+
+
Shares

पुसभित्रै महाधिवेशन बोलाउने महामन्त्रीको तयारी, देउवा भन्छन्- सम्भव छैन

कानुन व्यवसायीहरूले केन्द्रीय समितिले विशेष महाधिवेशन आव्हान नगरेको अवस्थामा दुई महामन्त्री थापा र विश्वप्रकाश शर्माले बोलाउन सक्ने तर्क राखेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १६ गते १३:५२

१६ पुस, काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन आह्वान गर्ने तयारी गरिएको छ । पूर्वनिर्धारित समयभित्र १५ औं महाधिवेशन हुन नसक्ने परिस्थिति बनेसँगै विशेष महाधिवेशन आह्वान गर्न लागिएको हो ।

पुस २६ देखि २८ गतेसम्म गर्ने गरी नियमित महाधिवेशनको समय तोकिएको थियो । उक्त समयमा नियमित महाधिवेशन नहुने भएसँग महामन्त्री गगन थापाले विशेष महाधिवेशन गर्ने गरी बुधबार सामाजिक सञ्जालमा विचार व्यक्त गरेका छन् । पुसभित्रै विशेष महाधिवेशन गर्ने गरी अघि बढेको जानकारी पार्टी पङ्तिलाई गराएका छन् ।

‘पुस मसान्तभित्र विशेष अधिवेशन गर्ने कार्य विधानतः बाध्यकारीमात्र नभएर पार्टीभित्रको एकता र आत्मविश्वासको लागि अनिवार्य बनेको छ,’ महामन्त्री थापाले लेखेका छन्,‘राष्ट्र प्रतिको दायित्व निर्वाह गर्न सक्ने कांग्रेस बनाउनु नै आजको लागि प्रत्येक कांग्रेस कार्यकर्ताको युगिन जिम्मेवारी हो । अतः हामी यही जिम्मेवारी निर्वाह गर्न पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्यौँ ।’

विशेष महाधिवेशनका लागि दृढतापूर्वक उभिन महामन्त्री थापाले आह्वान गरेका छन् ।

कांग्रेस विधानमा विधानमा विशेष महाधिवेशन बोलाउन सकिने व्यवस्था छ । केन्द्रीय समितिले आवश्यक ठानेमा वा ४० प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरी लिखित माग गरेमा विशेष महाधिवशेन गर्नुपर्ने व्यवस्था छ ।

दोस्रो विकल्पअनुसार १४ औं महाधिवेशनका ५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरेर माग गरेको अवस्थामा तीन महिनाभित्र आह्वान गर्नुपर्ने विधानको व्यवस्था छ । गत महाधिवेशनका २४८८ प्रतिनिधिले हस्ताक्षर गरी २९ असोजमा लिखित प्रस्ताव दर्ता गरेका थिए ।

तीन महिनाको अवधि यही पुसको २८ गते सकिँदैछ । तीन महिनाको समयसीमा भित्र विशेष महाधिवेशन गर्ने गरी तयारी भएको पक्षधर नेताहरूले जानकारी गराएका छन् ।

केन्द्रीय समितिले आह्वान नगरेको अवस्थामा विशेष महािधवेशन कसले बोलाउने? विषयमा मागकर्ताहरुले कानुन व्यवसायीसँग परामर्श समेत लिएका छन् ।

कानुन व्यवसायीहरुले केन्द्रीय समितिले विशेष महाधिवेशन आव्हान नगरेको अवस्थामा दुई महामन्त्री थापा र विश्वप्रकाश शर्माले बोलाउन सक्ने तर्क राखेका छन् ।

वरिष्ठ अधिवक्ता यदुनाथ खनालले कांग्रेसको विधानको आधारमा महामन्त्रीले विशेष महाधिवेशन बोलाउन सक्ने तर्क गर्छन् । विधानको परिभाषा अन्तर्गत दफा ३ (१२) र महामन्त्रीको काम, कर्तव्य र अधिकारको दफा २७ (१) अनुसार महामन्त्रीले विशेष महाधिवेशन आह्वान गर्नसक्ने अधिवक्ता खनालले अनलाइनखबरसँग बताए ।

विधानको दफा ३ (१२) मा केन्द्र भन्नाले ‘केन्द्रीय कार्यसमिति र पार्टीको केन्द्रीय कार्यालयलाई समेत बुझाउने’ उल्लेख छ । महामन्त्रीको काम, कर्तव्य र अधिकारमा दफा २७ (१) मा ‘केन्द्रीय कार्यालय महामन्त्री मातहत रहनेछ । महामन्त्रीले केन्द्रीय कार्यालयको रेखदेख र सञ्चालन गर्ने’ व्यवस्था छ ।

