+
+
Shares

थापालाई घर्तीको प्रश्न: कांग्रेससँग मिलेर चुनाव लड्ने भए किन समानुपातिकमा बसेको?

नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्नुपर्छ भन्ने नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाले अभिव्यक्तिप्रति पार्टीभित्रैका नेताले आपत्ति जनाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १५ गते १९:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाले कांग्रेससँग सहकार्य गरेर लोकतन्त्र पुनर्स्थापना गर्नुपर्ने बताएका छन्।
  • एमाले केन्द्रीय कमिटी सदस्य ईश्वरी घर्तीले थापाको कांग्रेससँग सहकार्यको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै समानुपातिकमा आफ्नो नाम राख्ने विषयमा प्रश्न उठाएकी छन्।
  • घर्तीले पार्टीले रुखमा भोट हाल्ने निर्णय गरे पनि मतदाताले गठबन्धन परिवर्तन गरेर अरुको चुनावी चिह्नमा भोट हाल्ने सम्भावना रहेको बताएकी छन्।

१५ पुस, काठमाडौँ । नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्नुपर्छ भन्ने नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाले अभिव्यक्तिप्रति पार्टीभित्रैका नेताले आपत्ति जनाएका छन् ।

मंगलबार काठमाडौंमा मदन–आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा थापाले मुलुक संकटमा फसेको उल्लेख गर्दै त्यसलाई निकास दिन कांग्रेस–एमाले मोर्चाबन्दी कसेर अघि बढ्न ढिलाइ गर्न नहुने बताएका थिए ।

‘कांग्रेस र एमालेको, दुवै शक्तिहरूको संयुक्त आन्दोलनबाट हामी लोकतन्त्रको पुनर्स्थापना गर्न सक्छौँ । त्यसकारण यो रणनीति, यो बाटोबाट हामी अगाडि बढ्यौँ भने हामीले लोकतन्त्रलाई फेरि पुनर्स्थापना गर्न सकिन्छ,’ थापाले भनेका थिए,’हाम्रो सहकार्य, हाम्रो मोर्चाले नै देशको राष्ट्रिय स्वाधिनता र अस्तित्वलाई हामी टिकाउन सक्छौँ । त्यसकारण अविलम्ब दुवै दलले अबको लोकतन्त्रलाई पुनर्स्थापित गर्ने रणनीति र यसका कार्यनीतिहरू सुविचारित ढंगले निश्चित गर्न जरुरी छ ।’

उनको भनाइप्रति आपत्ति जनाउँदै पूर्वकेन्द्रीय कमिटी सदस्य ईश्वरी घर्तीले कांग्रेससँग मिलेर जाने भए किन समानुपातिकमा आफ्नो नाम राखेको भन्दै प्रश्न गरेकी हुन् ।

उनले भनेकी छन्, ‘कांग्रेससँग मिलेर चुनाव लड्ने भए तपाईंको जित पनि प्रत्यक्षमै सुनिश्चित हुन्थ्यो हाेला नि उपाध्यक्ष कमरेड, कति राम्रो सन्देश पनि जान्थ्यो ! बेकारमा यत्तिकाे हेविवेट नेता समानुपातिककाे १ नं. मा बस्दा पहिलो कुरा नयाँ पुस्ता अवसरबाट बञ्चित भए, दाेस्राे कुरा सारा लाेक हाँसेकाे छ। हजुरकाे १ नं. मा राेल्पाकाे नवीन राेकामगर या अरु जिल्लाका कुनै नयाँ मान्छेलाई अवसर दिएको भए कति राम्रो हुन्थ्यो हाेला!’

उनले पार्टीले रुखमा भोट हाल्ने निर्णय पार्टीले गरिहाले मतदाताले के गर्लान् भनेर पनि प्रश्न गरेकी छन् ।

‘रुखमा भाेट हाल्नुपर्ने निर्णय पार्टी केन्द्रले गरिहालेमा म त पार्टीको बफादार कार्यकर्ता हुँ भाेट हालिहालुला । २०७४ काे निर्वाचनमा पनि पार्टी केन्द्रकाे आदेश पालना गर्दै राेल्पामा एमाले निल बनाउँदा पनि धेरैले रुँदै भए पनि हँसिया हथौडामा भाेट हालेकै हाैँ,’ उनले भनेकी छन्, ‘तर हाम्रो सबै कार्यकर्ता र शुभेच्छुक मतदाताले जतिवटा चुनाव आयाे त्यति चाेटी गठबन्धन बदलेर अरुकाे चुनावी चिह्नमा भाेट हाल्न लगाउने आदेश पालन गर्लान् कि नगर्लान् ? त्याे त आगामी दिनले देखाउला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?