली काङ्ग्रेसका लाखौं कार्यकर्ता छन् । सबैलाई म चिन्दिनँ । कुन हाम्रो कार्यकर्ता हो, होइन, छुट्याउन मैले फाइल हेर्नुपर्छ ।

यसबीच बीपीको स्वास्थ्य बिग्रिंदै गयो । राजाले मध्यरातमा बीपीलाई भेटे । त्यो राजासँग भएको वार्तालापलाई बीपीले यसरी स्मरण गरेका छन् :

बीपी : सरकार, म आज बडो स्पष्ट कुरा गर्न आएको छु ।

राजा : बीपी, तिमीलाई आफू कति बिरामी छु भन्ने थाहा छैन होला । तिम्रो स्वास्थ्य एकदमै खराब छ ।

बीपी : सरकार मेरो स्वास्थ्यभन्दा देशको स्वास्थ्य झन् खराब छ ।

राजा : मैले तिमीलाई स्वास्थ्यको कुरा गर्न बोलाएको हो । राजनीतिक कुरा तिमी स्वस्थ भएपछि गरौला ।

बीपी : सरकार देशको राजनीतिक समस्या मुख्य कुरा हो ।

मेरो व्यक्तिगत स्वास्थ्यका कारण यो गम्भीर समस्यालाई पर सार्न उचित हुँदैन होला ।

राजा : बीपी तिमीलाई आफ्नो स्वास्थ्यको वास्तविक अवस्था थाहा छैन क्यार । ल यो डाक्टरको रिपोर्ट पढ ।

राजाले एउटा सफा कागजमा टाइप गरेको रिपोर्ट बीपीको हातमा राखिदिए । धेरै टेक्निकल कुराहरू थिए त्यसमा । अन्त्यमा लेखिएको थियो, ‘एट एनी मोमेन्ट हि क्यान कोल्याप्स ।’

रिपोर्ट पढ्दै गर्दा सहयोगी बोलाउन राजाले बजाएको कलबेलको आवाज बीपीको कानमा ठोक्कियो । ढोकाको पर्दामा सचिव खनाल देखिए । उनलाई राजाले भने, “डाक्टरलाई भित्र पठाऊ ।” डा. पाण्डे आए । उनले लेखकलाई सुनाए, “राजाबाट हुकुम भयो, यिनी आफ्नो स्वास्थ्यबारे बडो लापरबाह रहेछन् । यिनलाई सम्झाऊ । ल डाक्टर बीपीलाई के रोग छ बताइदेऊ ।” पटक–पटक स्वास्थ्य जाँच गरे पनि बिरामीलाई ‘सक’ हुन सक्छ भनेर त्यसअघि उनले बीपीलाई रोगबारे बताएका थिएनन् । राजाको आदेशपछि यथार्थ कुरा भनिदिए । डा. पाण्डेले लेखकसँग भने, “आफूलाई त्यति गम्भीर रोग लागेको थाहा पाएपछि धेरै बिरामी सिधै फेन्ट हुन सक्छन् । तर बीपीको अनुहारमा मैले कुनै परिवर्तन देखिनँ ।”

बीपीकै शब्दमा अत्यन्तै दक्ष डा. पाण्डे भारतमै भएको भए पनि विशिष्ट चिकित्सक हुन सक्थे । त्यसपछि राजाले खनाल र डा. पाण्डेलाई बाहिर जान इशारा गरे । अनि राजा र बीपी बीच डेढ घण्टा कुरा भयो ।

बीपी : सरकार म स्पष्ट कुरा गर्न आएको छु । मलाई यो उमेरमा डर र लोभ केही छैन । सरकारबाट पाउनुपर्ने जति दु:ख पाइसकें, अब योभन्दा बढी पाउने ठाउँ समेत छैन ।

राजा : बीपी तिम्रो स्वास्थ्य निकै खराब रहेछ । यो राजनीतिक कुरा गर्ने बेला होइन । त्यो त तिमी निको भएर आएपछि गर्न सकिन्छ ।

बीपी : सरकार मेरो स्वास्थ्यभन्दा देशको स्वास्थ्य झन् खराब छ । मेरो व्यक्तिगत स्वास्थ्यका कारणले यो गम्भीर समस्यालाई पर सार्नु उचित नहोला । सरकारलाई खुसी पारुँ र केही पाऊँ भने पनि सरकारबाट बक्सिने सबभन्दा ठूलो पद प्रधानमन्त्री हो, त्यो म भइसकें । मलाई त्यसको लोभ पनि छैन । सरकार मैले जति स्पष्ट कुरा गरेको छु, सरकारसँग भेट्ने अरूले पनि यसरी स्पष्ट गर्छन्, सरकार ?

