News Summary
Generated by OK AI. Editorially reviewed.- अल्फा अटोमोटिभले काठमाडौं उपत्यकामा चार स्थानबाट रोयल इन्फिल्ड मोटरसाइकलको सर्भिसिङ सेवा विस्तार गरेको छ।
- ग्राहकलाई एपोइन्टमेन्ट प्रणालीमार्फत सेवा दिने र फर्स्ट कम फर्स्ट सर्भ प्रणाली लागु गरिएको छ।
- कम्पनीले पिक एन्ड ड्रप सेवा र एनुअल मेन्टिनेन्स कन्ट्र्याक्ट योजना ल्याएको छ।
१५ पुस, काठमाडौं । नेपालमा रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक वितरक अल्फा अटोमोटिभले ग्राहकको सहजता केन्द्रबिन्दुमा राख्दै आफ्नो सर्भिसिङ सेवा व्यापक र पारदर्शी बनाएको जनाएको छ ।
कम्पनीका सर्भिस हेड महेशकुमार झाका अनुसार हाल काठमाडौं उपत्यकाभित्र नक्साल, बालकुमारी, पुरानो बानेश्वर र भक्तपुर गरी चार प्रमुख स्थानबाट कम्पनीले सेवा प्रदान गरिरहेको छ ।
यी सेन्टरमा कुल २३ वटा ‘बे’ मार्फत एकैसाथ धेरै मोटरसाइकल मर्मत गर्न सकिने संरचना तयार पारिएको छ ।
ग्राहकको समयको महत्त्व बुझ्दै कम्पनीले ‘सेड्युल सर्भिस’ अर्थात् एपोइन्टमेन्ट प्रणालीलाई प्राथमिकता दिएको छ । ग्राहकले टोल–फ्री नम्बरमा सम्पर्क गरेर आफ्नो पालो सुरक्षित गर्न सक्छन् ।
हालको अवस्थामा नक्साल र बालकुमारी सेन्टरका लागि दुई दिनभित्रको तथा बानेश्वर र भक्तपुरका लागि एक दिनभित्रको एपोइन्टमेन्ट पाउन सकिने अवस्था छ ।

एपोइन्टमेन्ट लिएर आउँदा ग्राहकको समय बचत हुनुका साथै काम पनि छिटो हुने झाको भनाइ छ । यद्यपि, पूर्वजानकारी विना वा एपोइन्टमेन्ट नलिई आउने ग्राहकलाई पनि फर्काइँदैन ।
उनीहरूका लागि ‘फर्स्ट कम फर्स्ट सर्भ’ (पहिले आउनेले पहिले सेवा पाउने) प्रणाली अन्तर्गत टोकन नम्बर दिएर सोही आधारमा सेवा प्रदान गरिन्छ । जसले प्रक्रियालाई पारदर्शी बनाएको उनी बताउँछन् ।
आकस्मिक मर्मत वा आपतकालीन अवस्थामा भने एपोइन्टमेन्ट कुर्नु नपर्ने र नजिकैको जुनसुकै सेन्टरबाट तत्काल सेवा लिन सकिने व्यवस्था कम्पनीले मिलाएको छ ।
ग्राहक सुविधाका लागि कम्पनीले एक नौलो अभ्यास पनि थालनी गरेको छ । यदि कुनै ग्राहक नक्साल सेन्टरमा पुगे पनि त्यहाँ अत्यधिक चापका कारण समय लाग्ने भयो भने ग्राहकले बाइक त्यहीँ छाड्न सक्छन् ।

