News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमाले मकवानपुरले २१ फागुन प्रतिनिधिसभा निर्वाचनका लागि दुई निर्वाचन क्षेत्रबाट ८ जनाको नाम सिफारिस गरेको छ।
- क्षेत्र नम्बर १ बाट ६ जनाको नाम सिफारिस भएको छ जसमा रामेश्वर राना, कृष्णप्रसाद दाहाल र हिदम लामा छन्।
- क्षेत्र नम्बर २ बाट महेश बर्तौला र सुभाषचन्द्र ठकुरीको नाम सिफारिस भएको छ जसमा बर्तौलाले २०७९ मा गठबन्धनका उम्मेदवारलाई पराजित गरेका थिए।
२० पुस, हेटौंडा । २१ फागुनका लागि घोषित प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले मकवानपुरले जिल्लास्थित दुईवटा निर्वाचन क्षेत्रका लागि ८ जनाको नाम सिफारिस गरेको छ ।
आइतबार बसेको नेकपा एमाले जिल्ला कमिटीको बैठकले क्षेत्र नम्बर १ बाट ६ जना र क्षेत्र नम्बर २ बाट दुई जनाको नाम पार्टी केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको जिल्ला सचिव सिता विष्टले जानकारी दिइन् ।
सिफारिस हुनेमा संविधानसभा सदस्य, निवर्तमान प्रतिनिधिसभा सदस्यदेखि गाउँपालिका अध्यक्षसमेत छन् ।
क्षेत्र नम्बर १
निर्वाचन क्षेत्र नम्बर १ का लागि रामेश्वर राना, कृष्णप्रसाद दाहाल, हिदम लामा, रामचन्द्र राई, मदन दाहाल र नारायण सापकोटाको नाम सिफारिस भएको सविच विष्टले जानकारी दिइन् ।
केन्द्रीय सदस्यसमेत रहेका रामेश्वर राना गत प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुनबाट अन्तिम अवस्थामा बञ्चित भएका थिए । टिकट पाएर प्रचारमा जुटिसकेका बेला एमाले केन्द्रले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई सोही क्षेत्रबाट सूर्य चुनाव चिह्नमा उम्मेदवार बनाउने निर्णय गरेपछि रानाको टिकट खोसिएको थियो ।
दाहाल १ नम्बर क्षेत्रबाटै यसअघि तीन पटक सांसद निर्वाचित भइसकेका नेता हुन् । पछिल्लोपटक २०७४ को निर्वाचन जितेका उनी प्रतिनिधिसभाको अर्थ विकास समिति सभापति थिए ।
हिदम लामा भीमफेदी गाउँपालिकाका वर्तमान अध्यक्ष हुन् । उनी दोस्रोपटक पालिका अध्यक्ष बनेका हुन् । रामचन्द्र राई राष्ट्रिय सभाका निवर्तमान सदस्य हुन् ।
क्षेत्र नम्बर १ मा हेटौंडा उपमहानगरपालिकाको १५ वटा वडा, बागमती गाउँपालिका र बकैया गाउँपालिकाको सबै वडा तथा मकवानपुरगढी गाउँपालिकाको ४ वटा वडा समेटिएको छ ।
क्षेत्र नम्बर २
प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ नम्बरबाट भने विघटित प्रतिनिधिसभाका सदस्य महेश बर्तौला र संविधानसभा सदस्य सुभाषचन्द्र ठकुरीको नाम मात्र सिफारिस भएको सचिव विष्टले जानकारी दिइन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा बर्तौलाले कांग्रेस–माओवादी–एकीकृत समाजवादीको चुनावी गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका नेता विरोध खतिवडालाई पराजित गरेका थिए ।
सोही निर्वाचन क्षेत्रबाट तीनपटक प्रतिनिधिसभा र एकपटक संविधानसभा सदस्य निर्वाचित भएका खतिवडा एमाले विभाजनसँगै एकीकृत समाजवादीमा लागेका थिए । त्यसपछि सो क्षेत्रमा बर्तौलाले टिकट पाएका हुन् ।
प्रतिक्रिया 4