राजा : अँ, कोही त स्पष्ट भन्छन् । तर धेरैले भन्दैनन् ।

बीपी : एक पटक स्वर्गवासी महाराज महेन्द्रबाट हुकुम भएको थियो— बीपी तपाईंहरूले राजनीतिमा गल्ती गर्नुभयो भने जेल जानुहुन्छ र निक्लँदा हिरो भएर निक्लिनुहुन्छ । तर मैले गल्ती गरें भने म कहिल्यै निक्लन्नँ । मैले त्यतिबेला सरकारसँग भनेको थिएँ— सरकार म असफल भएँ भने मेरो विराटनगरमा खेती छ । त्यहीं गएर बस्छु । तर सरकार कहाँ सवारी हुन्छ नि ?

राजा : तिमीलाई याद छ, तिमी नेपालको महाराजाधिराजसँग कुरा गर्दै छौ ! (उत्तेजित हुँदै आफ्नो सोफाबाट जुरुक्क उठेर राजाले भने । उनको चेहरा रक्तिम थियो ।)

बीपी : मलाई पूराका पूरा अनुभूति छ सरकार । म श्री ५ महाराजाधिराजसँग कुरा गर्दैछु । “सरकारलाई पनि यो अनुभव हुनुपर्छ कि सरकार नेपालको एक राजनीतिज्ञसँग कुरा गरिबक्सँदैछ (गिरि, पृ. ४५२) ।

त्यसपछि राजा पुन: सोफामा बसे । र फेरि उही शैलीमा कुरा भयो—

राजा : उपचारका लागि कहाँ जाने ?

बीपी : दिल्ली, बम्बै वा भेलोर ।

राजा : डाक्टरको प्रतिवेदन अनुसार तिम्रो शल्यक्रिया भारतमा सम्भव छैन । तिम्रो जीवन नेपालका लागि अमूल्य छ । यो उपचार अमेरिकाको ह्युस्टनस्थित अस्पतालमा सम्भव छ । भरसक भोलि नै जानु उचित होला ।

बीपी उपचारका लागि अमेरिका गए । स्वास्थ्य लाभ गरेर उनी स्वदेश फर्किंदासम्म कट्टरपन्थी पञ्चहरूले राजा र बीपीलाई मिल्न नदिन राजाको जानकारी विनै सेन्ट्रल जेलमा रहेका कांग्रेस नेता क्याप्टेन यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठको हत्या गरिदिए ।

बीपी : म यति छिट्टै जान सक्दिनँ सरकार । किनभने खर्चको व्यवस्था गर्न मलाई समय लाग्छ । २०१७ सालमा मेरो दुई लाख जति रकम सरकारले जफत गरेको छ । त्यो पैसा फिर्ता भयो भने म जान सक्छु । यस प्रसंगमा बीपीका निजी सचिव कुमारमणि आचार्य दीक्षितले लेखेका छन्– २०१७ पुस १ गते गिरफ्तार गरिएपछि प्रधानमन्त्री निवासबाट लगिएको १ लाख भारतीय रुपैयाँ र नेपाली २५–३० हजार सेनाले बीपीको नाममा नेपाल बैंकमा जम्मा गरिदिएको रहेछ । त्यसैको व्याज सहित झण्डै पाँच लाख बढी पुगेको थियो । त्यही रकम उपचारका लागि अमेरिका जानुअघि उहाँले राजासँग फिर्ता माग्नुभएको हो ।

राजा : त्यो पैसा फिर्ता गर्न एक साता वा त्योभन्दा पनि बढी लाग्न सक्छ । त्यति पर्खने अवस्था छैन । यात्रा र उपचारमा लाग्ने खर्चको व्यवस्था म गरिदिन्छु । तिमी भोलि नै जाने तयारी गर । तिमी अहिले तत्काल यहींबाट रिहा भएर सिधै घर जान पनि सक्छौ ।

बीपी : “सरकार मैले जेलमा रहेका गणेशमान सिंह लगायतका साथी र नातेदारसँग पनि भेट्नुपर्छ । भोलि नै जाने कुरा अलि सम्भव हुँदैन सरकार । शिविरमा फर्किएर गणेशमानजीलाई भेट्छु । आजको रात त्यहीं बस्छु । अर्को दिन मलाई मुक्त गरियोस् ।”

