News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल-भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीले नेपाल राष्ट्र बैंकलाई विदेशी लगानीकर्ताको लाभांश फिर्ता सहजीकरणमा धन्यवाद दिएको छ।
- राष्ट्र बैंकले विदेशी लगानीकर्तालाई लाभांश फिर्ताका लागि दोहोरो कागजात पेस गर्ने झन्झट हटाउँदै एकद्वार प्रणाली पूर्ण कार्यान्वयन गरेको छ।
- विदेशी लगानीकर्ताले आफ्नो खाता भएको वाणिज्य बैंकबाट लाभांश फिर्ता लैजान सक्ने व्यवस्था विदेशी लगानी तथा ऋण व्यवस्थापन विनियमावली २०७८ मा संशोधन गरिएको छ।
१५ पुस, काठमाडौं । नेपाल-भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (निक्की) ले नेपालमा लगानी गरेका विदेशी लगानीकर्तालाई लाभांश फिर्ता सम्बन्धमा गरेको सहजीकरणका लागि नेपाल राष्ट्र बैंकलाई धन्यवाद दिएको छ ।
१५ जेठमा निक्कीले राष्ट्र बैंक गभर्नर डा. विश्वनाथ पौडेललाई भेट गर्दै विदेशी कर्मचारीको तलब तथा लाभांश फिर्ता, सीमापार सेवा भुक्तानीमा देखिएको झन्झट र एकद्वार प्रणालीको प्रभावकारी कार्यान्वय विषयमा ध्यानाकर्षण गराउँदै सहजीकरण गर्न आग्रह गरेको थियो । यसै साता राष्ट्र बैंकले २५ हजारसम्मका २ सय र ५ सय दरका भारतीय नोट चलाउन अनुमति दिएको थियो ।
यसका साथै सोमबार राष्ट्र बैंकले एकद्वार प्रणाली पूर्ण कार्यान्वयन गर्दै विदेशी लगानीकर्तालाई लाभांश फिर्ताका लागि उद्योग विभाग र राष्ट्र बैंकमा दोहोरो कागजात पेस गर्दा भइरहेको झन्झटमात्र हटेको छैन, यसबाट विदेशी लगानीकर्ताका लागि वास्तविक रूपमा एकद्वार प्रणाली लागु भएको निक्की अध्यक्ष सुनिल केसीले बताए ।
निक्की अन्तगर्तको इन्डियन बिजनेस फोरम (आईबीएफ) का सहसंयोजक सैबाल घोषले पनि राष्ट्र बैंकको नयाँ नीतिगत परिवर्तनलाई स्वागत गर्दै यसले वास्तवमा लगानीकर्ता र नेपाल सरकार दुवैलाई सिर्जना भएको कामको दोहोरोपन हटाउने बताए ।
राष्ट्र बैंक गभर्नर पौडेल तथा राष्ट्र बैंकलाई नेपालमा रहेका भारतीय बहुराष्ट्रिय कम्पनीका तर्फबाट उनले धन्यवाद दिए । ‘यस नयाँ प्रक्रियाले लगानीकर्तालाई अझ प्रभावकारी बनाउने छ र उद्योग विभागमा स्थापना गरिएको ‘वान विन्डो’ प्रणाली थप प्रभावकारी तथा दक्ष हुनेछ,’ उनले भने ।
राष्ट्र बैंकले विदेशी लगानीकर्तालाई नेपालबाट लाभांश लैजान सहज व्यवस्था गर्दै सोमबार विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८ संशोधन गरेको छ ।
यसअनुसार विदेशी लगानीकर्ताले लाभांश आफ्नो खाता भएको वाणिज्य बैंकबाट नै लैजान सक्ने गरी बाटो खुला गरिदिएको छ । विदेशी लगानी तथा हस्तान्तरण ऐन २०७५ को दफा २० र २६ का व्यवस्था बमोजिम विदेशी लगानी तथा आर्जित रकम फिर्ता लैजान इजाजतप्राप्त वाणिज्य बैंकले विदेशी मुद्रा सटही सुविधा प्रदान गर्न सक्ने विनियमावलीमा उल्लेख छ ।
यसका लागि अब निवेदन मात्र दिएर लाभांश फिर्ता लैजान सक्नेछन् । यसअघि एकद्वार प्रणाली प्रभावकारी नभएकाले दस्तावेज दोहोरो पेस गर्नुपर्ने समस्या थियो ।
प्रतिक्रिया 4