News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरीको कोशी गाउँपालिका-१ मा सशस्त्र प्रहरीसँगको विवादमा विजय साहलाई गोली लागेर मृत्यु भएको छ।
- स्थानीयले प्रहरीसँगको लेनदेन विवादका कारण साहमाथि गोली प्रहार भएको दाबी गरेका छन्।
- घटनापछि पाँच बुँदे सहमति गरी छानबिन समिति गठन गरिएको छ र मृतक परिवारलाई राहत दिने सहमति भएको छ।
१७ पुस, विराटनगर । सुनसरीको कोशी गाउँपालिका-१ का विजय साहको घर भारतीय सीमा नजिकै पर्छ । उनी पेसाले सिटी सफारी चालक हुन् । सीमा नजिकै घर भएकाले उनी भारतबाट दैनिक उपभोग्य वस्तु ल्याएर बिक्री गर्दै आएका थिए ।
बुधबार राति उनी सिटी लिएर सामान लिन भारत गए, फर्कंदा सिटी सफारीमा चिनी ६-७ बोरा, सुर्ती, चलकेटलगायत सामग्रीका कार्टुन लोड गरे । डोरीले बाँधेर सामान ल्याउँदै गर्दा राति करिब सवा १ बजे कोशी गाउँपालिका-१ को भित्री सडक खण्डको पुरी टोलमा सशस्त्र प्रहरीसँग जम्काभेट भयो ।
प्रहरीसँग लेनदेन विवाद भयो । स्थानीयका अनुसार पहिले दिँदै गरेकोभन्दा बढी पैसा मागेपछि विवाद भएको थियो । विवाद बढ्दै जाँदा सशस्त्रले चलाएको गोली उनको छातीमा लाग्यो ।
बुधबार मध्यरातमा भएको बिभत्स घटनाले उनको परिवारको ओत लाग्ने छानो नै उजाडिदिएको छ । स्थानीयको दाबीअनुसार सीमा क्षेत्रमा सशस्त्र प्रहरीसँगको ‘लेनदेन’ विवादले साहले ज्यान गुमाउनु परेको हो ।
सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी कुमार न्यौपानेले भने तस्करको समूहसँग दोहोरो गोली हानाहान भएको दाबी गरे । घटनापछि सशस्त्र प्रहरीले दोहोरो फायरिङ भएको दाबी गरे पनि घटनास्थलको प्रकृति र प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा दोहोरो फायरिङको पुष्टि हुने आधार छैन ।
मृतकका छिमेकी र आफन्तको दाबीअनुसार प्रहरीले मागेजति पैसा नदिँदा उनीमाथि गोली प्रहार भएको हो । ‘दुई जना सशस्त्र प्रहरी थिए, उनीहरूले मागेजति पैसा नदिने भएपछि गोली प्रहार भयो,’ आक्रोशित स्थानीय भन्छन्, ‘दोहोरो झडप भएको होइन, लेनदेनमा कुरा नमिलेर हत्या गरेको हो ।’
बुधबार मध्यरातको घटनापछि बिहीबार बिहान स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर प्रर्दशन गरे । सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी)मा पनि आक्रमण गरे ।
दिउँसो दुवै पक्षबीच ५ बुँदे सहमति भयो । सहमतिपछि अवस्था सामान्य भएको छ । सहमतिपछि शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले जानकारी दिए । सहमतिपछि अवस्था सामान्य भएको छ ।
‘ऊ विपन्न परिवारको मान्छे हो, सिटी चलाएर परिवार पालिरहेको थियो,’ कोशी गाउँपालिका-१ का वडाध्यक्ष सोभितनारायण यादव भन्छन्, ‘घटनास्थलमा के भएको थियो, ठ्याक्कै थाहा भएन ।’
उनका अनुसार प्रहरीको गोली लागेर विजयको मृत्युपछि परिवारको मियो ढलेको छ । ‘विजयका दुई छोरा एक छोरी छन्, घरमा श्रीमती र आमा पनि हुनुहुन्छ,’ उनले भने, ‘सिटी चलाएर गुजारा गर्दै थियो, तस्करी गर्ने मान्छे होइन ।’
प्रहरी स्रोत भने मृतक साह पोके व्यापारी भएको बताउँ५ । भारतबाट थोरै थोरै सामग्री ल्याएर बेच्नेलाई प्रहरी पोके व्यापारी भन्छन् । सीमा क्षेत्रका बासिन्दाको जीविकोपार्जनसँग जोडिएका कारण रोक्नेभन्दा पनि प्रहरीले आँखा चिम्लिने गर्छ ।
भारतबाट सफारीमा सामान ल्याएर उनी नेपालको बजारमा बेच्थे । ‘सीमा क्षेत्रमा बसेकाहरुले सिटीमा त्यति दैनिक उपभोग्य वस्तु ल्याउनु सामान्य जस्तै हो,’ स्रोत भन्छ, ‘गोली हान्ने परिस्थिति कसरी सिर्जना भयो भन्ने अन्योल छ ।’
सिटी सफारीको चालकको सिटमा रहेका बेला उनीमाथि सशस्त्र प्रहरीले चलाएको गोली छातीमा लागेको थियो । ‘उनको छातीमा एउटा ठूलो र अर्को सानो प्वाल छ,’ दुई वटै गोलीको दाग हो/होइन भन्ने पोस्टमार्टम रिपोर्टपछि मात्रै खुल्छ ।’ डीएसपी खड्काका अनुसार घटनास्थलबाट दुई राउन्ड गोली फेला परेको थियो ।
घटनापछि स्थानीय र प्रशासनबीच पाँच बुँदे सहमति भएको छ । सहमतिसँगै घटनाको छानबिनका लागि समिति बनेको छ । समितिको प्रतिवेदनपछि मृतक परिवारलाई राहत उपलब्ध गराउनका लागि पहल गर्ने सहमति छ ।
प्रतिक्रिया 4