राजा : “हुन्छ । तिमी तयारी गर, पैसाको चिन्ता नगर, त्यसको व्यवस्था हुनेछ ।” बीपी भने राजासँग त्यसै दिन राजनीतिक विषयमा कुरा गर्न चाहन्थे । तर उनको बिग्रँदो स्वास्थ्यका कारण राजा भन्न थाले, “तिमी फर्केपछि पनि राजनीतिक विषयमा कुरा गर्न पर्याप्त समय रहन्छ । तिमी आफ्नो स्वास्थ्यलाई बेवास्ता नगर । तिम्रो जीवन ज्यादै बहुमूल्य छ ।

त्यही भेटमा बीपीले देश जोगाउन राजतन्त्र र प्रजातान्त्रिक शक्तिबीचको एकतामा जोड दिए । प्रजातन्त्रको विकासका लागि संस्थाहरूको निर्माण, जनअधिकारको पुन:स्थापना र विकासका काम एकै चरणमा अघि बढाउनुपर्ने सुझाव उनको थियो । बीपीले भनेका छन्, “राजा मात्र सक्रिय भएर पुग्दैन, व्यवस्था नै यस्तो हुनुपर्छ, जसमा जनता उत्प्रेरित होऊन् ।” राजा सहमत होइबक्सियो ।

राजा र बीपीका बीच खुलेर कुरा भयो । बीपीले भनेका छन्, “मैले आफूलाई राजावादी हुँ भन्ने गरेको छु । न म चाटुकार भएर भनेको हुँ, न त कसैको डरधाकमा परेर । राजाबाट मउपर हुन सक्नेसम्मको खराबी भइसकेको छ । त्यसैले निर्भय छु, राजासँग डराउनुपर्ने केही छैन । प्रलोभनको त कुरै भएन । राजाले मलाई के पुरस्कार, के उपहार दिन सकिबक्सन्छ र ? प्रधानमन्त्री पद ? त्यसरी दिएको प्रधानमन्त्रीत्व स्वीकार्न म तयार छैन । पदको प्रलोभन अथवा फेरि जेल पर्ने खतरा या कुनै अझ ठूलो विपत्ति आइपर्ने डरले म राजाको पक्षमा भएको होइन । मैले राजाकै कारण अनेक किसिमका दु:ख भोगेको छु ।”

राष्ट्रको रक्षा गरी देश बनाउन र प्रजातान्त्रिक राजनीतिक प्रणाली कायम गर्न समेत राजाको सहयोग चाहिन्छ भन्ने कुरामा उनले जोड दिए । राजासँगै भिड्नुपर्दा प्रजातन्त्रवादीको शक्ति समाप्त हुने र देश पनि बर्बाद हुने आफ्नो बुझाइ राजासमक्ष राखे । वार्तालापकै क्रममा बीपीले राजासँग भने, “राष्ट्रप्रेम नभए राजाको सिंहासन रहँदैन ।”

त्यो बेला आफूले राजा महेन्द्रलाई भनेको कुरा सम्झाउँदै उनले वीरेन्द्रलाई भनेका थिए, “त्यसैले सरकार यो देशले स्वाधीनता गुमाएर भारत या चीनको अङ्ग भयो भने पनि मेरो खेतीपाती र विराटनगरको घर रहने नै छ । चाहे विराटनगर भारतमा होस् वा चीनमा । म भारतीय वा चिनियाँ संसद्को सदस्यका लागि मतदान गर्ने हुन सक्छु । म त्यहाँ अवश्य हुनेछु । तर देश भएन भने सरकारको के हुन्छ ? सिंहासनको स्थायित्वप्रतिको मौसुफको स्वार्थले गर्दा मुलुकको स्थायित्वप्रति मौसुफ मभन्दा बढी चिन्तित हुनुपर्छ ।” डेढ घण्टा लामो वार्तालाप सकेर प्रसन्न मुद्रामा बीपी दरबारबाट फर्कंदा राति १२ नाघिसकेको थियो ।

त्यसपछि बीपी उपचारका लागि अमेरिका गए । स्वास्थ्य लाभ गरेर उनी स्वदेश फर्किंदासम्म कट्टरपन्थी पञ्चहरूले राजा र बीपीलाई मिल्न नदिन राजाको जानकारी विनै सेन्ट्रल जेलमा रहेका कांग्रेस नेता क्याप्टेन यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठको हत्या गरिदिए ।

