News Summary
Generated by OK AI. Editorially reviewed.- चीनमा मोटोपना घटाउन एक महिनासम्म कडा नियम र व्यायाम गरिने तौल घटाउने शिविर सञ्चालनमा छ, जसलाई मानिसहरूले फ्याट प्रिजन भनेर चिन्ने गरेका छन्।
शरीरको मोटोपना रोगको घर हो । त्यसैले अधिक तौल भएका मानिसहरू शरीरको बोसो हटाउन चाहन्छन् । यसका लागि खानपानदेखि दैनिक आनीबानी र व्यायाम लगायतका कुरामा ध्यान दिनुपर्छ । तर आत्मअनुशासनको कमी, अस्वस्थकर खानपान, व्यायामको कमी, अस्वस्थ जीवनशैली जस्ता विषयले गर्दा मोटोपन घटाउन सम्भव भइरहेको हुँदैन ।
विश्वका अधिकांश देशमा अहिले मोटोपना आम व्यक्तिहरूको समस्या बनिरहेको छ । यस्तोमा छिमेकी मुलुक चीनमा तौल घटाउने एउटा यस्तो ट्रेण्ड आएको छ जसले धेरैलाई अचम्ममा पारेको छ । प्लस साइज अर्थात् मोटो जिउ भएका मानिसहरूका लागि सञ्चालित तौल घटाउने शिविरलाई मानिसहरूले मोटे जेल अर्थात् फ्याट प्रिजन भन्ने गरेका छन्।
उक्त तौल घटाउने शिविलाई जेल भन्नुको खास कारण छ । किनकि त्यहाँ रहँदा मानिसहरूले एक महिनासम्म झण्डै कैदीजस्तै जीवन बिताउनुपर्छ । दिनको १२ घण्टा कडा व्यायाम गर्नुपर्छ भने निकै कम खानेकुरा दिइन्छ । उक्त शिविरबाट बाहिर जान पाइँदैन ।
उक्त शिविरको एकमात्र उद्देश्य हो, कम समयमै तीव्र गतिमा तौल घटाउनु । यद्यपि चिकित्सक तथा विज्ञहरूले भने यसरी एक्कासी तौल कम बनाउनु स्वास्थ्यका लागि खतरनाक बन्नसक्ने चेतानवी दिएका छन् । चेतावनीका बाबजुत पनि तौल घटाउने त्यस खालका शिविरमा सयौँ मानिसहरू प्रवेश गरिरहेका छन् । तौल घटाउन धेरै समय कुर्ने धैर्यता उनीहरूमा छैन । छोटो समयमा नै उनीहरू आफूलाई स्लीम बनाउन चाहन्छ ।
उक्त चिनियाँ ट्रेण्डलाई अष्ट्रेलियन सोसल मिडिया सेलिब्रेटी eggeats ले चर्चामा ल्याएकी हुन् । इन्स्टाग्राममा भाइरल बनेको उनको भिडियोमा उक्त फ्याट प्रिजन भित्रको कडा दिनचर्या प्रष्ट देनिन्छ । उनको यही भिडियोका कारण यस कुराले चीनबाहिर चर्चा पाएको हो ।
शरीरको मोटोपनाका कारण जीवन कहीँ अड्किएको जस्तो महसुस भएपछि उनी अष्ट्रेलियामा रहको आफ्नो राम्रो जागिर छाडेर चीनको उक्त शिविरमा आएकी थिइन् । त्यहाँ बसेपछि केवल दुई हप्तामै उनको शरीरको तौल ४ केजी कम भएको थियो ।
उक्त शिविरमा हरेक दिन बिहान ७:३० बजे अलार्म बजाएर दिनको सुरुवात गरिन्छ । ८ बजे शरीरको तौल नापेछि एरोबिक्स, काडिर्यो तथा भार उठाउने लगायतका व्यायाम हुन्छन् । ती सबै गरेपछि ११:१५ बजे मात्रै बिहानको खाना पाइन्छ । जसमा ४ वटा अण्डा, आधा गोलभेँडा, थोरै काँक्रो तथा ब्रेडको एउटा टुक्रा मात्र हुन्छ । त्यसपछि पुनः कडा व्यायाम प्रशिक्षण तथा कक्षा हुन्छ । राति डिनरपछि पुनः तौल नापेर सुत्न पठाइन्छ ।
उक्त शिविरमा सहभागी हुनका लागि १ हजार अमेरिकी डलर शुल्क लिइन्छ । त्यहाँ एउटा कोठामा ५ जनालाई सुताइन्छ, एउटै बेडमा ।
उक्त शिविरको चारैतर्फ अग्लो तारबार रहेको छ भने गेट सधैं बन्द हुन्छ । बाहिरबाट आउँदा कसैले उच्च क्यालोरीयुक्त खानेकुरा लुकाएर नल्याओस् भनेर शिविरमा प्रवेश गर्ने बेला जाँच गरिन्छ । यी सबै कडाइले गर्दा उक्त तौल घटाउने शिविर मोटाहरूको जेलको नामले चर्चित बनेको छ ।
एजेन्सी
प्रतिक्रिया 4