News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेस र एमालेसँग तालमेल गर्दा ४ सिट पाउनुपर्ने दाबी गरेको छ।
- नेकपाका संयोजक प्रचण्डले मतभारका आधारमा सिट बाँडफाँड हुनुपर्ने प्रस्तावमा छलफल भइरहेको ब्रिफिङ गरेका छन्।
- राष्ट्रिय सभाका १९ सदस्यको कार्यकाल फागुन २० मा सकिँदैछ र माघ ११ मा बाँकी १८ पदका लागि निर्वाचन हुँदैछ।
२२ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रिय सभाको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेसँग तालमेल हुँदा ४ सिट पाउनुपर्ने दाबी गरेको छ ।
नेकपाका नेताहरू परामर्श बैठकमा छन् । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मतभारका आधारमा सिट बाँडफाँड हुनुपर्ने प्रस्तावमा छलफल चलेको ब्रिफिङ गरेका छन् ।
नेकपाका अर्का नेताका अनुसार सात वटै प्रदेशको मतभार एकीकृत गर्दा कांग्रेसको २१ हजार बढी छ । एमालेको १७ हजार बढी र नेपाली कम्युनिस्ट पार्टीको १२ हजार बढी मतभार छ । मतभारका आधारमा १८ सिट बाँडफाँड गर्दा कांग्रेसको भागमा ८ सिट, एमालेको भागमा ६ सिट र नेकपाको भागमा ४ सिट पर्छ ।
मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपाल तेस्रो स्थानमा रहेको छ । कांग्रेसले ८ बाट झरेर ७ सिटमा रहने र एक सिट दिएर जानुपर्ने नेकपाको प्रस्ताव छ ।
नेकपाका एक नेता भन्छन्, ‘पछि एक सिट राष्ट्रपतिबाट मनोनीत हुँदा कांग्रेसले लिए भयो । अहिलेलाई ७ सिटमा उसका उम्मेदवार, एमालेका ६, हाम्रो ४ र जसपाको एक सिटमा उम्मेदवार हुने गरी सहमतिको प्रयास भएकोे छ ।’
४ सिट नपाए पार्टी भित्र समेत मिलाउन नसकिने भएकाले बरु गठबन्धन नै नगरेर जान सकिने मत पनि बलियो रहेको ती नेताले बताए । उनका अनुसार सात वटै प्रदेशमा उम्मेदवार तयार भएका छन् ।
राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ । त्यसमध्ये एक जना वामदेव गौतम मनोनीत सांसद हुन् । उनको ठाउँमा सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नेछन् ।
बाँकी १८ पदका लागि आगामी माघ ११ मा निर्वाचन हुँदैछ । त्यसका लागि भोलि मनोनयन दर्ताको समय छ ।
प्रतिक्रिया 4