२०३५ साल, माघ २६ गते क्याप्टेन थापालाई कमला नदी किनार र श्रेष्ठलाई कोशीमा गोली हानी मारियो । सर्वोच्च अदालतबाट मृत्युदण्ड भएको ३० दिनभित्र फैसला कार्यान्वयन गर्नुपर्नेमा दुई वर्षपछि बीपी उपचारका लागि अमेरिका गएको मौकामा दुई सपूत मारिनुमा पञ्चहरूको ठूलै षड्यन्त्र थियो । “मृत्युदण्ड दिनुअघि राजाबाट लालमोहर लगाउनुपर्ने कानूनी व्यवस्था नै मन्त्रिमण्डलबाट खारेज गरी षड्यन्त्रपूर्वक उनीहरूलाई मारिएको थियो ।” राष्ट्रियताका लागि राजासँग आफ्नो घाँटी जोडिएको अभिव्यक्ति दिएर बीपी स्वदेश फर्किएका थिए । तर, क्याप्टेन थापा र श्रेष्ठको हत्यापछि दरबारले धोका बाहेक केही दिन सक्दैन भनेर प्रजातन्त्रवादीमा आक्रोश थियो ।

अमेरिकाबाट उपचार गरी २०३५ साल भदौ ४ गते पटनाहुँदै बीपी काठमाडौं आइपुगे । त्रिभुवन विमानस्थलमा अवतरण गर्नेबित्तिकै उनी चढेको जहाज दक्षिण कुनातर्फ लगियो अनि बीपीलाई प्रहरीको जिपमा राखेर चाबहिल, जयवागीश्वरीस्थित भाइ तारिणीप्रसादको घरमा पुर्‍याएर छोडियो ।” त्यो बेलाको धमिलो राजनीतिक वातावरणमा राजा र प्रजातन्त्रवादीलाई एकआपसमा जुधाएर आफ्नो स्वार्थ पूरा गर्ने विदेशी शक्ति सलबलाउनु अस्वाभाविक थिएन । त्यही मौकामा बीपीकै निवासमा एक जना मानिसले राजतन्त्र अन्त्य गरी उनलाई नेपालको पहिलो राष्ट्रपति बनाइदिने प्रस्ताव गरे । काङ्ग्रेस नेता बलदेव मजगैयाँलाई बीपी आफैंले सुनाए, “कुनै शक्तिशाली व्यक्ति आएर मलाई भनेको छ— बीपी तपाईं तयार हुनुभयो भने हामी राजतन्त्र अन्त्य गरी केही समयभित्रै तपाईंलाई मुलुकको पहिलो राष्ट्रपति हुने वातावरण बनाइदिन्छौं ।”

अचानक बीपीलाई दरबारमा बोलाइयो र करिब एक घण्टासम्म राजाले कुरा गरे ।” त्यही भेटमा राजसंस्था पनि रहने र जनमतका आधारमा व्यवस्था परिवर्तन गर्ने बिन्दुमा राजा र बीपीबीच ‘जनमतसङ्ग्रह’मा जाने सहमति बन्यो ।

बनारसमा बस्दादेखि नै बलदेव बीपीसँग खुलेर संवाद गर्थे । विश्वासिलो भएकाले बीपी पनि भन्नै नहुने बाहेक सबै विषयमा खुलेर कुरा गर्थे । मजगैयाँले लेखकसँग भनेका छन्, “उसले गणतन्त्रको कुरा गरेको थाहा पाएपछि मैले बीपीसँग सोधें— सान्दाजु त्यो को भारतीय हो ? नेपाली हो ? अमेरिकन हो ? वा अरू को हो ?” उहाँले भन्नुभयो, “तिमीले भनेको मध्ये होइन ।” बीपीले यति मात्र भने— उसले नेपालमा राजतन्त्र हटाएर तपाईंलाई पहिलो राष्ट्रपति हुने वातावरण बनाइदिन्छौं भनेको छ ।”

केही समयको अन्तरालमा नेपालमा राजतन्त्र समाप्त गरी गणतन्त्र स्थापनाको वातावरण बनाउन सक्ने त्यो शक्ति को हुन सक्ला ? दुईपल्टसम्म मजगैयाँले बीपीलाई सोधे । तेस्रो पटक सोध्ने आँट आएन । फेरि उनले सोधे, “ठीक छ, त्यो मानिसबारे भन्न चाहनुभएन । उसलाई तपाईंले के भन्नुभयो त सान्दाइ ?” बीपीले भने, “यति ठूलो निर्णयमा जानुअघि मैले साथीहरूसँग छलफल गर्नुपर्छ । मलाई कम्तीमा ४८ घण्टा समय चाहिन्छ ।”

यसबीच २०३५ साल कात्तिक १३ गते दिउँसो १ बजे अचानक बीपीलाई दरबारमा बोलाइयो र करिब एक घण्टासम्म राजाले कुरा गरे ।” त्यही भेटमा राजसंस्था पनि रहने र जनमतका आधारमा व्यवस्था परिवर्तन गर्ने बिन्दुमा राजा र बीपीबीच ‘जनमत सङ्ग्रह’मा जाने सहमति बन्यो ।

