+
+
Shares

वरिष्ठ सईसम्मलाई पदस्थापन भएको कार्यालय पुगेपछि मात्रै बढुवाको दर्ज्यानी चिह्न

अबदेखि बढुवा भएका वरिष्ठ सई दर्जासम्मका प्रहरी कर्मचारीहरू तोकिएको दरबन्दीमा गएपछि मात्रै दर्ज्यानी चिह्नबाट सुशोभन कार्यक्रम गर्न/गराउन सबै प्रहरी कार्यालयहरूलाई परिपत्र गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २१ गते १८:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरी प्रधान कार्यालयले वरिष्ठ नायव निरीक्षकसम्म बढुवा भएका कर्मचारीलाई तोकिएको दरबन्दीमा हाजिर भएपछि मात्रै दर्ज्यानी चिह्न सुशोभन गर्न निर्देशन दिएको छ।
  • दरबन्दीभन्दा बढी प्रहरी कर्मचारी सुगम ठाउँमा बस्ने र दुर्गम जिल्लामा नजाने प्रवृत्ति रोक्न नयाँ नीति लागू गरिएको प्रहरी अधिकृतले बताए।
  • पूर्वएसपी रवीन्द्रनाथ रेग्मीले प्रहरीमा काजको दुरुपयोग गरी आफूअनुकूल बस्ने र कार्यसम्पादनको आधारमा दरबन्दी नदिने विकृति रहेको उल्लेख गरे।

२१ पुस, काठमाडौं । ‘प्रहरी सहायक हवल्दारदेखि वरिष्ठ नायव निरीक्षक (सई) दर्जासम्म बढुवा भएका प्रहरी कर्मचारीलाई दरबन्दीमा हाजिर भएपछि मात्रै दर्ज्यानी चिह्नबाट सुशोभन गर्नू ।’

प्रहरी प्रधान कार्यालयले १८ पुसमा आन्तरिक सर्कुलर गर्दै दिएको यो निर्देशनबाट प्रष्ट हुन्छ- प्रहरीमा अहिले पनि दरबन्दी एकातिर, हाजिर अर्कैतिर छ । अर्थात् पहुँचको भरमा आकर्षक र पायक पर्ने ठाउँमा बस्ने प्रवृत्ति प्रहरीमा व्याप्छ छ भने दुर्गम भनिएका वा कम आकर्षक ठाउँमा दरबन्दी भए पनि प्रहरी जान मान्दैनन् ।

यो विकृति देखा परेपछि प्रहरीले सर्कुलरको गरेको सन्देशमा भनिएको छ, ‘नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन शाखाको क्रम संख्या ४३४४, मिति २०८२-०९-१८ को सञ्चारमा उल्लेखित सहायक हवल्दारदेखि वरिष्ठ सई दर्जाका प्रहरीलाई तोकिएको दरबन्दीमा हाजिर भएपश्चात् मात्र दर्ज्यानी चिह्न सुशोभन गर्नेसम्बन्धी पत्र नेपाल डट सीडीमा राखिएको बेहोरा जानकारीका लागि अनुरोध छ ।’

यो सन्देश प्रहरी कर्मचारीलाई पठाउँदै आन्तरिक परिपत्रसमेत गरिएको छ । जहाँ माथि उल्लेखित विषयहरूलाई नै मुख्य कारण देखाइएको छ । परिपत्रमा भनिएको छ, ‘वरिष्ठ सई दर्जासम्म बढुवा हुँदा कार्यरत कार्यालयबाट नै गरिने दर्ज्यानी चिह्न सुशोभन कार्यक्रमपश्चात् पदस्थापन भएका कतिपय प्रहरी कर्मचारीहरू तोकिएको दरबन्दीमा हाजिर हुन नगई कार्यरत कार्यालयमा नै कामकाज गर्ने गरेको पाइयो ।’

तोकिएको दरबन्दीमा सरुवा तथा पदस्थापन भएका कर्मचारी नजाँदा दैनिक काम-कारबाही, जनशक्ति परिचालन र व्यवस्थापन समेत प्रभावित हुने गरेको प्रहरी प्रधान कार्यालयले बताएको छ । जसका कारण अब उप्रान्त बढुवा भएका वरिष्ठ सई दर्जासम्मका प्रहरी कर्मचारीहरू तोकिएको दरबन्दीमा गएपछि मात्रै दर्ज्यानी चिह्नबाट सुशोभन कार्यक्रम गर्न/गराउन भन्दै सबै प्रहरी कार्यालयहरूलाई परिपत्र गरिएको छ ।

यो निर्णयले जनशक्ति परिचालन र दैनिक काम कारबाहीमा सकारात्मक प्रभाव पर्ने बताइएको छ । काठमाडौं र सादा पोशाकमा बसेर काम गर्ने ठाउँहरूमा दरबन्दीभन्दा बढी प्रहरी कर्मचारी हुने तर उपत्यका बाहिरका दुर्गम जिल्ला र कम आकर्षक भनिएका जिल्लामा कर्मचारी नै नजाने प्रवृत्ति बढेपछि यस्तो नीति लिइएको प्रहरी महानिरीक्षकको सचिवालयका एक अधिकृत बताउँछन् ।

‘हरेकजसो ब्युरो तथा सादा पोशाकमा बसेर काम गर्ने ठाउँ र सुगम ठाउँहरूमा दरबन्दीभन्दा बढी प्रहरी कर्मचारी छन् । उनीहरूको दरबन्दी बाहिरी जिल्ला भए पनि त्यहाँ गएकै देखिँदैन । यस्तो प्रवृत्ति अन्त्य गर्नका लागि आईजीपी सापले नयाँ रणनीति ल्याउनु भएको हो,’ ती अधिकृतले भने ।

यसअघि पनि प्रहरी प्रधान कार्यालयले सूचना निकाल्दै र पटकपटक निर्देशन तथा परिपत्र गर्दै काजमा रहेका प्रहरी कर्मचारीलाई आफ्नो दरबन्दीमा पठाउन निर्देशन दिएको थियो । उक्त निर्देशनपछि केही प्रहरी कर्मचारी सम्बन्धित दरबन्दीमा गए । तर अवस्था भने फेरि उस्तै रह्यो । पहुँच लगाएर उनीहरू आफूलाई पायक पर्ने कार्यालयमा बस्ने प्रवृत्ति प्रहरीमा व्याप्त रह्यो ।

संगठनलाई आवश्यकताभन्दा पनि आफूलाई आवश्यकता र अनकूलताको आधारमा काज मिलाएर बस्ने पुरानै विकृति प्रहरीमा व्याप्त रहेको लामो समय प्रहरीको कर्मचारी प्रशासन शाखामा बसेर अवकाश पाएका पूर्वएसपी रवीन्द्रनाथ रेग्मी बताउँछन् ।

‘संगठनको आवश्यकताभन्दा पनि व्यक्तिको आवश्यकताअनुसार पहुँचका भरमा काजको दुरुपयोग गरी आफूअनकूल बस्ने विकृति देखिन्छ,’ पूर्वएसपी रेग्मी भन्छन्, ‘सुगममा काज गरेर बस्ने र दुर्गमको दरबन्दी भएकाले कार्यसम्पादनको अंक भने दुगर्मको बढी हुने हुँदा त्यसअनुसार राख्ने विकृति पनि छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?