News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता महेश त्रिपाठीले आगामी फिल्म 'शिरजरा : सङ अफ ग्रान्ड मदर' साइन गरेका छन् र फिल्मको छायांकन फेब्रुअरी २०२६ देखि सुरु हुने छ।
- फिल्मको निर्देशन विकास सुवेदीले गर्नेछन् र नेपालमा निर्मातामा सुवास भुसाल, कार्यकारी निर्माता क्रिस बेरुटी रहेका छन्।
- 'शिरजरा' मेटा-मोर्डन फिलोसोफिकल विधामा बन्ने फिल्म हो र छायांकन नेपाल र विदेशमा हुने तयारी छ।
काठमाडौं । अभिनेता महेश त्रिपाठीले आगामी फिल्म ‘शिरजरा : सङ अफ ग्रान्ड मदर’ साइन गरेका छन् । एकमहिना अघि उनी औपचारिकरुपमा अनुबन्धित भएपनि घोषणा बुधबार मात्र गरिएको हो ।
फिल्मको शीर्ष भूमिकामा उनी जोडिएका हुन् । ‘यो फिल्ममा मेरो पात्र बलियो दार्शनिक छवि बोकेको रोलमा छ’ फिल्म साइन गरेपछि त्रिपाठीले अनलाइनखबरसँग भने ।
उत्तरआधुनिक कथावस्तु र जनरामा बन्ने फिल्मको छायांकन फागुनदेखि सुरु हुने जनाइएको छ । आधा भाग नेपाल र आधा विदेशमा गर्ने तयारी रहेको जानकारी महेशले दिए ।
अभिनेता त्रिपाठी पछिल्लो समयका हिट र डिमान्डेड कलाकार हुन् । उनी अभिनित पछिल्लो फिल्म ‘परान’ सर्वकालिन धेरै कमाउने चौंथो नेपाली फिल्म हो, जुन १८ करोड कमाउने दौडतिर उन्मुख छ ।
सन् २०२५ मा उनी अभिनित फिल्महरू लाज शरणम्, रेशम फिलिली, ११ः५५, प्रदर्शनमा आए । हालै ‘ककाकिकी’ र ‘३६ को आँकडा’ गरेका उनी अहिले ‘झिंगेदाउ २’ मा ब्यस्त छन् ।
‘शिरजरा’ फिल्म के हो ?
विकास सुवेदीको पटकथा र निर्देशन रहने फिल्मको नेपाल निर्मातामा सुवास भुसाल हुनेछन् । कार्यकारी निर्मातामा क्रिस बेरुटी (अमेरिका) रहेका छन् भने पोल्याण्डमा पोष्ट-प्रोडक्सनको काम हुने जनाइएको छ ।
मेटा-मोर्डन फिलोसोफिकल विधामा फिल्म बन्ने बताइएको छ । अहिले प्रि-प्रोडक्सनको काम भइरहेको फिल्मको छायांकन फेब्रुअरी २०२६ देखी सुरु हुने उल्लेख छ ।
प्रतिक्रिया 4