दुई जना बीचको सहमति सार्वजनिक भएको थिएन । बीपीले कान्छा भाइ गिरिजाको धारणा बुझ्न माइला छोरा श्रीहर्षलाई सुटुक्क फारबिसगन्जमा पठाए । बम्बैमा इन्जिनियरिङ पढिरहेका श्रीहर्ष बिदामा घर आएका थिए । पेन्सिलले लेखिएको एक पृष्ठको सानो चिठी दिंदै बीपीले उनलाई भने, “राजाले रेफरेन्डम दिने भए । विराटनगर हुँदै फारबिसगन्ज जा । गिरिजालाई भारत प्रवासमा रहेका सबै कार्यकर्तालाई तयारी अवस्थामा राख्न भन्नू ।”

गिरिजाले लेखकसँग भनेका छन्, “श्रीहर्ष आयो । एउटा सानो चिट दियो सान्दाइले पठाएको र भन्न थाल्यो— एस वा नो मा जवाफ दिनुस्, म भोलि नै काठमाडौं जानुपर्छ । चिठीमा लेखिएको थियो, राजाले रेफरेन्डम गर्ने भनेका छन् तेरो के विचार छ ? गिरिजालाई रेफरेन्डमको अर्थ थाहा भएन ।” गिरिजा भन्न थाले, “यो रेफरेन्डम भनेको के हो यार ? ल डिक्सनरी किन्नुपर्‍यो । राम्रोसँग नबुझी लेख्नुभएन, फेरि सान्दाइ रिसाउनुहुन्छ ।”

श्रीहर्ष छट्पटाइरहेका थिए । त्यो रात विराटनगर फर्कने कि फारबिसगन्जमै बस्ने भन्ने दोधारमा उनी थिए । श्रीहर्ष भन्न थाले, “सानोबुवाको भनाइ यस्तो छ भनेर म नै बाबालाई लेखेर भन्छु नि हुन्न ?” गिरिजाले भने, “हुँदैन, हुँदैन । त्यो नभन्नू । फेरि यो गिरिजा त्यति पनि जान्दैन भनेर सान्दाइ रिसाउनुहुन्छ ।” डिक्सनरी किनेर हेरेपछि गिरिजाले बीपीलाई जवाफ पठाए, “जनमतसङ्ग्रहमा जानु उचित हुन्छ । हामी जनतामा जान पाएका छैनौं । चुनाव भयो भने हाम्रो प्रभाव कति छ भन्ने पनि थाहा हुन्छ ।” त्यतिबेला बीपीले दरबारलाई गुन लगाए भन्ने हल्ला थियो ।

दरबारका पूर्वप्रमुख सचिव रेवतीरमण खनालले जनमतसङ्ग्रह घोषणा हुनुअघि राजा वीरेन्द्र राजनीतिक दल र दरबारभित्रका शक्तिको दोहोरो चेपुवामा परेर ज्यादै दु:खी भएको बताएका छन् । त्यो बेला जस्तो अवस्थामा राजालाई आफूले कहिल्यै नपाएको प्रसङ्ग उल्लेख गर्दै खनाल लेख्छन्, “आठ–दश दिनसम्म गोकर्ण जङ्गलस्थित दरबारमा एक्लै बस्नुभएको थियो । म भेट्न जाँदा राजा एकदमै विरक्त भएको र दु:खमा डुबेको भान हुन्थ्यो । राजा झुस्स दाह्री पालेर बसिबक्सेको थियो ।”

दरबारका अर्का मुख्यसचिव रञ्जनराज खनालले पनि जनमत सङ्ग्रह घोषणाअघि राजा एकदमै हतार र हतासमा रहेको बताउँदै लेखकसँग भनेका छन्, “२०३६ साल, जेठ ९ गते रातिभर दरबारमा बैठक भयो । राति नै घोषणा गर्ने राजाको मनसाय बुझें । मैले भनें— सरकार राति गरेर के गर्ने ? रेडियो नेपाल त बिहान मात्र खुल्छ । त्यसैले जेठ १० गते बिहान रेडियो नेपालको पहिलो समाचारमा दिनुपर्छ । राजा सहमत होइबक्सियो । अनि बिहान सात बजेको समाचारभन्दा १५ मिनेट अघि ६ बजेर ४५ मिनेटमा जनमतसङ्ग्रह घोषणा गरियो ।”

लेखक
जगत नेपाल

नेपाल लेखक तथा उपप्राध्यापक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?