कम्पनीले आफ्नै राइडर मार्फत उक्त बाइकलाई नजिकैको अर्को आधिकारिक सेन्टर (जस्तै, बानेश्वर) मा पुर्याएर, सर्भिसिङ र वासिङ सम्पन्न गरी पुन: नक्सालमै ल्याएर ग्राहकलाई हस्तान्तरण गर्छ । यो ‘पिक एन्ड ड्रप’ मोडेलले व्यस्त ग्राहकलाई ठूलो राहत मिल्ने कम्पनीको भनाइ छ ।
सवारी मर्मत खर्चको विषयमा सर्भिस हेड झाले रोयल इन्फिल्डका बाइकहरू ‘भ्यालु फर मनी’ का हिसाबले उत्कृष्ट रहेको दाबी गरे । उनले ३० हजार किलोमिटर गुडेको आधारमा गरेको विश्लेषण अनुसार क्लासिक, मेटिअर र हन्टर मोडेलका मोटरसाइकलमा सर्भिसिङ खर्च प्रतिकिलोमिटर मात्र ५३ पैसा आउँछ ।

त्यस्तै एडभेन्चर सेग्मेन्टमा रहेका हिमालयन र स्क्र्याम मोडेलमा यो खर्च प्रतिकिलोमिटर ६३ पैसामात्र पर्न आउँछ, जुन बजारमा उपलब्ध अन्य प्रतिस्पर्धी ब्रान्डको तुलनामा निकै कम हो ।
साथै, हरेक बाइकमा ५ हजार किलोमिटरमा मात्र सर्भिसिङ गरे पुग्ने भएकाले पनि ग्राहक खर्च र समय दुवै जोगिने उनको तर्क छ ।
उनका अनुसार वारेन्टी र पार्टपुर्जाका हकमा पनि कम्पनीले बलियो उपस्थिति जनाएको छ । नयाँ मोटरसाइकल खरिद गर्दा ग्राहकले ३ वर्ष वा ३० हजार किलोमिटरको वारेन्टी पाउँछन् ।
यस अवधिमा सुरुका ४ सर्भिसिङ र ४ वासिङ पूर्णरूपमा नि:शुल्क हुन्छ भने दुई वर्षसम्म लेबर चार्ज लाग्दैन । पार्टपुर्जा अभाव हुन नदिन कम्पनीले आफ्नो वेयरहाउसमा १० करोड रुपैयाँ बराबरको स्टक राखेको छ भने देशभरिका २५ सर्भिस आउटलेटमा पनि पर्याप्त सामान उपलब्ध गराएको छ ।

दुर्घटनापछिको मर्मतका सन्दर्भमा झाले ९० प्रतिशत पार्टपुर्जा तत्काल उपलब्ध हुने बताए । तर, कहिलेकाहीँ बिमाको सर्भे, प्रहरी रिपोर्ट र यातायात कार्यालयको प्रक्रिया (विशेषगरी च्यासिस फेर्नुपर्दा) का कारण मर्मतमा केही समय लाग्न सक्छ ।

यदि कुनै पेन्टेड पार्ट वा विशिष्ट सामान नेपालमा उपलब्ध नभए कम्पनीले ‘भेहिकल अफ रोड’ वा ‘एयर लिफ्ट’ अर्डर मार्फत भारतका २ हजार डिलरहरूसँग समन्वय गरी छिटोभन्दा छिटो सामान मगाएर समस्या समाधान गर्ने गरेको छ ।

अन्त्यमा ग्राहकको सन्तुष्टिलाई थप अभिवृद्धि गर्न कम्पनीले हालै ‘एनुअल मेन्टिनेन्स कन्ट्र्याक्ट’ योजना ल्याएको छ । मात्र २ हजार रुपैयाँमा दुई वर्षका लागि पाइने यो प्याकेज अन्तर्गत ग्राहकले ४ सर्भिसिङ र ६ वासिङ सुविधा पाउँछन् ।

साथै, १ हजार रुपैयाँभन्दा कमको सानातिना मर्मतमा लेबर चार्ज लाग्दैन भने ठूला मर्मतको लेबर चार्जमा ५० प्रतिशत छुट दिइन्छ । यो सुविधा नेपालभरिका जुनसुकै आधिकारिक सर्भिस सेन्टरमा लागु हुने गरी व्यवस्था मिलाइएको छ ।
प्रतिक्रिया 4