+
+
Shares

माघ ६ पछि कांग्रेसको विशेष महाधिवेशन बोलाऔं : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभा निर्वाचनको मनोनयन प्रक्रिया सम्पन्न भएपछि विशेष महाधिवेशन बोलाउँदा उचित हुने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २२ गते १२:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभा निर्वाचनको मनोनयन प्रक्रिया सकिएपछि माघ ६ गतेपछि विशेष महाधिवेशन बोलाउनु उचित हुने बताए।
  • कोइरालाले कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन गर्नु हुँदैन र कांग्रेस एक्लै चुनावमा जानुपर्ने स्पष्ट पारे।
  • केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशनलाई चुनावी घोषणासभा बनाएर निर्वाचनमा जानुपर्नेमा जोड दिएका छन्।

२२ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभा निर्वाचनको मनोनयन प्रक्रिया सम्पन्न भएपछि विशेष महाधिवेशन बोलाउँदा उचित हुने बताएका छन् ।

निर्वाचनअगावै महाधिवेशन हुनुपर्ने ‘लबिङ’ गरेको संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूको समूहसँग मंगलबार आफ्नो विशालनगरस्थित सम्पर्क कार्यालयमा भएको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।

‘अहिले राष्ट्रियसभा र प्रतिनिधिसभाका उम्मेदवार टुंग्याउनु पर्नेछ । यसकारण विशेष महाधिवेशन पक्षधरहरूसँग छलफल गरेर माघ ६ गतेपछि बेलाउँदा उचित हुन्छ,’ कोइरालाले भने, ‘त्यो बेलासम्म राष्ट्रियसभा तथा प्रतिनिधिसभाको मनोनयनका सबै प्रक्रिया सकिन्छन् । यसरी बोलाउँदा एकताको सन्देश पनि जान्छ ।’

पार्टीमा चुलिएको महाधिवेशनसम्बन्धी विवादको व्यवस्थापनका लागि मध्यमार्गी निकास निकाल्नेबारे छलफल गर्न आएको समूहसँग नेता कोइरालाले केन्द्रीय कार्यसमितिले नै सहमतिको आधारमा विशेष महाधिवेशन आह्वान गर्नुपर्ने आफ्नो पुरानै अडान दोहोर्‍याए ।

छलफलमा नेता कोइरालाले सबैको मनोभावना सम्बोधन हुने गरी केन्द्रीयकार्य समितिले विशेष महाधिवेशन डाक्दा सबैलाई मान्य हुने र आफू त्यसका लागि प्रयासरत रहेको पनि बताए ।

नेता कोइरालाले फरक प्रसंगमा कांग्रेसले प्रतिनिसभा निर्वाचनमा गठबन्धन गर्न नहुने पनि बताए । आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनावमा जानुपर्नेमा आफू स्पष्ट रहेको उनको भनाइ थियो ।
‘नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन गर्नु हुँदैन। गठबन्धनले प्रत्यक्ष निर्वाचनमा दुई–चार सिट बढी आउँला । तर, समानुपातिक मत घट्छ । कांग्रेसलाई दिर्घकालिन हानी हुन्छ,’ कोइरालाले भने ।

छलफलमा सहभागी केन्द्रीय सदस्य पुष्पा भुसालले पार्टीभित्र देखिएको विवाद समाधानका लागि शीर्ष नेताहरूसँग भेट गरेको बताइन् । उनले पार्टीभित्रको विवादले चिन्तित बनाएकाले समाधानका लागि सबैसँग पहल गरिरहेको बताइन् । भुसालले मध्यमार्गी बाटो पहिल्याउन नेता कोइरालालाई आग्रह गरेको पनि बताइन् ।

भेटमा सहभागी अधिकांश केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशनलाई चुनावी घोषणासभाको रूपमा रुपान्तरण गरेर निर्वाचनमा जानुपर्नेमा जोड दिएको कोइरालाको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?