News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले पार्टी उपाध्यक्ष रामबहादुर थापा बादललाई समानुपातिक सूची त्यागेर प्रत्यक्ष चुनाव लड्न सुझाव दिएका छन्।
- बादलले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमाले र कांग्रेस मिलेर लड्नुपर्ने धारणा व्यक्त गरेका थिए।
- निर्वाचन आयोगले माघ ११ मा राष्ट्रिय सभा सदस्य निर्वाचन गर्ने प्रक्रिया पुस १९ देखि सुरु गर्ने जनाएको छ।
१६ पुस, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले पार्टी उपाध्यक्ष रामबहादुर थापा बादललाई समानुपातिक सूची त्यागेर प्रत्यक्ष चुनाव लड्न सुझाव दिएका छन् ।
बादलले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमाले र कांग्रेस मिलेर लड्नुपर्ने धारणा व्यक्त गरेको भोलिपल्ट बास्कोटाले उनलाई समानुपातिक छाडेर प्रत्यक्ष लड्न सुझाव दिएका हुन् ।
मदन–आश्रित प्रतिष्ठानले मंगलबार राजधानीमा आयोजना गरेको एउटा कार्यक्रममा बादलले कांग्रेस र एमालेको सहकार्यले नै देशको राष्ट्रिय स्वाधिनता र अस्तित्वलाई टिकाउन सक्ने भन्दै चुनावी गठबन्धन गर्दा आधा–आधा सिट भागबण्डा गरेर जान सकिने बताएका थिए ।
त्यसको एमालेकै कतिपय नेताले विरोध जनाएका छन् । सोही अभिव्यक्तितर्फ संकेत गर्दै बास्कोटाले ‘आफूलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेता नै समानुपातिक कोटामा पटक–पटक बसेपछि यो प्रणालीको विरोध हुनु ठिक’ भएको बताएका छन् ।
एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्दसूचीमा उपाध्यक्ष रामबहादुर थापा बादलसहितका नेताहरूको नाम छ । आदिवासी जनजाति तर्फको कलस्टर अन्तर्गत बादलको नाम पहिलो नम्बरमा छ ।
बास्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अझ तिनै रुख र सूर्य मिलेर चुनावमा जानु पर्छ भन्छन् । रुख–सूर्य मिलेपछि चुनाव लडे भो त । अहिले नाम फिर्ता लिए हुन्छ पटके समानुपातिकले समावेशीताकै बेइज्जत नगर के–त्यो पनि पुरुषले ।’
२१ फागुनमा हुने निर्वाचनका लागि यही पुस १३ र १४ गते समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा पेस भएको छ । दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ बुझाएको उम्मेदवारको बन्दसूचीमाथि आयोगले छानबिन सुरु गरेको छ । छानबिनसँगै आयोगले बन्दसूचीमा देखिएको त्रुटि सच्याउन दलहरूलाई पत्राचार गर्ने छ ।
राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस र एमालेबीच गठबन्धनको प्रयास भइराखेको छ । अब राष्ट्रिय सभा हुँदै प्रतिनिधि सभाको चुनावमा समेत दुई दलबीच गठबन्धन गर्नुपर्ने मत उपाध्यक्ष बादलले राखेका हुन् । तर, यस्तो मतप्रति दुवै पार्टीभित्र प्रश्न भने उठिरहेको छ ।
राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ मा हुँदैछ ।
निर्वाचन आयोगका अनुसार माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रक्रिया यही पुस १९ गतेबाट सुरु हुनेछ । पुष १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिनेछ । पुस २० गते दिउँसो ४ बजेसम्म प्रकाशित नामावलीमा नाम छुट भएका व्यक्तिले नाम समावेश गर्न दरखास्त दिने, नाम सच्याउन दरखास्त दिने वा नामावलीमा रहेका मतदाताको विरोधमा उजुरी दिने समय तोकिएको छ । यसरी परेको निवेदन तथा उजुरीमाथी पुस २१ र २२ गते छानबिन गरी आयोगले पुस २२ गते दिउँसो ३ देखि ४ बजेभित्र अन्तिम मतदाता नामावली प्रकाशन गर्नेछ ।
पुस २३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता गराउनुपर्नेछ । पुस २३ गते नै दिउँसो ३ बजेदेखि ४ बजेसम्म मनोनयन पत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गरिनेछ । उम्मेदवारको विरोधमा उजुरी दिनका लागि पुस २४ गते बिहान १० देखि ४ बजेसम्मको समय छुट्याइएको छ । मनोनयन पत्र र उजुरीमाथी जाँचबुझ गरी निर्णय गर्ने काम पुस २५ र २६ गते हुनेछ भने उम्मेदवारको नामावली प्रकाशन पुस २६ गते दिउँसो ३ देखि अपराह्न ४ बजेसम्म गरिनेछ ।
कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा पुस २७ गते बिहान १० देखि दिउँसो १ बजेसम्मको समय दिइएको छ । त्यसपछि १ देखि २ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ र पुस २८ गते बिहान १० देखि १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।
आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।
प्रतिक्रिया 4