पार्टीको केन्द्रीय कार्यालय महामन्त्री मातहत रहेको उल्लेख गर्दै वरिष्ठ अधिवक्ता खनाल भन्छन्,‘विशेष महाधिवेशन माग गरिएको केन्द्र समक्ष हो । केन्द्र भनेको केन्द्रीय कार्यालय हो । केन्द्रीय कार्यालय महामन्त्रीको मातहतमा हुन्छ । महामन्त्रीहरुले विशेष महाधिवेशन बोलाउन विधानले स्पष्ट अधिकार दिएको छ ।’

नियमित महाधिवेशन नहुने भएसँगै विशेषका पक्षधन सक्रियता बढाएका छन् । विशेष महाधिवेशनको मिति र हल १/२ दिनमै तय गरिने हस्ताक्षरका अगुवा मध्येका एक नेताले जानकारी गराएका छन् ।

विशेष महाधिवेशन पक्षधर नेता मधु आचार्य आह्वान गर्ने अधिकार केन्द्रीय समिति, महामन्त्री र मागकर्तामा रहेको उल्लेख गर्दै भन्छन्,‘पार्टी पुर्नजागरण गर्न विशेष महाधिवेशन अत्यावश्यक बन्यो ।’

पार्टी संस्थापन पक्ष विशेष महाधिवेशन आह्वान गर्ने पक्षमा छैन । सभापति शेरबहादुर देउवाले नियमितको कार्यतालिका आइसकेको हुँदा विशेषको बहस निरर्थक भएको बताएका छन् ।

‘विशेष महाधिवेशन हुँदै हुँदैन । गर्ने नै हो भने गरे भैहाल्यो त ! मैले कार्यवाहक दिएकै छु । मैले रोक्ने कुरा चाहिँ हुँदैन,’ मंगलबर बिहान पत्रकारसँग कुरा गर्दै देउवाले भनेका थिए, ‘विशेष महाधिवेशनमा गयो भने त्यसको विधि के हुने भन्ने स्पष्ट छैन । कसरी गर्ने, विशेष माग्नेहरूको विवरण रुजु गराउनै कति समय लाग्ला ? त्यसकारणले यो सम्भव छैन ।’

विधानमा विशेष महाधिवेशन बोलाउन सकिने प्रावधान छ । तर, कुन विधिबाट गर्न सकिने विषयमा विधान मौन छ । २०१४ सालमा विशेष महाधिवेशन हुँदा सभापति मात्रै निर्वाचित गरिएको थियो ।

विशेष महाधिवेशनका पक्षधर केन्द्रीय सदस्य मधु आचार्य विशेष महाधिवशेनको पहिलो सत्रले कुन विधिबाट महाधिवेशन गर्ने तय गर्न सकिने बताउँछन् । विशेष महाधिवेशनबाट सभापति, पदाधिकारी, केन्द्रीय सदस्य लगायतहरु चयन गर्ने विधि बनाएर त्यही अनुसार निर्वाचन गर्न सकिने आचार्य बताउँछन् । उनी भन्छन्,‘नीति सहित पूर्ण आकारको नयाँ नेतृत्व चयन गर्न सक्छ । त्यसको विधि बनाउन सर्वोच्च निकाय पनि महाधिवेशन हो ।’

विशेष महाधिवेशनको विपक्षमा संस्थापनइतरका नेता डा.शेखर कोइराला पनि छन् । विशेष महाधिवेशनले पार्टी विभाजन हुनसक्ने उनले भन्दै आएका छन् । पार्टी अब चुनावतिर लाग्न उपयुक्त हुने धारणा बुधबार उनले सार्वजनिक गरेका छन् ।

मेलमिलाप दिवसमा शुभकामना व्यक्त गर्दैं कोइरालाले भनेका छन्,‘हाम्रा अप्रिय विवाद, मतभिन्नता र व्यक्तिगत महत्वाकांक्षालाई समाप्त गरेर भावी राष्ट्रिय निर्वाचनमा होमीनुको बिकल्प छैन ।’

महामन्त्री थापा र शर्माले जेनजी आन्दोलनलगत्तै पुर्नगठित कांग्रेसबिना चुनावमा जान नसकिने बताएका थिए । उनीहरूले त फागुन २१ को चुनावअघि पार्टीमा नयाँ नेतृत्व नआए चुनाव नलड्ने घोषणासमेत गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?